२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टअल्का अस्पतालका मालिकहरुबीच एक कित्ता सेयरको विवाद, कम्पनी रजिष्ट्रारमा उजुरी

अल्का अस्पतालका मालिकहरुबीच एक कित्ता सेयरको विवाद, कम्पनी रजिष्ट्रारमा उजुरी

कुमार थापा भन्छन्, ‘असन्तुष्टि केही छैन, अझै मलाई रामेश्वरले १ करोड ७० लाख रुपैयाँ दिन बाँकी छ’


काठमाडौं—जावलाखेलस्थित अल्का अस्पतालका मालिकहरुबीचको विवाद कम्पनी रजिष्ट्रारको कार्यलयमा पुगेको छ । साउन पहिलो साता अल्काका अल्पमत सेयरधनी तथा बोर्ड अफ डाइरेक्टर रहेका व्यवसायी क्या. रामेश्वर थापाले बराबरी सेयर र संचालक समितिमा समान प्रतिनिधित्व बनाइदिनुपर्ने माग गर्दै कम्पनी रजिष्ट्रारको कार्यलयमा उजुरी दिएका छन् ।

कम्पनी रजिष्ट्रार कार्यलयका उपसचिव टोपबहादुर विष्टले अल्का हस्पिटलको सेयरधनीमध्येको एक पक्षले सेयर बराबर गरीपाउँ भनेर उजुरी दिएको पुष्टि गरे । ‘अल्काको एक लगानीकर्ता एस.एस.जी. इन्भेष्टमेन्ट (क्या. रामेश्वरको कम्पनी)का संचालककर्ताले हाम्रो सेयर बराबर गरी पाउँ भन्दैं माग दावी गर्दै उजुरी दिएको छ,’ उनले भने, ‘हाम्रो काम सेयर बराबरी गर्ने होइन् । सेयरबारे निर्णय गर्ने त साधारणसभाले हो ।’ उपसचिव विष्टकाअनुसार एस.एस.जी. इन्भेष्टमेन्टले उजुरीमा बराबरी सेयरसँगै संचालक समितिमा पनि समान प्रतिनिधित्व माग गरेको छ ।

तर, अल्काका अध्यक्ष समेत रहेका बहुमत सेयरधनी कुमार थापा (तिलकबहादुर पुवँर थापा)ले भने कम्पनी रजिष्ट्रारको कार्यलय पुगेर सेयर र संचालक समितिका विषयमा सेयरधनीहरुकोे साधारणसभाले निर्णय गर्ने जवाफ दिएका छन् । ‘संचालक कति बनाउने भन्ने कुरा कम्पनीको सेयरधनीको साधारणसभाको निर्णयबाट हुने हो, कम्पनी रजिष्ट्रारको कार्यलयले यति बनाइ दे उति बनाइदे भनेर कसरी भन्न सक्छ ? त्यो त शेयरधनीहरुको अधिकारको कुरा हो,’ कुमारले कम्पनी रजिष्ट्रार कार्यलयका अधिकारीहरुसँग भनेका छन् ।

कुनै पनि कम्पनीको संचालक समितिमा बराबर प्रतिनिधित्व हुँदा त्यसमा निर्णय गर्न गाह्रो हुने र संस्था संचालनमा अवरोध सिर्जना हुने सम्भावना रहने कम्पनी रजिष्ट्रार कार्यलयका अधिकारीहरु बताउँछन् । अल्कामा अहिले कुमारको १४ लाख ९५ हजार ३ सय ६४ कित्ता सेयर रहेको छ भने रामेश्वरको त्यसभन्दा एक कित्ता कम सेयर छ ।

उजुरी परेपछि बिहीबार कम्पनी रजिष्ट्रारको कार्यलयले छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । तर, रामेश्वर थापाका प्रतिनिधिहरु उक्त छलफलमा समेत उपस्थित भएनन् । एक पक्ष उपस्थित नभएपछि उक्त उजुरीबारेमा केही निर्णय हुन नसकेको उपसचिव विष्टले हेल्थआवाजलाई बताए ।

यस विषयमा अल्का अध्यक्ष तथा संस्थापक कुमार थापासँग बुझ्दा उनले सेयर पार्टनर एस.एस.जी इन्भेष्टमेन्टको कुनै असन्तुष्टि नरहेको बताए । ‘असन्तुष्टि केही पनि देखिदैंन्, असारसम्म उहाँहरुकै सिए, इन्टरनल, एक्स्ट्रनल अडिटर र कन्सल्ट्यान्टहरु पनि हुनुहुन्थ्यो,’ कुमारले भने, ‘तर, कम्पनी रजिष्ट्रारमा उजुरी दिनुभएछ । आज छलफलका लागि बोलाएको थियो । हामी गयौं तर उहाँहरु नै आउनुभएन् ।’

वि.सं. २०५१ सालमा कुमार थापाले छोरीको नाममा अल्का फार्मेसी सुरु गरेका थिए । त्यही फार्मेसीलाई उनले वि.सं. २०५९ सालमा अल्का पोलिक्लिनिक बनाए । वि.सं. २०६२ सालमा त्यही पोलिक्लिनिकलाई अल्का हस्पिटल बनाएका हुन् । अहिले अल्का अस्पताल १०० शैय्याको अस्पताल हो ।

काठमाडौं चलेका प्राइभेट हस्पिटलमा पर्ने अल्कामा १ सय ५० जना चिकित्सकसहित ७ सय ५० जना कर्मचारी कार्यरत छन् । अस्पतालमा दैनिक ओपीडीमा ४०० देखि ६०० सम्म बिरामी हुने गरेको थापाले जानकारी दिए ।

कहिले भित्रिए रामेश्वर ?

अल्का व्यवस्थापन र रामेश्वर थापाबीच वि.सं. २०७६ साउनमा अस्पतालको सेयर किनबेच सम्बन्धी सम्झौता भएको थियो । तर, रामेश्वरले त्यसको दुई वर्षपछि मात्रै आफूहरुलाई सेयरवापतको रकम दिएको कुमार बताउँछन् ।

‘वि.सं. २०७६ मा सेयर किनबेच सम्बन्धी सम्झौता भएको हो,’ उनले भने, ‘तर, उहाँले वि.सं. २०७८ सालमा मात्रै सेयर वापतको रकम दिनुभएको हो । त्यो पनि पूरा अझै दिनुभएको छैन ।’ कुमार अहिले पनि रामेश्वरले आफूलाई अझै १ करोड ७० लाख रुपैयाँ दिन बाँकी रहेको दावी गरे ।

यस विषयमा क्या. थापासँग पटक—पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ