२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोरोना संक्रमितको उपचार खटिएकी नर्स भन्छिन्, ‘जिम्मेवारीबाट भाग्न पनि त भएन’

कोरोना संक्रमितको उपचार खटिएकी नर्स भन्छिन्, ‘जिम्मेवारीबाट भाग्न पनि त भएन’


विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका ९ केस नेपालमा पनि देखिएका छन् । तीमध्ये एकजना निको भएर घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । अहिले नेपाली स्वास्थ्यकर्मीहरु ती संक्रमितहरुको उपचारमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन् ।

उपचारमा संलग्न हुने डाक्टर तथा नर्सहरुलाई सबैभन्दा बढी जोखिममा रहेतापनि अस्पतालहरुमा उपचार भैरहेका कोभिड–१९ का संक्रमितहरुको उपचार तथा रेखदेखमा स्वास्थ्यकर्मीहरु डटिरहेका छन् । यस्तो अवस्थामा पर्याप्त सुरक्षा उपकरणबिना ड्युटीमा खटिएका डाक्टर तथा नर्समा संक्रमणको जोखिम धेरै छ । तर, उनीहरुले कोभिड–१९ संक्रमित बिरामीको उपचार तथा रेखदेखमा कमी हुन दिएका छैनन् ।

अहिले सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा ४ जना कोभिड–१९ संक्रमितहरुको उपचार भैरहेको छ । उनीहरुको उपचारमा लागि सेती अस्पतालमा ६४ जना स्वास्थ्यकर्मीको टिम सक्रिय छ । सीमा शर्मा कोभिड–१९ को उपचारमा खटिरहेका ६४ जना स्वास्थ्यकर्मीमध्ये एक हुन् ।

पेशाले नर्स उनी अहिले कोभिड–१९ का बिरामीहरुको उपचार तथा रेखदेखमा सक्रिय छन् । पहिलो लटमै कोभिड–१९ का शंकास्पद संक्रमतिको आइसोलेसनमा राखेर उपचार हुँदा उनी पनि खटिएकी थिइन् । ११ चैतमा एक जना दुबईबाट आएका व्यक्ति ज्वरोको लक्षण लिएर अस्पताल भर्ना भए । शंकास्पद कोभिड–१९ को लक्षण देखिएपछि उनको थ्रोट स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो ।

१४ चैतमा ती धनगढीकै स्थानीय ती युवामा कोभिड–१९ पोजेटिभ देखियो । स्वास्थ्य मन्त्रालयले दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी गराएपनि अस्पतालमा कार्यरत नर्सिङ सहकर्मीहरुले ७ बजे मात्र थाहा पाए । ‘म पहिलो संक्रमित व्यक्तिको वार्ड सारेर अरु बिरामीजस्तै नर्मल तरिकाले दर्ता गर्दै थिए,’ उनले पहिलो संक्रमित उपचार रहँदा अनुभव सुनाइन्, ‘काठमाडौंले स्वास्थ्यकर्मी साथीले नै फोन गरेर भनेपछि मात्रै थाहा पाएँ ।’ सेती प्रादेशिक अस्पतालका सबैले डाक्टर र अस्पतालले थाहा पाएर पनि नर्सिङहरुलाई नभनेको गुनासो उनले गरिन् ।

त्यसपछि ती संक्रमित व्यक्तिको उपचारमा खटिने चिकित्सक तथा नर्सको समेत थ्रोट स्वाब परिक्षणका लागि पठाइयो । जसमा नर्स सीमा पनि थिइन् । उनको रिपोर्ट नेगेटिभ आयो । ‘पहिलो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि बल्ल मन सन्चो भएको छ, हौसला बढेको छ,’ उनले मंगलबार हेल्थआवाजसँग भनिन् । ‘हामीले सबैले समयमै थाहा पाएको भए सुरक्षा समाग्रीहरु प्रयोग गथ्र्यौ । थाहा नपाउँदासम्म हामीले नर्मल बिरामी जस्तै हेरेका थियौं,’ उनले सुनाइन् ।

कोभिड–१९ पोजेटिभ हो भनेर थाहा पाएपछिको त्यो अवस्था भन्न नसकिने बताइन् । ‘ज्यानको माया त सबैलाई हुन्छ,’ उनले भनिन्, ‘अलिकति डर त लागिहाल्छ नि ।’ अहिले सेती प्रादेशिक अस्पताललाई कोभिड–१९ को उपचार केन्द्रमा परिणत गरेपछि स्वास्थ्यकर्मीहरूको सुरक्षामा ध्यान दिन थालेको उनी बताउँछिन् । ‘यहाँ उपचाररत चारजना बिरामीको अवस्था सामान्य छ । उनीहरूलाई नियमित अनुगमन र निगरानीमा राखिएको छ,’ उनले भनिन् ।

अहिले कोभिड–१९ का संक्रमित बिरामीलाई राखिएको कोठामा टेलिफोन राखिएकोे छ । बिरामीले केही तलमाथि परे फोन गरेर जानकारी दिन्छन् । स्वास्थ्यकर्मीले पनि केही सोध्नुपरे वा औषधि खुवाउन सम्झाउनुपरे फोनै गर्छन् । ‘पेसा नै यस्तो रोजेपछि परि आउँदा जिम्मेवारीबाट भाग्न पनि त भएन्,’ उनले भनिन् ।

अहिलेसम्म उनले बिरामीको उपचारमा रहँदा खासै समस्या आएको महसुस गरेकी छैनन् । ‘अहिलेसम्म त समस्या परेको छैन, भोलि बिरामी धेरै भयो भने के गर्ने भनेर अस्पतालले सोचेको होला,’ सीमा भन्छिन्, ‘अहिले अस्पताललमा कार्यरत नर्सिङ ड्युटी मिलाएर काम गरिरहेका छौं ।’


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ