२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’

एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’

भेरीको मेसु परिवर्तनको निर्णय बदर गरेपछि मन्त्री र सचिवको दूरी बढ्यो


काठमाडौं—आफ्नै नेतालाई पार्टी फुटाएर प्रतिस्थापन गरेका नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र स्वास्थ्यका प्रशासनतर्फका सचिव मधुसुदन बुर्लाकोटीबीच टसल सुरु भएको छ । निवर्तमान स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकार छोड्ने पूर्वसन्ध्यामा भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन गर्ने निर्णय गरेका थिए ।

नवनियुक्त स्वास्थ्यमन्त्री यादवले सो निर्णय उल्टाइदिएपछि प्रशासन सचिव बुर्लाकोटी र मन्त्री यादवबीच दरार उत्पन्न भएको हो । स्रोतकाअनुसार एकै दिनमा दुई जनाबीचको सम्बन्धमा यति ठूलो दरार परिसकेको छ कि सचिव बुर्लाकोटीले यादव मन्त्री बनेर आएको दुई दिन नबित्दैं मुख्यसचिव डा. बैकुण्ठ अर्यालसँग भेट गरेर आफ्नो सरुवा गराइदिन आग्रह गरिसकेका छन् ।

उपेन्द्रले रुचाएका सचिवका रुपमा बुर्लाकोटी एक महिनाअघि मात्रै स्वास्थ्य मन्त्रालयमा आएका हुन् । उपेन्द्रले अघिल्लो पटक मन्त्री हुँदा सहसचिवका रुपमा बुर्लाकोटीसँग काम गरेको अनुभवका आधारमा उनलाई मन्त्रालय भित्र्याएका थिए । ‘उहाँ (उपेन्द्र)ले यो कार्यकालमा केही फरक गर्न चाहनुभएको थियो । सहसचिवका रुपमा बुर्लाकोटीको क्षमता देखेकाले आफूले परिणाममुखी काम गर्न सकिने गरी उहाँलाई सचिवका रुपमा ल्याउनुभएको हो,’ उपेन्द्रनिकट स्रोतले भन्यो, ‘बुर्लाकोटीसँग उहाँको पूर्ण भरोसा थियो ।’

तर, उपेन्द्रलाई नै प्रतिस्थापन गरेर आएका प्रदीपले आफूले भेरीको मेसु बनाएका डा. राजन पाण्डेको नियुक्ति बदर गरिदिएपछि बुर्लाकोटीको मन्त्री प्रदीपसँग दूरी बढेको हो ।

हक्की स्वभाव र केही गरौं भन्ने भावनाका साथ स्वास्थ्य मन्त्रालयमा आएका बुर्लाकोटीले पछिल्लो समय स्वास्थ्य मन्त्रालयका केही प्रशासनिक सुधारको काम सुरु गरेका थिए । उनले कार्यलय समयमा निजी अस्पतालमा गएर काम गर्ने चिकित्सक, कार्यलय समयमा एनजिओका कार्यक्रममा व्यस्त रहने कर्मचारीहरुलाई लगान लगाउन सुरु गरेका थिए । जसको नतिजा वीर अस्पतालका ‘भगौडा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु’ कार्यलय समयमा निजी धाउनबाट तर्सिएका थिए ।

सचिव बुर्लाकोटी आफै काठमाडौंका ठूलो अस्पतालहरुमा बिरामी भेषमा पुगेर ‘भगौडा’हरुको नामसमेत संकलन गरेका थिए । उनले त्यस्ता ‘भगौडा’हरुमाथि एक्सनका लागि तयारी थालिरहेका थिए । अर्को, सरकारी अस्पतालको नाम बेचेर निजीमा काम गर्ने चिकित्सकहरुलाई पनि बुर्लाकोटीले तारो बनाएका थिए । उनले निजी क्लिनिक र अस्पतालमा आफ्नो र सरकारी अस्पताल नाम झुण्डाएर कानुन विपरित काम गर्ने चिकित्सकहरुलाई पनि लगाम लगाउनका उर्दी जारी गरेका थिए । यस्तै, स्वास्थ्यका कतिपय कर्मचारीहरु कार्यलय समयमा मन्त्रालयमा आएर गफ चुट्ने र हाकिमहरुको चाप्लुसी गर्ने क्रियाकलापलाई पनि निरुत्साहित गर्ने कदम सुरु गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ