२०८३ भदौ १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल


धनगढी—सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा विस्तार र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि महत्वपूर्ण आधार तयार भएको छ । सोमबार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, लम्की चुहा प्रादेशिक अस्पताल र गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गरिनेछ । यी अस्पतालमा स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत विद्यार्थीको क्लिनिकल अध्ययन, अध्यापन तथा प्रयोगात्मक अभ्यास सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

यो सम्झौता सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को २०८३ साउन २१ गतेको निर्णयपछि भएको हो । सम्झौता हस्ताक्षर भएको मितिदेखि लागू हुने र यसको अवधि २० वर्ष रहने व्यवस्था गरिएको छ । आवश्यकताअनुसार सम्झौता नवीकरणसमेत गर्न गर्न सकिने उल्लेख छ ।

सम्झौताको मुख्य उद्देश्य चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त एमबीबीएस लगायत स्नातक, स्नातकोत्तर, डिएम/एमसीएच तथा पीएचडी तहका स्वास्थ्य विज्ञानसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालनमा सहकार्य गर्नु रहेको छ। यससँगै गुणस्तरीय क्लिनिकल शिक्षा, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धन, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनलाई प्राथमिकता दिइएको छ ।

सम्झौताले विद्यार्थीलाई अस्पतालमा क्लिनिकल अभ्यासको अवसर उपलब्ध गराइनेछ । अस्पतालमा कार्यरत दक्ष विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विश्वविद्यालयको नियम र नियामक निकायका मापदण्डअनुसार फ्याकल्टी/शिक्षकका रूपमा शैक्षिक कार्यक्रममा सहभागी गराउनसमेत सहजीकरण गर्नेलगायतका विषय समेटिएका छन् ।

विश्वविद्यालयले योग्य विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई फ्याकल्टी पद प्रमाणीकरण तथा शिक्षकको पदनाम प्रदान गर्न सक्नेछ । शैक्षिक तथा प्रयोगात्मक कार्यक्रममा संलग्न शिक्षकलाई विश्वविद्यालयको प्रचलित नियमअनुसार पारिश्रमिक तथा भत्ता उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा छ ।

सम्झौतामा सामाजिक विकास मन्त्रालयका तर्फबाट निमित्त प्रदेश सचिव डा. निरज अयाल र विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार डा. भीमबहादुर चन्दले हस्ताक्षर गरेका छन् । चार अस्पतालका प्रमुखहरू सम्झौताको साक्षीका रूपमा छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ