विराटनगर — विराटनगर– ४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज अगाडि दर्ता खारेज गरेर अवैध रूपमा सञ्चालित फार्मेसीले बिरामीमाथि ब्रह्मलुट मच्चाउने संचालक विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
औषधि व्यवस्था विभाग (डीडीए) को अभिलेखमा पसल बन्द भएको देखाएर भित्रभित्रै औषधिको कालोबजारी गर्ने मित्र फार्मेसीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
सुनसरीको बर्जु गाउँपालिका–४ घर भई नोबेल हस्पिटल अगाडि फार्मेसी चलाउने विवेक शर्माले बिरामीको असाय अवस्थाको फाइदा उठाउँदै लाखौँ ठगी गरेको भेटिएपछि मोरङ अदालतको अनुमतिमा उनी विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । ठगी धन्दा बाहिरिएसँगै सञ्चालक शर्मा हाल फरार छन् ।
अनुसन्धानका क्रममा सञ्चालक शर्माले २०८२ असारमा औषधि व्यवस्था विभाग विराटनगरबाट व्यवसाय सञ्चालनको अनुमति लिएको देखिन्छ । तर, सञ्चालनको ७ महिनापछि अर्थात् कात्तिक १४ गते नै उनले विभागमा गएर पसल दर्ता खारेज (रद्द) गराएका थिए । सरकारी रेकर्डमा पसल बन्द देखिए पनि उनले नोबेल अस्पताल बाहिर अवैध रूपमा औषधि बेच्न छोडेनन् ।
उनले दिनभर पसल बन्द गर्ने र राति भएपछि अस्पताल भित्र छिरेर बिरामीका आफन्तलाई सस्तोमा औषधि दिने लोभ देखाउँदै ठगी गर्ने गरेको पाइएको छ । शर्माले नोबेल अगाडि दर्ता विना नै ४ वटा फार्मेसी सञ्चालन गरिरहेको स्रोतको दाबी छ ।
स्थानीय व्यवसायीका अनुसार नोबेल बाहिर करिब १०५ वटा औषधि पसल सञ्चालनमा छन् । तर, औषधि व्यवस्था विभागमा भने ६५ वटा मात्रै दर्ता छन् । बाँकी ४० वटा पसल दर्ता विना वा खारेज भइसकेका अनुमति पत्रका आधारमा अवैध रूपमा चलिरहेका छन् ।
नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले यस्ता अवैध पसलले गर्दा मर्यादित व्यवसायीको बदनाम भएको भन्दै कडा कारबाहीको माग गरेका छन् । ‘दर्ता विनाका पसलले बिरामी ठग्नुका साथै स्वच्छ व्यवसायमाथि प्रहार गरेका छन्, यस्तालाई कानुनी दायरामा ल्याउनै पर्छ,’ ढकालले भने ।
औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काले पीडितको उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको र सञ्चालक विरुद्ध अदालतबाट पक्राउ पुर्जी लिइएको जानकारी दिए ।
‘दर्ता खारेज गरेर पनि लुकिछिपी बिरामी ठगी गर्नेलाई कुनै हालतमा छोडिने छैन,’ खड्काले भने, ‘हामीले यस आर्थिक वर्षमा मात्रै दुई दर्जनभन्दा बढी यस्ता अवैध औषधि पसलहरू सिल गरिसकेका छौँ ।’ फरार रहेका शर्माको खोजीका लागि प्रहरीसँग समन्वय भइरहेको विभागले जनाएको छ ।