धनगढी —प्रा. डा. गोविन्द केसी पाँच बुदे माग राख्दैं २४ औं अनशनमा सुरु गरेका छन् । बिहीबारबाट धनगढी उपमहानगर—१ स्थित कृष्ण मन्दिरको धर्मशालामा उनले अनशन सुरु गरेका हुन् ।
अनशन बस्नुअघि बुधबार विज्ञप्ती जारी गर्दै उनले ५ बुँदे माग सरकार समक्ष प्रस्तुत गरेका थिए । जसमा सुदूरपश्चिमको कैलाली गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका गरिएको नियुक्ति स्वार्थपरक भएको भन्दैं खारेज गर्न माग गरेका छन् ।
यस्तै, डा केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरुमा सिटी वृद्धि गर्ने निर्णय र प्रस्तावहरु खारेज गर्न, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुन शीघ्र कार्यन्वयन गर्न माग गरेका छन् ।
प्रा.डा. केसीले सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरिनुपर्ने, २०८२ भदौ २३ र २४ गते भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारवाही गरिनुपर्ने तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने माग अघि सारेका छन् ।
उनले विगतका सरकारहरुसँग भएका लिखित सहमतिहरु कार्यान्वयन गर्नेलगायतका माग सरकारसँग गरेका छन् । यअसघि प्रा.डा. केसीले आफ्ना मागहरु कार्यान्वयन गर्न सरकारलाई पाँच दिनको समयसीमा दिएका थिए । तर, उक्त समयमा सरकारले उनको माग पूरा गर्न कुनै पहल सुरु नगरेपछि प्रा.डा. केसीले अनशन सुरु गरेका हुन् ।