२०८२ माघ ७, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट

‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट


आज अपरेसन थिएटरबाट बाहिर निस्कँदा मेरो मन निकै भारी थियो। हातमा लगाएको ग्लोभ्स फुकाल्दै गर्दा मेरा आँखा अगाडि रामप्रसाद बा (नाम परिवर्तन)को अनुहार नाचिरहेको थियो। ७२ वर्षको उमेरमा आज उहाँले आफ्नो दाहिने खुट्टा घुँडा मुनिबाट गुमाउनु परेको थियो।

यो कथा केवल रामप्रसाद बाको मात्र होइन, यो हाम्रो समाजका धेरै सम्पन्न तर स्वास्थ्यप्रति लापरवाह अग्रजहरूको प्रतिनिधि कथा हो।

रामप्रसाद बा काठमाडौंको एक प्रतिष्ठित र सम्पन्न परिवारका व्यक्ति हुनुहुन्थ्यो। उहाँसँग धन सम्पत्ति, गाडी, नोकरचाकर सबै सुखसयल थियो। उहाँलाई करिब १५ वर्ष अगाडि मधुमेह (Diabetes Mellitus) देखिएको थियो। सुरु—सुरुमा त उहाँ क्लिनिकमा आउनुहुन्थ्यो । तर, उहाँको समस्या रोग थिएन, उहाँको समस्या उहाँको जीवनशैली थियो।

उहाँ भन्नुहुन्थ्यो, ‘डाक्टर साब, हाम्रो खानदानी बानी, भोजभतेर चलिरहन्छ। चिल्लो—पिरो र गुलियो नखाई त जिब्रोले मान्दै मान्दैन। औषधी खाइरहेकै छु नि, यसले धानी हाल्छ।’

मेरो पटक—पटकको सल्लाह, ‘तौल घटाउनुस्, नियमित व्यायाम गर्नुस्, खानपानमा कडा परहेज गर्नुस् र औषधी कहिल्यै नछुटाउनुस्’ उहाँका लागि केवल डाक्टरको गनगन मात्र थियो। उहाँ सम्पन्न हुनुहुन्थ्यो, त्यसैले महँगाभन्दा महँगा औषधी किन्न सक्नुहुन्थ्यो । तर, स्वास्थ्य किन्न सक्नुभएन। उहाँलाई लाग्थ्यो कि सुगर भनेको सामान्य कुरा हो, अलिकति बढ्दैमा केही हुँदैन।

चाडपर्व आउँदा उहाँको लापरवाही झन् बढ्थ्यो। ‘दशैंमा पनि के बार्नु डाक्टर साब !’ भन्दै सेलरोटी र खसीको मासुमा रमाउनुहुन्थ्यो। कहिलेकाहीँ सुगर जाँच गर्दा ३००—४०० पुगेको हुन्थ्यो । तर, उहाँ ‘मलाई त केही गाह्रो भएकै छैन’ भन्दै टार्नुहुन्थ्यो।

यही ‘केही हुँदैन’ भन्ने भ्रमले उहाँलाई आज यो अवस्थामा ल्याइपुर्‍यायो।

करिब तीन हप्ता अगाडि, उहाँको खुट्टाको बुढी औंलामा सानो ठेस लागेर घाउ भएछ। लामो समयदेखि अनियन्त्रित मधुमेहले गर्दा उहाँको खुट्टामा रगत सञ्चालन कम भइसकेको थियो र नसाहरू पनि सुकिसकेका थिए (Neuropathy) । त्यसैले उहाँले घाउ भएको र पाकेको पत्तै पाउनुभएन।

जब घाउबाट गन्ध आउन थाल्यो र खुट्टा सुन्नियो, तब मात्र परिवारले उहाँलाई अस्पताल ल्याए। तर, धेरै ढिलो भइसकेको थियो। सानो घाउ ‘ग्यांग्रिन’ (Gangrene) मा परिणत भइसकेको थियो। संक्रमण हड्डीसम्म फैलिएको थियो। यदि तुरुन्तै खुट्टा नकाटेको भए, त्यो विष शरीरभरी फैलिएर उहाँको ज्यानै जाने खतरा थियो।

हामीसँग अर्को विकल्प थिएन। उहाँको परिवारको सहमतिमा आज हामीले त्यो कठोर निर्णय लिनुपर्‍यो।

होस आएपछि जब रामप्रसाद बाले आफ्नो आधा खुट्टा देख्नुभयो, उहाँ डाँको छोडेर रुनुभयो। सम्पन्नताको शिखरमा रहेका एक वृद्ध, आज अस्पतालको शय्यामा असहाय देखिनुहुन्थ्यो।

उहाँले मेरो हात समातेर भन्नुभयो, ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्। मैले हजुरको कुरा कहिल्यै सुनिनँ। मेरो आफ्नै जिद्दीले आज म यो हालतमा पुगें।’ उहाँको आँसुमा गहिरो पछुतो थियो, जुन अब कहिल्यै मेटिने छैन।

आम जनमानसलाई मेरो विनम्र अनुरोध

म एक डाक्टरको हैसियतले हात जोडेर बिन्ती गर्दछु, मधुमेहलाई सामान्य रूपमा नलिनुहोस्। यो ‘साइलेन्ट किलर’ (मौन घातक) हो।

१. सम्पत्तिले स्वास्थ्य किन्दैन् : तपाई जतिसुकै धनी भएपनि यदि जीवनशैली खराब छ भने रोगले छोड्दैन्। रामप्रसाद बा यसको उदाहरण हुनुहुन्छ।

२. लापरवाही नगरौं : ‘मलाई केही लक्षण छैन, म ठीक छु’ भन्ने भ्रम नपालौं। सुगरले भित्रभित्रै शरीरका अंगहरू (मृगौला, आँखा, मुटु, नसा) खाइसकेको हुन्छ।

३. चिकित्सकको सल्लाह मानौंः खानपानमा परहेज, नियमित व्यायाम र सही समयमा औषधीको सेवन नै यसबाट बच्ने उपाय हो।

४. खुट्टाको विशेष ख्याल राखौंः सुगरका बिरामीले दैनिक आफ्नो खुट्टा जाँच गर्नुपर्छ। सानोभन्दा सानो घाउलाई पनि नजरअन्दाज नगर्नुहोस्।


(विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आधिकारिक फेसबुक पेजमा प्रकाशित यो आलेख र फोटो पाठकलाई उपयोगी हुने ठानी हेल्थआवाजले साभार गरेको छ । सं. )


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ