२०८२ साउन ७, बुधबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टमान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै

मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै

अमेरिकी इम्प्लान्टकै मूल्यमा भारतीय, चिनियाँ र कोरियन इम्प्लान्ट बिरामीलाई भिडाइदैं


काठमाडौं—जीवन परिवर्तन गर्ने शल्यक्रिया मानिने घुँडाको जोर्नी र हिप प्रत्यारोपणमा प्रयोग हुने लाखौं रुपैयाँका ‘इम्प्लान्ट’ झोलामा बिक्री हुने गरेको पाइएको छ । मानिसको शरीरमा जडान गरिने यस्ता संवेदनशील इम्प्लान्टको न गुणस्तर सुनिश्चितता छ, न त बिलिङ नै ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभाग (डिडिए)को उदासिनताका कारण मानिसको शरीरमा जडान गरिने मेडिकल उपकरणको नियमनमै सरकारको लाजमर्दो लापरवाही छताछुल्ल देखिन्छ । यो स्वास्थ्यमा थिती बसाल्ने भन्दैं एक वर्षदेखि मन्त्रालयको नेतृत्व गरिरहेका र सुधारका लागि भन्दैं दर्जनौं समिति मात्रै बनाएका युवामन्त्री प्रदीप पौडेलको असक्षमता पनि हो ।

मेडिकल उपकरणहरुको नियमन र गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी ‘प्रविधिजन्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका, २०७४’ ले औषधि व्यवस्था विभागलाई दिएको छ । उक्त निर्देशिका बनेको झण्डै ९ वर्ष बितिसक्दा पनि विभागले विभिन्न कारण देखाउँदैं यो जिम्मेवारी निर्वाह गरेको छैन । बरु, मन्त्रालय र विभाग दुवैको नेतृत्व असक्षम हुँदा त्यो निर्देशिकालाई छल्ने गरी स्वास्थ्य मन्त्रालयमा ‘एचटिएसी’ कमिटी बनाइएको छ । जसले स्वास्थ्य सेवा विभाग र सरकारी अस्पतालहरुले खरिद गर्ने मेडिकल उपकरणहरुको गुणस्तरका लागि काम गर्छ र त्यसमा नियमनकारी निकाय औषधि व्यवस्था विभागको प्रतिनिधी साक्षीका रुपमा सहभागिता जनाउँछ ।

अमेरिकाका यस्ता मेडिकल उपकरणहरुको नियमन र गुणस्तर सुनिश्चित गर्ने काम अमेरिकन फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेशन (एफडिए)ले गर्दै आएको छ भने छिमेकी देश भारत र चीनमा क्रमसः क्वालिटी कन्ट्रोल अफ इण्डिया (क्युसीआई) र नेशनल मेडिकल प्रडक्ट एडमिनिष्ट्रेशन (एनएमपीए)ले गर्ने गर्छन् । तर, नेपालमा औषधि व्यवस्था विभागको असक्षमताका कारण बिरामीको शरीरमा जडान गरिने उपकरणहरु झोलामै शल्यक्रिया कक्षमा पुग्छन् र बिरामीको शरीरमा जडान गरिन्छन् ।

०७४ मै निर्देशिका बनेपनि नेपालमा घुँडाको जोर्नी र हिप प्रत्यारोपणमा प्रयोग हुने इम्प्लान्टको गुणस्तर सुनिश्चितता गर्ने काम भएको छैन । बरु, चिकित्सकले नै इम्प्लान्टका ब्रोकरहरुसँग सम्पर्क गरेर बिरामीको शरीरमा राख्ने इम्प्लान्ट निश्चित गर्छन् । झोलामै शल्यक्रिया कक्षमै पुग्ने यस्ता इम्प्लान्टका लागि बिरामीहरुले अस्पतालका कोठामा खनखनी नगद गनेर बिलबिनै रकम तिर्छन् । केही कम्पनीले मात्रै भ्याट बिल दिन्छन्, केही बिल दिएपनि चलानी बिलहरु दिने गरेको कतिपय चिकित्सकहरु बताउँछन् । कतिपयले त त्यो चलानी बिल समेत नदिएर सेटिङमा काम गर्छन् ।

बिरामीले चिकित्सकको भरोसामा न त त्यसको बिल माग्छन्, न त गुणस्तरबारे नै प्रश्न गर्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने निकाय गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका प्रमुख डा. सरोज शर्मा मन्त्रालयले हिप र घुँडाको जोर्नी प्रत्यारोपणमा प्रयोग हुने इम्प्लान्टबारे अस्पतालहरुलाई विवरण पठाउन निर्देशन दिएको बताउँछन् । ‘कुन कम्पनीका इम्प्लान्ट, कुन मूल्यमा प्रयोग हुन्छ भन्ने विषयमा हामीले अस्पतालहरुलाई विवरण पठाउन भनेका छौं,’ डा. शर्मा भन्छन्, ‘अब अस्पतालको फार्मेसीमा इम्प्लान्ट दर्ता गर्ने योजना बनाएका छौं ।’ उनले इम्प्लान्टहरुको विषयमा औषधि व्यवस्था विभागले हेर्ने भएकाले नियमनबारे विभागमा बुझ्न आग्रह गरे ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल यो विभागको अधिकार क्षेत्र भएतापनि संस्थागत सुधार नगरी मेडिकल उपकरणहरुको गुणस्तर सुनिश्चितता गर्न नसकिने बताउँछन् । ‘संस्थागत सुधार नगरी क्वालिटी एस्योरेन्स हुँदैंन्, प्रयोगशाला सुधार गरिदिनुप¥यो, बायोमेडिकल इन्जिनियरहरु चाहिन्छन्,’ उनी भन्छन्, ‘विभिन्न खालका एक्सपटिजहरु व्यवस्था नगरी यो काम गर्न सकिदैन् ।’ ढकाल अहिलेको कानुन परिवर्तन नगरी यी कामहरु गर्न नसकिने दावी गर्छन् ।

नियमनकारी निकायले जिम्मेवारी पूरा गर्न नसकेका कारण गुणस्तरको प्रश्न त एकातिर छदैंछ, अर्कोतिर बिरामीहरु कमसल प्रडक्टमा महंगो मुल्य तिर्न बाध्य छन् । नेपाली बजारमा अमेरिकी इम्प्लान्टकै मूल्यमा भारतीय, चिनियाँ र कोरियन इम्प्लान्ट बिरामीलाई लगाइदिने गरेको देखिन्छ । अस्पतालमै पुगेर बिरामीलाई बेच्ने गरिएका भारतीय, चिनियाँ र कोरियन इम्प्लान्टको गुणस्तरीयताका बारेमा चिकित्सकहरुले नै आशंका व्यक्त गर्ने गरेका छन् । अमेरिकी इम्प्लान्ट भने एफडिए एप्रुभ्ड इम्प्लान्ट हुन् । तर, भारत, चीन र कोरियन इम्प्लान्टहरुको गुणस्तर सुनिश्चितता नरहेको चिकित्सकहरुको दावी छ ।

‘अमेरिकी इम्प्लान्टकै मूल्यमा बजारमा भारतीय इम्प्लान्ट र अन्य देशका इम्प्लान्ट बेचिन्छन्,’ एक चिकित्सक भन्छन्, ‘भारतीय इम्प्लान्ट कसरी अमेरिकी इम्प्लान्टकै मूल्यमा बिरामीहरुलाई बेचिन्छ अच्चम छ ।’ स्रोतकाअनुसार भारतमा झण्डै ३३ हजार भारतीय रुपैयाँ मूल्य पर्ने इम्प्लान्ट भन्सार शुल्क, यातायातसमेत गरी ग्राहकसम्म पुग्दा ६० हजार रुपैयाँ आइपुग्छन् । तर, बिरामीलाई उक्त इम्प्लान्ट २ लाख १५ हजार रुपैयाँदेखि २ लाख ६५ हजार रुपैयाँसम्म भिराइन्छ । जबकी अमेरिकी कम्पनीहरुका इम्प्लान्टहरुको पनि नेपाली बजार मूल्य २ लाख १५ हजार रुपैयाँ पर्छ ।

भारतमा इम्प्लान्टहरुको मूल्यमा मनोमानी बढेपछि त्यहाँको सरकारले सन् २०१८ मा हिप र घुँडा प्रत्यारोपणमा प्रयोग गरिने इम्प्लान्ट ५४ हजार भारतीय रुपैयाँभन्दा बढी लिन नपाउने गरी मुल्य निर्धारण गरेको छ । तर, नेपालमा मुल्य निर्धारणको कुरा त परै जाओस मानिसको शरीरमा जडान गरिने इम्प्लान्टहरु कुन गुणस्तर र कहाँबाट आउने भन्ने कुरा पनि हेरिदैंन् । जुन जनस्वास्थ्यका लागि गम्भीर चिन्ताको विषय हो । ‘नेपालमा पनि इम्प्लान्टहरुमा नियमन र क्यापिङ आवश्यक छ,’ चिकित्सकहरु भन्छन्, ‘नत्र यो क्षेत्रमा बढेको मनोमानीले बिरामीहरु आर्थिक र गुणस्तरीय दुवै हिसाबले ठगिन थालेका छन् ।’

युवापुस्ताका व्यस्त जोर्नी प्रत्यारोपण सर्जन डा. भाष्कर पन्त सबैभन्दा पहिले सरकारले नै मानिसको शरीरमा लगाउने इम्प्लान्ट नियमनमा तदारुकता देखाउनुपर्ने बताउँछन् । त्यसबाहेक बिरामीलाई इम्प्लान्ट लगाउनु पूर्व एफडिए, डिडिए अथवा इम्प्लान्ट बन्ने देशको नियमनकारी निकायबाट एप्रुभ भए—नभएको हेर्न उनको सुझाव छ । ‘बिरामीहरुले गुणस्तर सुनिश्चितताका लागि अनिवार्य रुपमा नियमनकारी निकायबाट अप्रुभ भए—नभएको निश्चित गर्नुपर्छ,’ ह्याम्स हस्पिटल तथा आरुष लाइफस्टाइल हस्पिटलका सर्जन रहेका उनी भन्छन्, ‘त्यससँगै भ्याट बिल पनि बिरामीले माग्नुपर्छ ।’ यसबाट केही वर्षमै इम्प्लान्ट काम नगरेको अवस्थामा कम्पनीलाई जवाफदेही तुल्याउन सकिने उनको भनाइ छ ।

महंगो उपचारः करोडौंको आर्थिक कारोबार

आर्थिक हिसाबले घुँडाको जोर्नी तथा हिप प्रत्यारोपण महंगो उपचारमा पर्छ । सरकारी र सामुदायिक अस्पतालमा घुँडाको जोर्नी वा हिप प्रत्यारोपणमा इम्प्लान्टसहित झण्डै ३ लाखदेखि ३ लाख २० हजार रुपैयाँसम्म खर्च हुन्छ भने निजी अस्पतालमा झण्डै ४ लाखदेखि ५ लाख रुपैयाँसम्म खर्च पर्छ । नेपालमा ३० हजार बढी बिरामीलाई जोर्नी प्रत्यारोपण आवश्यक रहेको अनुमान छ । तर, लाइफ चेन्जिङ शल्यक्रिया मानिने यो सेवा वर्षमा झण्डै ७ सयदेखि १ हजार जनासम्मले मात्रै पाउने गरेका छन् ।

नेपालमा एक महिनामा झण्डै १०० हाराहारीमा घुँडाका जोर्नी प्रत्यारोपण हुने अनुमान छ । त्यसमा हिप जोर्नीसमेत जोड्ने हो भने यो आँकडा केही बढ्न जान्छ । घुँडाको जोर्नी प्रत्यारोपण इम्प्लान्टमा प्रति इम्प्लान्ट २ लाख १५ हजार रुपैयाँले हिसाब गर्ने हो भने नेपालमा बिरामीहरुले मासिक ३ करोड २२ लाख ५० हजार रुपैयाँ इम्प्लान्टमा खर्च गर्छन् । घुँडाको जोर्नी प्रत्यारोपण इम्प्लान्टमा वार्षिक औसतमा झण्डै ३८ करोड ३७ लाख रुपैयाँ खर्च हुन जान्छ । हिपसमेत जोड्ने हो भने यो आँकडा अझ बढी हुने देखिन्छ ।

काठमाडौंका प्रमुख अस्पतालहरु निजामती कर्मचारी अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, बीएण्डबी अस्पताल, स्टार अस्पताल, नेपाल मेडिसिटी अस्पताल, किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, ह्याम्स अस्पताल, ग्राण्डी इन्टरनेशनल अस्पताल, नेपाल अर्थोपेडिक्स अस्पताल, अनमिवा अस्पताल, धुलिखेल अस्पताल, पाटन अस्पतालका साथै विराटनगर, पोखरा, चितवनलगायत सहरमा पनि घुँडाको जोर्नी प्रत्यारोपण हुँदैं आएको छ ।

नेपालमा घुँडाको जोर्नी तथा हिप प्रत्यारोपणमा प्रयोग हुने इम्प्लान्ट बिक्री गर्ने झण्डै आधा दर्जन बढी कम्पनीहरु छन् । जसमध्ये चार वटा अमेरिकी कम्पनीहरु छन् भने दुई वटा भारतीय कम्पनीहरु छन् । अमेरिकी कम्पनीहरुमा जिमर बायोमेड, डिप्यू, स्मिथ एण्ड निपहेउ र जोनसोन एण्ड जोनसोन छन् । यस्तै, कोरियन कम्पनी कोरेनटेक पनि नेपाली बजारमा घुँडा तथा हिप प्रत्यारोपणमा प्रयोग हुने इम्प्लान्ट सप्लाई गर्दै आएको छ । यसबाहेक भारतीय कम्पनीहरु बायोराड मेडिसिस प्रा.लि., मेरिल लाइफ साइन्सेज प्रा.लि. र चिनियाँ कम्पनी चुन लीका इम्प्लान्टहरु पनि नेपाली बजारमा प्रयोग हुन थालेको चिकित्सकहरु बताउँछन् ।

‘भारतीय, चिनियाँ र कोरियन इम्प्लान्टमा चिकित्सकहरुले पाउने कमिसनको मार्जिन धेरै छ,’ एक चिकित्सक भन्छन्, ‘त्यही कारण कमिसनको लोभमा धेरै चिकित्सकले भारतीय कम्पनीका इम्प्लान्टहरु प्रयोग गर्न थालेका छन् । यी इम्प्लान्टको मूल्य अमेरिकी इम्प्लान्टकै बराबरी छ तर गुणस्तर कसले चेक गर्ने ?’ केही समयअघि सामाजिक सन्जालमा भाइरल भएको चितवनको एक भिडियोमा ६० हजारदेखि १ लाख रुपैयाँसम्म इम्प्लान्टमा कमिसन हुने गरेको तथ्य सार्वजनिक भएको थियो । जसले पनि इम्प्लान्टमा ठूलो कमिसनको चलखेल हुने गरेको देखाउँछ ।

जोर्नी प्रत्यारोपण चिकित्सकः कहाँ कुन इम्प्लान्ट ?

सबैभन्दा बढी जोर्नी प्रत्यारोपण गर्ने सरकारी अस्पताल नेपाल निजामती कर्मचारी अस्पताल हो । अस्पतालका जोर्नी प्रत्यारोपण गर्ने चिकित्सक डा. सुमनबाबु मरहठ्ठा आफूहरुले अमेरिकी कम्पनी जिमरको इम्प्लान्ट प्रयोग गर्ने गरेको बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालका जोर्नी प्रत्यारोपण सर्जन प्रा.डा. अर्जुनप्रसाद लामिछाने आफूहरुले महिनामा १० देखि १५ वटा जोर्नी प्रत्यारोपण पर्ने गरेको बताउँछन् । ‘हामी महिनामा १० देखि १५ वटा जोर्नी प्रत्यारोपण गर्छौ,’ डा. लामिछाने भन्छन्, ‘हामीले अमेरिकन कम्पनी जिमर र स्ट्राइकरका इम्प्लान्टहरु प्रयोग गर्दै आएका छौं ।’

इम्प्लान्टको सांकेतिक तस्विरः verywellhealth.com

राष्ट्रिय ट्रमा सेन्टरका प्रत्यारोपण सर्जन डा. रवीन्द्र रेग्मी हप्तामा दुई वटा घुँडाको जोर्नी प्रत्यारोपण गर्छन् । ट्रमाको अर्थोपेडिक्स विभागले पनि जोर्नी प्रत्यारोपण गर्ने भएकाले हप्तामा त्यहाँ ३—४ वटा जोर्नी प्रत्यारोपण हुने गर्छन् । ‘मैले ओडीईपी रेटिङमा रहेको डेप्यूको जोर्नी प्रत्यारोपण गर्छु,’ डा. रेग्मी भन्छन्, ‘यो अमेरिकाको एकदमै चर्चित कम्पनीको इम्प्लान्ट हो । रिभ्युहरुमा यो इम्प्लान्टको आयु २०—२५ वर्ष छ ।’

हप्तामा २—३ वटा हिप वा घुँडाको जोर्नी प्रत्यारोपण गर्दै आएको धुलिखेल अस्पतालले जिमर र डिप्यूका इम्प्लान्ट प्रयोग गर्ने डा. दिपक श्रेष्ठ बताउँछन् ।

काठमाडौं मेडिकल कलेजका जोर्नी प्रत्यारोपण सर्जन डा. सुस्मित शर्माले आफूले महिनामा ४—६ वटा घुँडाको जोर्नी तथा हिप प्रत्यारोपण गर्ने बताए । उनले आफूहरुले बिरामीको रोजाइअनुसार जोनसोन, जिमर, कोरेनटेक र बायोराडको इम्प्लान्ट प्रयोग गर्ने गरेको जानकारी दिए । ‘हामीले बिरामीको रोजाइअनुसार जोनसोन, डेप्यू, कोरेनटेक र बायोराडका इम्प्लान्ट प्रयोग गर्छौ,’ उनले भने । इम्प्लान्टसहित केएमसीमा घुँडाको जोर्नी तथा हिप प्रत्यारोपणमा साढे तीनदेखि चार लाख रुपैयाँसम्म खर्च हुन्छ ।

फार्मेसीबाट उपलब्ध गराउँदैंनन् इम्प्लान्ट

केही सामुदायिक तथा निजी अस्पतालहरुले इम्प्लान्ट आफ्नो फार्मेसीबाट उपलब्ध गराउँदैं आएपनि धेरैजसो सरकारी अस्पतालहरुमा चिकित्सकहरुले भनेअनुसार नै बिरामीले इम्प्लान्टहरु खरिद गर्दै आएका छन् । हप्तामा २—३ वटा घुँडाको जोर्नी तथा हिप प्रत्यारोपण गर्दै आएको धुलिखेल अस्पतालले भेन्डरमार्फत लिएर बिरामीलाई अस्पतालबाटै इम्प्लान्ट उपलब्ध गराउँदैं आएको छ । यसले इम्प्लान्टमा कमजोरी देखिएमा त्यसलाई उत्तरदायी बनाउन सहज हुन्छ । धुलिखेल अस्पतालका प्रत्यारोपण सर्जन डा. दिपक श्रेष्ठ भन्छन्, ‘इम्प्लान्टहरु भेन्डरबाट लिएर अस्पतालले नै बिरामीलाई उपलब्ध गराउँदैं आएको छ । हामी बिरामीलाई भेन्डरबाट प्रत्यक्ष किन्न लगाउँदैनौं ।’

अहिलेसम्म ६ सयभन्दा बढी जोर्नी प्रत्यारोपण गरिसकेको निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मी अहिलेसम्म घुँडाको जोर्नी र हिप इम्प्लान्ट व्यवस्थित गर्न नसकिएको बताउँछन् । ‘अहिलेसम्म इम्प्लान्टहरु सप्लायर्सबाटै सिधैं बिरामीको आवश्यकताअनुसार आउँथ्यो,’ उनी भन्छन्, ‘पछिल्लो समय स्वास्थ्य मन्त्रालयले समेत फार्मेसीबाट व्यवस्थापन गर्न भनेको हुँदा हामीले त्यो प्रक्रिया सुरु गरिसकेका छौं ।’ निजामती कर्मचारी अस्पतालले हालसम्म चिकित्सकहरुकै सम्पर्कमा आधारमा कम्पनीका प्रतिनिधीहरुबाट इम्प्लान्ट लिदैं आएको छ ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. सुवास आचार्यले इम्प्लान्टहरुको निश्चित मूल्य र गुणस्तर मापन नहुँदा बिरामीहरु मर्कामा परेको बताए । ‘इम्प्लान्टको गुणस्तर पनि थाहा हुँदैन् र कुन इम्प्लान्टको कति मूल्य पर्छ भन्ने बिरामीलाई थाहा हुँदैन्,’ उनी भन्छन्, ‘जसका कारण बिरामीहरु ठगिइरहेका छन् ।’ उनकाअनुसार यस पटकदेखि सबै इम्प्लान्टहरु मूल्यसहित सुरुमै सूचीकृत गर्ने र लगाइसकेपछि जबरजस्ती तोकिएको पैसा तिराउनेभन्दा पनि पहिले नै मूल्य निश्चित गर्ने योजना छ । त्रिवि शिक्षण अस्पतालका एक उच्च अधिकारीकाले डाक्टरहरुले कम्पनीसँग सिधैं सम्पर्क गरेर बाकसमा इम्प्लान्ट लिएर आउने र गोजीभरी पैसा लिएर जाने गरेको बताए ।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाल सबै इम्प्लान्टहरु अस्पतालमा फार्मेसीमा राख्न नसकिने हुँदा सूचीकृत गर्ने र आवश्यक परेको बेला तिनीहरुलाई बोलाएर बिरामीसँग सम्पर्क गराइदिने गरेको बताउँछन् । ‘भ्याट बिल अनिवार्य गरेका छौं, यदि कसैले नदिएको उजुरी आएमा समाएर कारवाही गर्छौ,’ उनी भन्छन्, ‘आगामी वर्षका लागि १ लाख ७५ हजारदेखि २ लाख २५ हजार रुपैयाँसम्म पर्ने घुँडाका इम्प्लान्ट कम्पनी सूचीकरणमा परेका छन् ।’


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #२०७४, #इम्प्लान्ट झोलामा, #औषधि व्यवस्था विभाग, #घुँडाको जोर्नी प्रत्यारोपण, #जिमर बायोमेड, #डा. दिपक श्रेष्ठ, #डा. बद्री रिजाल, #डा. भाष्कर पन्त, #डा. मोहनचन्द्र रेग्मी, #डा. रवीन्द्र रेग्मी, #डा. सरोज शर्मा, #त्रिवि शिक्षण अस्पताल, #प्रविधिजन्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका, #प्रा.डा. अर्जुनप्रसाद लामिछाने, #प्रा.डा. सुवास आचार्य, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #हिप प्रत्यारोपण


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ