चरिकोट—समयमै क्षयरोगका बिरामी पहिचान गरी उपचारको दायरामा ल्याउन नसक्दा दोलखामा तीन जनाको मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय दोलखाका अनुसार क्षयरोगका बिरामी समयमै पहिचान नहुँदा र उपचारमा ढिलाइ हुँदा आर्थिक वर्ष २०८१/०८२ मा तीन जनाको मृत्यु भएको हो ।
जनसंख्याका आधारमा दोलखामा करिब ४२० जनाभन्दा बढी क्षयरोगका बिरामी हुनुपर्ने अनुमान गरिएपनि हालसम्म ८२ जना मात्र जनस्वास्थ्य कार्यालयको रेकर्डमा छन् । ती ८२ जना पनि नियमित रूपमा औषधि सेवन गरिरहेका बिरामीहरू भएकाले मात्र रेकर्डमा समेटिएका हुन् । वास्तविक बिरामी संख्या यसभन्दा धेरै हुन सक्ने जनस्वास्थ्य कार्यालयको अनुमान छ ।
समयमै क्षयरोगका बिरामी पहिचान हुन नसक्दा एक संक्रमित व्यक्तिबाट वर्षमा १० देखि १५ जनासम्ममा रोग सर्न सक्ने जोखिम रहने जनस्वास्थ्य कार्यालयले जनाएको छ । तर, जनचेतनाको कमी, रोगप्रति रहेको लाञ्छना तथा सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण तथा उपचारको दायरामा ल्याउन नसक्नु मुख्य कमजोरी रहेको कार्यालयले स्वीकार गरेको छ ।
जनस्वास्थ्य कार्यालय दोलखाको पछिल्लो तथ्यांकअनुसार जिल्लाको भीमेश्वर नगरपालिका र जिरी नगरपालिकामा क्षयरोगका बिरामीको संख्या बढी देखिएको छ । हावाबाट सर्ने संक्रामक रोग भएकाले समयमै पहिचान र उपचार नहुँदा क्षयरोग बढ्दो अवस्थामा रहेको जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार विश्वभर क्षयरोग शीर्ष संक्रामक रोगमध्ये एक हो । हाल विश्वमा करिब १०.८ मिलियन मानिस क्षयरोगबाट प्रभावित छन् भने नेपालमा ४० हजार ७७६ जना यस रोगबाट पीडित रहेको तथ्यांक छ ।

उक्त जानकारी जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा सरोकारवालालाई लक्षित गरी आयोजित क्षयरोग तथा एचआईभी/एड्ससम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा दिइएको हो ।
कार्यक्रममा क्षयरोगसँगै एचआईभी/एड्स पनि दोलखामा बढ्दो क्रममा रहेको जानकारी दिइयो । जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत उरुसा शाक्यका अनुसार गत आर्थिक वर्षमा २३ जना एचआईभी÷एड्स संक्रमित रहेकामा चालु आर्थिक वर्षको कात्तिक महिनासम्म ५ जना थप भई संख्या २८ पुगेको छ । उनले ज्ञानको कमी, चेतनाको अभाव र सामाजिक पूर्वाग्रहका कारण यस्ता रोग नियन्त्रणमा चुनौती थपिएको बताइन् ।
अति संक्रामक क्षयरोग तथा एचआईभी/एड्सजस्ता रोगको न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम जनस्वास्थ्य कार्यालय दोलखा र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्षयरोग निवारण संस्था दोलखा जिल्ला शाखाको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रम जनस्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख डिलेन्द्र बुढामगरको अध्यक्षता तथा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटका प्रमुख अच्यूत पौडेल, नेपाल क्षयरोग निवारण संस्था दोलखा जिल्ला शाखाका सभापति हर्कबहादुर श्रेष्ठ र नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन काफ्लेले मन्तव्य व्यक्त गरेका थिए ।