२०८२ असार ३२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १हृदय रोग केन्द्रमा थपियो जनरल सेवा : १६ करोड बजेट विनियोजन, ५० शैय्या बनाउने लक्ष्य

हृदय रोग केन्द्रमा थपियो जनरल सेवा : १६ करोड बजेट विनियोजन, ५० शैय्या बनाउने लक्ष्य

फेरि नाम परिवर्तनको प्रस्ताव क्याबिनेटमा लैजाने तयारी, साउन १ गतेदेखि मेसु र लेखा प्रमुख नियुक्त


विराटनगर – ‘प्रदेशका नागरिकलाई सरकारले मुटु उपहार दिएको छु’ भन्दै पूर्व मुख्यमन्त्री केदार कार्कीको पालामा संचालनमा ल्याइएको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचार केन्द्रमा अब जनरल सेवा पनि थपिएको छ । आवश्यक जनशक्ति, उपकरण अभाव र प्रदेश सरकारको असहयोगका कारण लथालिङ्ग अवस्थामा रहेको केन्द्रमा जनरल सेवा सञ्चालनमा ल्याएको हो ।

अब यो अस्पतालबाट मुटु उपचार मात्र नभई स्त्रीरोग, बालरोग र जनरल ओपीडी सेवा पनि सुुरु भएको छ । सुरुमा न जनशक्ति थियो न उपकरण । हृदय रोगको निःशुल्क उपचारको नारामा उद्घाटन गरिएको केन्द्रमा बिरामीलाई परीक्षणमात्र गरेर अन्यत्र रिफर गर्नुपरेको थियो ।

अब भने कोशी प्रदेश सरकारले अस्पतालको स्वरूप विस्तार गर्दै जनरल सेवा सुरु गरेको छ । कोशी स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाका अनुसार प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार केन्द्रलाई बहुपक्षीय सेवा दिने अस्पतालका रूपमा विस्तार गर्ने योजनाअन्तर्गत यो कदम चालिएको हो ।

स्वास्थ्य सचिव डा. राधिका थपलिया

‘अहिले केन्द्रबाट स्त्री तथा प्रसूति सेवा, बालरोग सेवा र जनरल ओपीडी सेवा सञ्चालनमा छन्,’ उनले भनिन्, ‘यसका लागि चिकित्सकहरू खटिसकेका छन्, र सेवाग्राहीहरू पनि आउन थालेका छन् ।’

१६ करोडको बजेट, ५० शैय्या बनाउने लक्ष्य

स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षमा अस्पताल विस्तारका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । साउन १ गतेदेखि अस्पतालमा लेखा प्रमुख र प्रशासन प्रमुख पदस्थापन भइसकेको छ भने मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पनि नियुक्त हुनेछन् ।

हाल जनरल सेवाका लागि छात्रवृत्तिमा रहेका चिकित्सकले सेवा दिइरहेका छन् भने फिजिसियनमा ८ औं तहका स्थायी डाक्टर खटिएका छन् । सचिव थपलियाका अनुसार हाललाई सबै सेवा निःशुल्क छन् र छिट्टै स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारीमा मन्त्रालय जुटेको छ । स्वास्थ्य बीमा बोर्डसँग छलफल भइसकेको र प्रणाली मिलाउँदै लगिएको उनले बताइन् ।


परीक्षण आवश्यक परेमा अस्पतालको नजिकै रहेको प्रदेश स्वास्थ्य प्रयोगशालामा ल्याब परीक्षण गरिनेछ । अस्पतालमा हाल ४२ जनाको दरबन्दी स्वीकृत छ तर कतिपय पद अझै रिक्त छन् । लेखा व्यवस्थापनका लागि अन्य अस्पतालबाट कर्मचारी ल्याएर सञ्चालन भइरहेको मन्त्रालयको भनाइ छ ।

अस्पतालको नाम परिवर्तन हुँदै, प्रस्ताव क्याबिनेटमा

अस्पतालको नाम अब ‘शैलजा आचार्य हृदय रोग तथा जनरल अस्पताल’ राख्ने तयारी भएको छ । यसको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने अन्तिम चरणमा पुगेको मन्त्रालय स्रोतले बताएको छ । ‘नामकरणको निर्णय केही दिनमै टुंगो लाग्नेछ,’ मन्त्रालय स्रोतले भन्यो ।

उद्घाटनका बेला ‘मुटु उपहार’ भनिएपनि सेवा दिन नसकेको यो अस्पताल तत्कालीन मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा माघ ८ गते उद्घाटन गरिएको थियो । सरकार गठनको १०० दिन पुगेको अवसर पारेर विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको थियो ।

कार्कीले उद्घाटनका बेला भनेका थिए, ‘प्रदेशका नागरिकका लागि सरकारले मुटु उपहार दिएको हो ।’ उनले आफ्नो घर छेउको मन्दिर बनाउने बजेट कटौती गरेर अस्पताल निर्माण गरिएको समेत दाबी गरेका थिए ।

तर, वास्तविकता भने फरक थियो । उद्घाटनपछि महिनौंसम्म अस्पतालमा न जनशक्ति थियो न त आवश्यक उपकरण नै । जनशक्ति र पूर्वाधार अभावका कारण मुटु रोगका बिरामीलाई उपचार गर्न नसकेर अन्य अस्पतालमा रिफर गर्नु परेको अवस्था रह्यो ।


उद्घाटनको समयमै चिकित्सा जनशक्ति, उपकरण, व्यवस्थापन योजना केही पनि नहुनु गम्भीर लापरबाहीको उदाहरण मानिएको छ । प्रदेश सरकारले उद्घाटनकै लागि करिब पाँच करोड रुपैयाँ खर्च गरेको थियो । अस्पतालको सञ्चालनको योजना ठोस रूपमा अघि नबढाई, जनताको भावना र राजनीतिक लाभका लागि हतारमा उद्घाटन गरिएको थियो भन्ने आरोप अझै उठिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक सरदर ४० जना मुटु रोगका बिरामी अस्पतालमा आउँछन् । अघिल्लो संरचनाले उनीहरूलाई परीक्षण मात्रै गरेर अन्यत्र पठाउने गरेको थियो । अब सेवा विस्तारसँगै चाप बढ्ने अनुमान गरिएको छ ।

सचिव डा.थपलियाका अनुसार अस्पतालले निकट भविष्यमा आकस्मिक सेवा, भर्ना सेवा, विशेषज्ञ सेवा, ल्याब सेवा, औषधि वितरणलगायतका सुविधा विस्तार गर्दै जानेछ । ‘हामी एक सुदृढ जनरल अस्पताल बनाउने दिशामा अगाडि बढिरहेका छौं,’ उनले भनिन्, ‘जनशक्ति र उपकरण क्रमशः थपिँदै जानेछ ।’

प्रदेश सरकारले केन्द्रलाई ५० शय्याको जनरल अस्पताल बनाउने स्पष्ट योजना सार्वजनिक गरिसकेको छ । तर, विगतको अनुभव हेर्दा योजना व्यवहारमा ल्याउन राज्यको इच्छाशक्ति र तयारीमा प्रश्न उठ्न थालेको छ । ‘अहिले जुन सेवा बढी मागमा छ, त्यसलाई प्राथमिकता दिएर विस्तार गरिन्छ,’ डा. थपलियाले भनिन्, ‘अहिलेलाई स्त्रीरोग, बालरोग र सामान्य ओपीडी चलिरहेको छ, पछि आकस्मिक र भर्ना सेवा पनि थपिन्छन् ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ