२०८२ फागुन ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारइम्प्लान्ट बेचबिखन अझै बेलगाम

इम्प्लान्ट बेचबिखन अझै बेलगाम

न नियमन, न गुणस्तर मापन, न मूल्य नियन्त्रण


काठमाडौं—सरकारले नियमन गर्न नसक्दा मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको शरीर भित्र राखिने इम्प्लान्टको अवैध व्यापार मौलाउँदो क्रममा छ । न दर्ता, न गुणस्तरको सुनिश्चितता, न त मूल्य नियन्त्रण चिकित्सकहरुलाई नै भगवान भरोसा मानेर जनताले लाखौं रुपैयाँ तिरेर घुँडा तथा हिपमा इम्प्लान्ट लगाउँदैं आएका छन् ।

तर, चिकित्सकको भरपर्दा कुन हदसम्म ठगिएको छु भन्ने कुरा बिरामीलाई नै थाहा छैन । चिकित्सकको सिफारिसमा व्यापारीले सिधैं झोलामा ल्याएका इम्प्लान्टहरु लाखौं रुपैयाँ तिर्नु परेता पनि ती इम्प्लान्टको बिरामी गुणस्तरको सुनिश्चितता भने कही कतैबाट पनि पाउन सक्दैनन् । ‘न त गुणस्तर सुनिश्चित छ न त पैसा तिरेको भ्याट बिल छ ?,’ एक चिकित्सक भन्छन्, ‘बिरामीले चिकित्सकलाई नै भरोसा गरेर लाखौंको सामान आफ्नो शरीरमा हालिरहेका छन् ।’

नेपालमा आयात गरिएका इम्प्लान्टको न त औषधि व्यवस्था विभागले गुणस्तर सुनिश्चितता गर्छ, न त सबै एफडिए क्वालीफाइड छन् । ती चिकित्सक भन्छन्, ‘यति सम्म खेलाची छ कि भारतवाट नाका छलेर झोलामा ल्याएका हिप तथा नि इम्प्लान्ट सोझै अस्पतालको ओटीमा छिर्छन् र कापीको चिर्कटोमा बिल बनेर मानिसको शरीरमा पस्छन् ।’

यस्तो बेथितीलाई नियमन गर्न अघिल्लो सरकारले सबै अस्पताललाई फार्मेसीबाट मात्र इम्प्लान्ट बिक्रि वितरण गर्न परिपत्र गरेको थियो । पछिल्लो समय सबै अस्पतालले आफ्नै फर्मेसीबाटै अधिकांश औषधी र इक्वीपमेन्ट उपलब्ध गराउने गर्दै आएता पनि इम्प्लान्ट भने उपलब्ध गराएका छैनन् । स्वास्थ्य मन्त्रालयले केही समयअघि अस्पतालबाटै इम्प्लान्ट उपलब्ध गराउन पत्राचार गरेको थियो ।

अस्पतालहरुले सो निर्देशन कार्यान्वयन गरेका छैनन् । अस्पतालहरुलाई घुँडा तथा हिपमा लगाउने इम्प्लान्टमा बिरामी ठगिएको गुनासोपछि तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले इम्प्लान्ट परीक्षण तथा त्यसको मुल्य समायोजनका लागि कार्यविधि बनाउन तयारी गरेका थिए । सो अघि सबै अस्पताललाई अस्पताल फार्मेसीबाट नै त्यस्ता इम्प्लान्ट उपलब्ध गराउन पत्राचार गरेका थिए ।

तर, अधिकांश अस्पतालले सो निर्णय कार्यान्वयन गरेका छैनन । विशेषगरी देशका ठूला अस्पताल ट्रमा सेन्टर, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पतालमा धेरै घुँडाको जोर्नी प्रत्यारोपण हुने गरेको छ । ती अस्पतालमा सिधै व्यापारीले झोलामा ल्याएर इम्प्लान्ट बेच्ने गरेका छन् । चिकित्सकको सम्पर्कमा रहने ती व्यापारीले न बिल दिन्छन् न त बिरामीले सहुलियत दरमा इम्प्लान्ट नै पाउँछन् । ट्रमा सेन्टरले बिल बिनाका त्यस्ता इम्प्लान्ट लगाएको पाएमा चिकित्सकलाई कार्वाही गर्ने नियम बनाएतापनि प्रशासनको आँखा छलेर खुलमखुल्ला खरिद बिक्री भइरहेको छ ।

सेन्टरले इम्प्लान्टलाई व्यवस्थित गर्नका लागि भ्याट बिल नभई खरिद बिक्री गर्न नपाइने र अस्पतालमा सूचीकृत भएका इम्प्लान्ट मात्र लगाउन पाइने नियम बनाएको अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्र मरासिनी बताउँछन् । उनी अन्य औषधीजस्तो इम्प्लान्ट अस्पताल फार्मेसीबाट खरिद बिक्री गर्न नसकिने बताउँछन् । ‘हामीले एफडिए सर्टिफाइड इम्प्लान्टहरु सूचीकृत गरेका छौं,’ उनी भन्छन्, ‘तिनै सूचीकृत भएका इम्प्लान्ट लगाइन्छ ।’ बिरामीले भन्दा पनि चिकित्सकको रोजाइमा लगाइन्छ भन्ने गुनासो छ नि भन्ने हेल्थआवाजको प्रश्नमा डा. मरासिनी बिरामीलाई इम्प्लान्टको क्वालिटीका बारेमा जानकार नहुने, चिकित्सकले नै सिफारिस गर्ने र चिकित्सक कुन इम्प्लान्टलगाउन तालिम प्राप्त छ उसले त्यही रोज्नु सामान्य भएको बताउँछन् ।

भ्याट बिल बिना नै इम्प्लान्ट किनबेच भइरहेको सन्र्भमा भने डा. मरासिनी आफूलाई सो जानकारी नभएको र यदि भएको भए बिरामीका आफन्तले सस्तोको नाममा सप्लायर्सको सहमतिमा त्यस्तो भएको हुन सक्ने बताउँछन् ।

जथाभावी मुल्य र गुणस्तरको विषयमा त्रिवि शिक्षण अस्पतालमा भने अलि फरक छ । अस्पतालका निर्देशक प्रा.डा. सुवासप्रसाद आचार्य माथिल्लो तहबाट नीतिगत निर्णय नगरेसम्म विद्यामान परिपाटी परिवर्तन नहुने बताउँछन् । ‘मन्त्रालयले फार्मेसीबाट मात्र इम्प्लान्ट बेचबिखन गर्न परिपत्र गरेको थियो, सोहीअनुसार गराउन खोजेको सम्भव भएको छैन,’ उनी भन्छन्, ‘माथिल्लो तहबाटै नीतिगत व्यवस्था गर्नुपर्छ, अस्पताल लेभलबाट सम्भव छैन ।’

अर्को सबैभन्दा बढी घुँडा प्रत्यारोपण हुने सिभिल अस्पताल बानेश्वरको पनि अवस्था उस्तै रहेको छ । निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीका अनुसार आफूहरुले पनि स्वास्थ्य मन्त्रालयको परिपत्रअनुसार फार्मेसीबाट उपलब्ध गराउने प्रयास गरिरहेको बताउँछन् । तर, अहिलेसम्म भने बिरामीको आवश्यकताअनुसार सप्लायर्सबाटै सिधैं उपलब्ध हुँदै आएको छ ।

नेपालमा सरकारीतर्फ काठमाडौंमा निजामती कर्मचारी अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरमा हिप तथा घुँडा प्रत्यारोपण हुँदै आएको छ भने निजी अस्पतालहरुमा बीएण्डबी अस्पताल, स्टार अस्पताल, नेपाल मेडिसिटी अस्पताल, किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, ह्याम्स अस्पताल, ग्राण्डी इन्टरनेशनल अस्पताल, अनमिवा अस्पतालमा भइरहेको छ । सामुदायिकतर्फ धुलिखेल अस्पताल, नेपाल अर्थोपेडिक्स अस्पताल, पाटन अस्पतालका साथै विराटनगर, पोखरा, चितवनलगायत सहरमा पनि घुँडाको जोर्नी प्रत्यारोपण हुँदैं आएको छ ।

नेपालमा सरकारी अस्पतालहरुमा हिप वा घुँडाको जोर्नी प्रत्यारोपणका लागि इम्प्लान्टसहित ३ लाखदेखि ३ लाख २० हजार र निजीमा ४ देखि ५ लाख सम्म खर्च लाग्ने गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ