२०८२ चैत्र २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्यान्सर उपचारमा नयाँ क्रान्तिः रसियाले बनाएका क्यान्सर विरुद्धका औषधिको बिरामीमा परीक्षण सुरू

क्यान्सर उपचारमा नयाँ क्रान्तिः रसियाले बनाएका क्यान्सर विरुद्धका औषधिको बिरामीमा परीक्षण सुरू

रसियाले एडभान्स मेलानोमा लागि एमआरएनए आधारित खोप ‘नियोओनकोभ्याक’ (Neooncovac) र आक्रामक कोलोरेक्टल ट्युमरलाई लक्षित गरेर पेप्टाइड उपचार ‘ओनकोपेप्ट’ (Oncopept) विकास गरेको छ ।


मस्को—रसियाले क्यान्सरको उपचारमा सम्भावित ठूलो उपलब्धि मानिएको पहिलो व्यक्तिगत क्यान्सर खोप एक मेलानोमा (छालाको क्यान्सर) भएका बिरामीलाई दिएको छ । गत हप्ताको बुधबार रुसी रक्षा स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो ।

गत वर्ष मन्त्रालयले दुई वटा रसियामै बनाइएको क्यान्सरका औषधिहरु स्वीकृत गरेको थियोः एडभान्स मेलानोमा लागि एमआरएनए आधारित खोप ‘नियोओनकोभ्याक’ (Neooncovac) र आक्रामक कोलोरेक्टल ट्युमरलाई लक्षित गरेर विकास गरिएको पेप्टाइड उपचार ओनकोपेप्ट (Oncopept) । दुवैको मानव परीक्षण सन् २०२५ मा सुरु भएको थियो ।

औषधि विकासमा संलग्न गामालेया अनुसन्धान संस्थानका वैज्ञानिक निर्देशक अलेक्जान्दर गिन्जबर्गले गत हप्ताको मंगलबार ‘नियोओनकोभ्याक’ पहिलो क्लिनिक ट्रायलका लागि छालाका क्यान्सरको थर्ड स्टेजसँग लडिरहेका ६० वर्षीय पुरुष बिरामीलाई दिइएको छ जानकारी दिए ।

‘अहिलेसम्म उनी राम्रो अवस्थामा छन् । औषधिको कुनै प्रतिकूल असर देखिएको छैन,’ गिन्जवर्गले गत बुधबार Gazeta.ru सँग भने, ‘उनी ६० वर्षका छन् र मेटास्टेसिससहित तेस्रो चरणको मेलानोमा छ । यो खोपले विशेषगरी मेटास्टेसिससँग मद्धत गर्छ ।’

बिरामीको ट्युमर र गैर—ट्युमर ट्स्युबाट नमुना लिइएको थियो र अनुसन्धानकर्ताहरुले जीनोम विश्लेषण गरेर व्यक्तिगत खोप तयार गरेका थिए, जसले प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोषहरुमाथि आक्रमण गर्न ‘प्रशिक्षण’ दिन्छ ।

रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय रेडियोलोजी अनुसन्धन केन्द्रका प्रमुख आन्द्रेई काप्रिनकाअनुसार यो उपचार विधि पूर्ण रुपमा नयाँ दृष्टिकोण हो । ‘यो आधारभूत रुपमा फरक दृष्टिकोण हो—केवल रोगको उपचार गर्ने होइन् तर जोखिमपूर्ण कोषहरुलाई चिनेर नष्ट गर्न प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्ने हो,’ उनले भने ।

बिरामीलाई २—३ हप्ताको अन्तरालमा ८—९ मात्रा दिइनेछ र प्रत्येक सुईपछि उनको प्रतिरक्षा प्रतिक्रिया मापन गरिनेछ । उपचारको तीन महिनापछि नतिजा अपेक्षित छ ।

पूर्व—क्लिनिकल (जनावरमा गरिएको) परीक्षणहरुले धेरै अवस्थामा ट्युमर हराएको देखाएको थियो र करिब ९० प्रतिशत परीषणमा मेटास्टेसिसले सकारात्मक प्रतिक्रिया दिएको गिन्जवर्गले यसअघि बताएका थिए ।

स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोकाअनुसार ‘नियोओनकोभ्याक’ हाल रुसको राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीअन्तगृत निःशुल्क उपचारका रुपमा उपलब्ध गराउने अन्तिम चरणमा छ ।

पहिलो दर्ता गरिएको कोभिड—१९ खोप स्पुतनिक भी बनाएको गामालेया केन्द्रले अन्य क्यान्सरहरु जस्तैः प्यानक्रियाटिक, मिर्गौला र नन—स्मल सेल फोक्सो क्यान्सरका लागि पनि औषधि विकास गरिरहेको छ, जुन विश्वभर उच्च मृत्युदर भएका क्यान्सरहरुमध्येमा पर्दछन् ।

-आरटीबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ