काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को परिषद् बैठकमा वर्तमान कार्यकारिणी समितिको कार्यकाल निर्वाचन नभएसम्म बढाउने प्रस्ताव विवादमा परेको छ । बुधबार बसेको परिषद्को बैठकमा ल्याइएको उक्त प्रस्ताव विरुद्ध पाँच जना परिषद् सदस्यहरुले फरक मत दर्ता गरेका हुन् ।
‘परिषद्को बैठकमा वर्तमान कार्यकारिणी समितिको कार्यकाल निर्वाचन नभएसम्मका लागि थप गर्ने भनी निर्णायार्थ गरेको प्रस्ताव हामीले असहमति जनाएर फरक मत राख्यौं,’ परिषद्का सदस्य डा. दिपेन्द्र पाण्डेले भने ।
डा. पाण्डेकाअनुसार यो प्रस्ताव नेपाल चिकित्सक संघको विधान, २०४७ विपरित छ । डा. पाण्डेसँगै परिषद् सदस्यहरु डा. छवि पन्थी, डा. अमित उप्रेती, डा. अपिल उप्रेती र डा. सन्जितकुमार साहले फरक मत राखेका हुन् ।
उनीहरुले कार्यकारिणी समितिको कार्यकाल सकिएमा संघ सञ्चालन गर्ने जिम्मेवारी परिषद्मा रहने व्यवस्थाअनुसार निर्णय गर्न माग गरेका छन् । तीन वर्षको हुने संघको कार्यकारिणी समितिको कार्यकाल २० फागुनमा समाप्त हुँदैछ ।
२१ फागुनबाट संघको नेतृत्व रिक्त हुन नदिने उनीहरुले ‘परिषद् कार्यसमिति’ गठन गर्न समेत माग गरेका छन् ।
उनीहरुले विधानलाई मिचेर अगाडि बढेमा विधानको संरक्षक हुनुपर्ने परिषद् सदस्यको नाताले विधानसम्मत रुपमा नयाँ परिषद् कार्यसमित गठन गर्न र निर्वाचन प्रक्रिया सुनिश्चित गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
