२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टकिष्ट मेडिकल कलेजका मालिकहरूको विवाद ९ महिनादेखि कम्पनी रजिष्ट्रार कार्यलयमा

किष्ट मेडिकल कलेजका मालिकहरूको विवाद ९ महिनादेखि कम्पनी रजिष्ट्रार कार्यलयमा

१२ लाख रुपैयाँ लिएर सेयर लागत नदिएको भन्दैं ११ जनाको अर्को उजुरी


काठमाडौं—इमाडोलस्थित किष्ट मेडिकल कलेज प्रा.लि.का मालिकहरुबीचको विवाद ९ महिनादेखि चलिरहेको पाइएको छ । बहुमत सेयर धनीले आम्दानी खर्च पारदर्शी नगरेको र कम्पनीमा सुशासन कायम नगरी मनोमानी गरेको भन्दैं अल्पमत सेयर धनीले ९ महिनाअघि कम्पनी रजिष्ट्रार कार्यलयलाई गुहारेको हो ।

कम्पनी रजिष्ट्रार कार्यलयका कानुन उपसचिव टोपबहादुर विष्टले किष्ट मेडिकल कलेजका बहुमत सेयरधनीले एकलौटी गरेको भन्दैं १० भदौंमा उजुरी परेको जानकारी दिए । ‘१० भदौंमा बहुमत सेयरधनीले मेडिकल कलेजको आम्दानी तथा खर्च पारदर्शी रुपमा नराखेको, कम्पनीमा सुशासन कायम नगरेकोजस्ता कारण देखाउँदैं अल्पमत पक्षले उजुरी गरेको छ,’ उनले भने, ‘यसमा हामीले कारवाहीको प्रक्रिया अगाडि बढाइसकेका छौं ।’

अल्पमत सेयरधनी रहेका पूर्णलाल हिराचन र सकुन्तलाल हिराचनले कम्पनी रजिष्ट्रार कार्यलयमा बहुमत सेयर धनीहरु मेडिकल कलेजका प्रबन्ध निर्देशक आशिष थापा, संचालकद्वय राजेन्द्र शाक्य र दिपक गुरुङ विरुद्ध उजुरी दिएका हुन् । उनीहरुको उजुरीमा कम्पनीको साधारण सभा तथा विशेष साधारणसभाको कुनै जानकारी नदिने गरेको, आर्थिक हिसाब—किताब पारदर्शी नगरेको, कम्पनीमा सुशासन कायम नगरेको र शेयर धनीको हकहित विपरित कार्य गरेको उल्लेख छ ।

हिराचनद्वयले उजुरीमा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गरी गराई समान सेयर र सेयरको अनुपातमा संचालक संख्या कायम गर्न निर्देशन जारी गरिदिन माग गरेका छन् । कम्पनी रजिष्ट्रार कार्यलयमा उपसचिव विष्टकाअनुसार उक्त उजुरीपछि कम्पनीका बहुमत सेयर धनीमध्ये प्रबन्ध निर्देशक थापा र संचालक गुरुङले लिखित स्पष्टीकरण नै पेश गरेका छन् । उनीहरुले स्पष्टीकरणमा समय—समयमा लेखा परीक्षण गराइरहेको उल्लेख गरेका छन् । ‘उहाँहरुले समय—समय लेखा परीक्षण गराइराखेका छौं र कम्पनी नियमअनुसार नै चलाइरहेका छौं भनेर स्पष्टीकरण दिनुभएको छ,’ विष्टले भने ।

बहुमत सेयर धनीमध्येका दुई जना सेयर धनीले स्पष्टीकरण दिएपनि किष्ट मेडिकल कलेजका संचालक राजेन्द्र शाक्य भने कम्पनी रजिष्ट्रारलाई जवाफ दिएका छैनन् । उनको किष्टमा सिस्को कर्पोेरेट प्रा.लि.मार्फत लगानी छ । शाक्यले जवाफ नदिएपछि १६ बैशाखमा कम्पनी रजिष्ट्रार कार्यलयले कान्तिपुर दैनिकमै उनको नाममा सात दिने समाव्हान/इतलायना म्याद सूचना जारी गरेको छ । ‘मैले अहिले कम्पनी रजिष्ट्रारको कार्यलयलाई जवाफ पठाउँदैंछु,’ शाक्यले भने, ‘म त्यहाँ एक्जुकिटीभ पोष्टमा छैन । त्यही कारण मलाई यो विषयमा धेरै कुरा थाहा छैन् ।’ उनले कम्पनीमा सबै कुरा पारदर्शी रहेको उल्लेख गर्दै केही शंका भएमा अफिसमा आएर हेर्न सकिने दावी गरे ।

हेल्थआवाजले किष्ट मेडिकल कलेजका मालिकहरुबीचको विवादमा विषयमा प्रतिक्रिया लिन प्रबन्ध निर्देशक थापासँग सम्पर्क गर्ने प्रयास गरेका थियौं । तर, थापासँग सम्पर्क गर्ने पटक—पटकको प्रयास सफल हुन सकेन् ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा वि.सं. २०६२ सालबाट किष्ट मेडिकल कलेज प्रा.लि. संचालनमा आएको हो । महालक्ष्मी नगरपालिका—१ इमाडोल ललितपुरस्थित कलेजले वि.सं. २०६५ सालबाट एमबीबीएसको पढाइ थालेको हो । वि.सं. २०६८ सालमा बिडिएस पढाउन थालेको कलेजले अहिले बीएस्सीएमएलटी, बीफर्मालगायतका कोर्सहरु अध्ययन गराइरहेको छ ।

कलेजको बेबसाइटमा उल्लेख भएअनुसार अहिलेसम्म कलेजले ६५० मेडिकल ग्राजुयट र १५१ डेन्टल ग्राजुयटहरु उत्पादन गरिसकेको छ । किष्ट मेडिकल कलेजले अहिले सुपरस्पेसियालिटी पनि अध्ययन गराउँदैं आएको छ । अहिले किष्टमा एमडी/एमएस, एमडीएस, डिएम÷एमसीएच कार्यक्रम पनि संचालनमा छन् । दैनिक औसतमा ९ सय बढी ओपीडीमा बिरामी हुने किष्टको शिक्षण अस्पताल ३०० शैय्याको छ । किष्टको छुट्टै डेन्टल हस्पिटलसमेत संचालनमा रहेको उसको वेवसाइटमा छ ।

१२ लाख लिएर सेयर लागत नदिएको भन्दैं ११ जनाको उजुरी

किष्ट मेडिकल कलेज प्रा.लि.का संचालक विरुद्ध कम्पनी रजिष्ट्रार कार्यलयमा अर्को उजुरी समेत परेको छ । उपसचिव विष्टकाअनुसार थप ११ जनाले १२ लाख रुपैयाँ लिएर सेयर लागत आफूहरुलाई अहिलेसम्म उपलब्ध नगराएको भन्दैं उजुरी दिएका छन् ।

उक्त उजुरीमाथि पनि कम्पनी रजिष्ट्रार कार्यलयले अनुसन्धान र कारवाही अगाडि बढाएको उनले जानकारी दिए । ‘११ जनाले आफूहरुको १२ लाख रुपैयाँ लिएर अहिलेसम्म सेयर लागत नदिएको भन्दैं उजुरी दिएका छन्,’ उनले भने ।

यस विषयमा किष्टको कार्यकारी पोष्टमा रहेका थापासँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ