२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टडा. चक्रराजको अनमीव अस्पतालः आवश्यकताले जन्माएको विश्वस्तरीय स्वास्थ्य संस्था

डा. चक्रराजको अनमीव अस्पतालः आवश्यकताले जन्माएको विश्वस्तरीय स्वास्थ्य संस्था

ग्राण्डी छोडेपछि यसरी तयार भयो बुटिक शैलीको अस्पताल


हरियाली परिवेशमा ढकमक्क फूलहरु । बुटिक होटल शैलीका संरचना । साढे चार रोपनी क्षेत्रफलमा फैलिएको फराकिलो ठाउँ । क्लिनिक र सर्जिकल अस्पतालसँगै बुटिक होटल शैलीको पुनःस्थापना केन्द्र । १०० शैय्या अस्पताललाई पुग्ने क्षेत्रफलमा फैलिएको लाजिम्पाटस्थित १५ शैय्याको अनमीव हस्पिटल र अनमीव हेल्थको परिवेश हेर्दा आलिशान ‘बुटिक र कर्पोरेट’ होटलको संयोजनजस्तो देखिन्छ ।

‘अनमीव हस्पिटल चेन्जिङ द हेल्थ केयर ल्याण्डस्केप अफ नेपाल हो,’ हालैको एक मध्यान्ह अस्पतालको भिजिटपछि हेल्थआवाजसँग संस्थापक डा. चक्रराज पाण्डेले भने । ग्राण्डीबाट बाहिरिएपछि कतिपयले ५७ वर्षीय उनलाई भनेका थिए, ‘डा. साब अब यो उमेरमा यो के गर्नुहुन्छ, आराम गर्नुहोस् न ?’ तर, ग्राण्डीजस्तो मुलुककै पहिलो कर्पोरेट अस्पतालको समग्र आर्किटेक्ट गरेका डाक्टरको मनले त्यो मानिरहेको थिएन्, त्यसमाथि स्वदेशी तथा विदेशी बिरामीहरुले पछ्याइरहनु उनका लागि झन उर्जा बन्यो ।

त्यही उर्जा लिएर यी वरिष्ठ अर्थोपेडिक सर्जन केही फरक र नौलो गर्न तम्सिए । ‘जति बाँचिन्छ टिम बिल्डअप गरेर आफ्नो मातृभूमीलाई अन्य देशहरुको कम्पीटिसनमा अगाडि लाने हो,’ उनी दृढ विश्वासी देखिए, ‘अन्य सबै अस्पतालसँग सहकार्य गर्दै अगाडि बढ्ने हाम्रो बेसिक कन्सेप्ट हो । अनमीव सानो तर महत्वपूर्ण छ ।’ वि.सं. २०७७ असोजतिर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको संचालक समितिसँग उनको कुरा मिल्न छोड्यो । त्यसपछि उनले लाजिम्पाटमा अनमीव क्लिनिक खोल्ने योजना बनाए ।

 
क्लिनिक खोल्ने योजना अगाडि बढेपछि उनकी जेठी छोरीतर्फका अमेरिकी ज्वाइँ माइकलले ऋगवेदको हरफ ‘स्वस्ति चास्माम अनमीवं च धेही’बाट सुन्दर नाम जुराइदिए—अनमीव । जसको अर्थ—‘सबैको कल्याण होस् र सबै रोगमुक्त रहुन्’ भन्ने हुन्छ । क्लिनिक सुरु भएको झण्डै एक वर्ष उनले ग्राण्डीमै शल्यक्रिया गरे, त्यहाँ नै धेरैजसो बिरामी हेरे । तर, थप तिक्तता सुरु भएपछि सन् २०२१ को नोभेम्बरमा उनले ग्राण्डी छोडिदिए । त्यो पनि ३० सेकेण्डको डिसिजनमा ।

त्यसपछि डा. पाण्डे धेरै अस्पताल चहारे, ती अस्पतालका शल्यक्रिया कक्षहरु हेरे । त्यहाँबाट आफूले दिन चाहेको ‘स्ट्यान्डर्ड अफ केयर’ दिन सक्ने देखेनन् । ग्राण्डीमा एकस्तरको मेडिकल अभ्यास गरिसकेका उनले त्यो स्तरको वा त्योभन्दा राम्रो अभ्यास गर्ने उद्देश्यका साथ अनमीव क्लिनिकलाई हस्पिटलका रुपमा विकास गरेका हुन् । उनलाई लागेको छ—अनमीव आवश्यकताले जन्माएको संस्था हो ।

अनमीव अस्पतालको उद्देश्य स्वदेशी तथा विदेशी बिरामीहरुका लागि एउटै ठाउँबाट बहुविशिष्टीकृत सेवाहरु उपलब्ध हो । अर्थोपेडिक सेवा हस्पिटलको मुटु हो । ‘देशभरिका मानिसहरु आउन सक्ने अस्पतालको मुटु विभाग अर्थोपेडिक्स हो,’ डा. पाण्डे भन्छन्, ‘ज्वाइन्ट रिप्लेसमेन्ट, स्पोर्टस मेडिसिन, कम्प्लेक्स ट्रमा, पेडियाट्रिक अर्थोपेडिक्स सर्जरी र कम्प्लीकेटेड अर्थोपेडिक्स (मल्टीपल टाइम शल्यक्रिया भएको बिरामीलाई रिभिजन गरेर निको बनाउने) सेवा छ । स्पाइनलगायतका अर्थोपेडिक्सका अन्य विभागहरु पनि खुल्दै जान्छन् ।’

डा. चक्रराज पाण्डे श्रीमती सपनाका साथ

अनमीव अस्पतालले सेवा सुरु गरेको झण्डै दुई महिना नबित्दैं मेडिसिन, पेडियाट्रिक, युरोलोजी, कार्डियो, स्त्री तथा प्रसुति, ईएनटीलगायतका अन्य विशेषज्ञ सेवाहरु पनि थप गरिसकेको छ । अब केही समयमै अनमीवमा नीयोनेटल आईसीयु सेवा पनि सुरु हुँदैंछ । त्यसबाहेक अन्य विशेषज्ञ सेवाहरु पनि थपिदैं जानेछन् । ‘थोरै भएपनि कन्ट्रीब्युसन होस्, मल्टीपल डिभिजनहरु थप्दैं जान्छौं । अस्पतालले रुमहरुको क्षमताअनुसार काम गर्न सकोस्,’ उनी भन्छन्, ‘अझ अस्पताल स्टे कम गराउनेमै हाम्रो जोड रहन्छ । सात दिन राख्नुपर्ने बिरामीलाई एकदिनमै पठाउन सक्यौं भने त राम्रो भयो नि ?’ अबको हेल्थकेयर आईपीडी बिरामी धेरै बनाउनुको सट्टा लामो अस्पताल बसाइँ घटाएर बढी प्रडक्टीभ वर्क गर्नुपर्छ भन्ने अवधारणा अगाडि बढिरहेको उनले सुनाए ।

बिरामीको अस्पताल बसाइँ कम गराउने कन्सेप्टमा काम गर्दा बिरामीको समय र खर्च पनि बच्ने अस्पतालकी सह—संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) सपना पाण्डेले बताइन् । ‘बिरामी पनि खुसी हुने भए, ७ दिनको पैसा तिर्नुको सट्टा एक दिनको तिरे हुने भयो,’ उनले भनिन्, ‘जति अस्पताल बसाइँ लम्बिन्छ, त्यति समय र पैसा खर्च हुन्छ ।’

अहिले अनमीव अस्पतालमा अर्थोपेडिक सर्जन ५ जना, एनेस्थेसियामा ३ जना, स्त्री तथा प्रसुति रोग विशेषज्ञ २ जना, कार्डियोलोजी, ईएनटी, न्यूरो सर्जरी, एमडिजीपी, पेडियाट्रिकमा १/१ जना विशेषज्ञ चिकित्सकहरु छन् । त्यसबाहेक १६ जना नर्स, ७ जना फिजियोथेरापिष्टसहित सिंगो अनमीव अस्पतालको टिम ६५ जना पुगेको छ । ‘अब हामी विशेषज्ञ चिकित्सक, नर्ससहित आवश्यक जनशक्ति थप्दैं जान्छौं,’ डा. पाण्डेले भने, ‘यो अस्पताल पूर्ण रुपमा संचालनमा आउँदा १ सयभन्दा बढी कर्मचारी हुनेछन् ।’

डा. पाण्डेकी धर्मपत्नी सपना अहिले अनमीव हेल्थ र अस्पतालको सिईओका रुपमा सम्पूर्ण व्यवस्थापन हेरिरहेकी छन् । ‘उनको अतुलनीय योगदान छ । उनले आफ्नो सम्पूर्ण समय आर्किटेक्ट, बगैचा डिजाइन, आर्थिक र कर्मचारी व्यवस्थापनमा बिताएकी छन्,’ डा. पाण्डेले भने, ‘उनको नेतृत्व बिना अस्पताल यो अवस्थामा आइपुग्न सम्भव थिएन ।’ डा. पाण्डेकी छोरी सुजिता क्यानडामा पीएचडी गर्दैछन् भने उनका छोरा चिरन बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट अंग्रेजी साहित्य र क्रिटिकल राइटिङमा माष्टर्स सकेर अहिले अर्को प्रतिष्ठित छात्रवृत्तिमा मेडिकल स्कुल मिलान इटलीमा अध्ययनरत छन् मिलान मेडिकल स्कुलमै अध्ययनरत अर्की छोरी चाँदनीले अस्पतालको वेव डिजाइन र रणनीति निर्माणको काम गरिरहेकी छन् ।

अनमीव हेल्थ

अनमीव अस्पताललाई नयाँ उचाइबाट हेल्थकेयर प्रोभाइड गर्ने संस्थाका रुपमा विकास गर्न खोजिएको छ । तीन महिना जतिमा आधिकारिक रुपमा उद्घाटन गर्ने लक्ष्य राखिएको अनमीव अस्पतालको भौतिक संरचना मुख्यतयाः तीन भागमा विकास गरिएको छ । जसमध्ये एक हो—अनमीव हेल्थ । यसअन्तर्गत प्रिभेन्टीभ अर्थोपेडिक्स र अलाइड मेडिकल साइन्सका लागि पूर्वाधार बनाइएको छ । जसमा अस्पतालको प्रशासनसहित बहिरंग सेवाहरु पर्छन् । यो विभागमा फराकिलो गार्डेन र पार्किङसहितका पाँच वटा घरहरु छन् । यही ब्लकमा छन्—ओपीडी कक्ष, प्रयोगशाला, रेडियोलोजी, आधुनिक फिजियोथेरापी, स्टोर, फार्मेसीसँगै क्लासरुम र क्यान्टिन ।

अहिले दैनिक ७० देखि १ सय जनासम्म बिरामीलाई ओपीडीमा सेवा दिइरहेको अनमीव अस्पतालको इमर्जेन्सी ह्याण्डलिङ पनि यही ब्लकमा हुनेछ । ‘जति पनि बिरामीहरु आउँछन्, ती बिरामीहरु अनमीव हेल्थमा जान्छन्,’ डा. पाण्डेले भने, ‘रगत जाँच, इसिजी, एक्स रेलगायतका जाँचहरु त्यहाँ गरिनेछ । त्यहाँबाट सर्जरी आवश्यक भएका बिरामीलाई मात्रै अनमीव अस्पतालमा लगिनेछ ।’ सर्जरी आवश्यक नभएका बिरामीलाई भने त्यही अनमीव हेल्थबाटै डिस्चार्ज गरिनेछ ।

अनमीव अस्पतालको मुख्य कन्सेप्ट सकेसम्म शल्यक्रियाबिना उपचार गर्न सकियोस् भन्ने रहेको डा. पाण्डेले बताए । ‘त्यसका लागि फिजियोथेरापी, लाइफस्टाइल परिवर्तन, एक्टीभिटी मोडिफिकेसनलगायतका कुरा गर्ने हो,’ उनले थपे, ‘हामी प्रिभेन्टीभ हेल्थकेयरमा जोड दिन्छौं ।’ अनमीवमा त्यसैका लागि भनेर रोबुस्ट फिजियोथेरापी क्लिनिक बनाइएको छ । दुर्घटनामा परेर हड्डी भाँचिएका, लिगामेन्ट नै च्यातिएका, स्पोर्टस इन्जुरी भएका, हिप ज्वाइन्ट र घुडा खिइएर हिड्न नसक्ने बिरामीहरुको मात्रै शल्यक्रिया गर्ने डा. पाण्डेले बताए ।

अनमीवले प्रिभेन्टीभ अर्थोपेडिक्सका रुपमा हड्डी खिइएको, टेन्डीनोप्याथी टेन्डनहरुमा डिजेनेरेशन भएको अवस्थामा स्पेनको बायोटेक्नोलोजी इन्स्टिच्युट वार्सिलोनाले बनाएको पीआरजीएफ एन्डोरेट (प्लाज्मा रिच ग्रोथ फ्याक्टर एन्डोरेट) सिष्टम ल्याएको छ । यो सिष्टममा बिरामीको रगतबाट प्लेटलेट्सहरु निकालेर त्यसलाई एक्टीभेट गरेर बिरामीको इन्ज्युरी भएको घुँडा, टेन्डेनमा र लिगामेन्टमा हाल्ने व्यवस्था गरिएको छ । ‘यसले लिगामेन्टको चाँडो हिल हुने, निको हुने, घुँडाहरु खिइनलाई ढिलो हुने हुन्छ,’ डा. पाण्डेले भने ।

यसैगरी, अनमीवले बिरामीको जोर्नीमा धेरै असर नपरोस्, जोर्नी लामो समयसम्म टिकोस भन्ने अभिप्रायःले कीबुन टेक्नोलोजीको विशेष जुत्ताहरु पनि व्यवस्था गरेको छ । ‘यो प्रिभेन्टीभ अर्थोपेडिक्सको अभिन्न अंग हो र स्पेशल सिष्टम हो’ उनले भने । यससँगै पैताला दुख्ने, टेनिस एल्बो (एल्बोमा दुख्ने), टेन्डनहरुमा धेरै नै पीडा हुने, हिड्न नसक्ने, पैतालाको कक्षमा दुख्ने त्यस्तोलाई दुखाइ कम गर्ने औषधि बिना अथवा सुइँ नलगाइकन स्वीटजरल्याण्डमा बनेको डियोलीथ अथवा एक्स्ट्रा कर्पोरियल सक्ड पेनको मद्धतबाट विधी पनि अनमीव हेल्थमा छ ।

‘हाम्रो मुख्य उद्देश्य कसरी बिरामीको पीडालाई कम गर्ने, कसरी ठूलो विधी प्रयोग नगरीकन र मल्टीपल इन्जेक्सनहरु नलगाईकन बिरामीको क्रियाकलापलाई पहिलेकै अवस्थामा ल्याउने भन्नेमा बढी केन्द्रीत हुनु हो,’ डा. पाण्डेले थपे, ‘यो हिसाबले हामी अहिलेको लिडिङ हेल्थकेयर फ्यासिलिटीलाई अनमीव अस्पतालमा समायोजन गरेर लैजाने तरखरमा छौं ।’

अनमीव अस्पताल

पाँच तले भवनमा शल्यक्रिया गर्ने ठाउँसहितको सिंगल बेड र डबल बेड गरेर १५ शैय्याको अनमीव अस्पताल विकास गरिएको छ । त्यसबाहेक अस्पतालमा दुई वटा अत्याधुनिक शल्यक्रिया कक्ष छन् । ‘नेपालको हेल्थकेयरमा क्रान्ति ल्याउने उद्देश्यका साथ इनोभेसन टेक्नोलोजी (मोर्डन मेडिसिनमा चाहिने उपकरण), शल्यक्रियामा बिरामीलाई र स्टाफहरुलाई दिनुपर्ने सेफ्टीलाई केन्द्रमा राहेर आईपीटी ब्लक बनाएका छौं,’ डा. पाण्डेले भने ।

अनमीव अस्पतालको दुवै अप्रेशन थियटरमा एयर ह्याण्डलिङ युनिट र आउट डोर युनिट फरक छ । यसले अप्रेशन थियटरभित्र भएको ७५ प्रतिशत हावालाई फेरि ब्याक लगेर फिल्टर गरेर पठाउँछ । फिल्टर गर्दा ०.०३ माइक्रोनभन्दा ठूलो पार्टीकल अप्रेशन थियटरमा आउँदैन् । ब्याक्टेरियाको साइज ०.०३ हुने भएकाले त्यो र त्योभन्दा माथिको साइज आउन नदिँदा मेजर ब्याक्टेरियल इन्फेक्सनलाई रोक्न सकिने उनले सुनाए ।

राम्रो शल्यक्रिया गर्ने र बिरामीको सेफ्टीलाई ध्यान दिने हो भने क्वालिटी एयर एकदमै महत्वपूर्ण हुन्छ भने पोजेटिभ एयर प्रेसरको अर्को महत्वपूर्ण रोल रहन्छ । अनमीव अस्पतालको शल्यक्रिया कक्षमा ‘भर्टिकल लेमिनर एयर फ्लो’को व्यवस्था गरिएको छ । ‘भर्टिकल लेमिनर फ्लो हुँदाखेरि बिरामीको शरीरमा पोजेटिभ एयर प्रेसर आउने भएकाले यो होरिजेन्टल एयर फ्लोभन्दा उत्तम मानिन्छ,’ डा. पाण्डे भन्छन्, ‘जमिनबाट हावा बिरामीतिर आउनु त्यो नेगेटिभ एयर प्रेसरको कन्सेप्ट हो । बाहिरबाट भित्र हावा आउने भएकाले त्यो शल्यक्रिया गर्ने बिरामीका लागि फाइदाजनक नहुने भएकाले हामीले भर्टिकल मोडयुलर भेन्टिलेसनको व्यवस्था गरेका हौं ।’ अनमीव अस्पतालमा विगत दुई महिनामा ८५ वटा शल्यक्रिया भइसकेका छन्, एउटा पनि इन्फेक्सन छैन । जसमा पाँच वटा घुँडाको जोर्नी प्रत्यारोपण पनि छन् । त्योबाहेक समयमा एन्टीबायोटिक प्रयोग अर्को महत्वपूर्ण कुरा भएको डा. पाण्डेले बताए ।

त्यसबाहेक अनमीव अस्पतालले सर्जरीमा प्रयोग हुने उपकरण र सामाग्रीको फ्लोलाई पनि निकै व्यवस्थित रुपमा मिलाएको छ । ‘फ्लो अफ इक्वीपमेन्टलाई पनि हामीले निकै व्यवस्थित रुपमा मिलाएका छौं,’ उनले थपे, ‘त्यहीकारण मल्टीपल ठाउँमा गएर इक्वीपमेन्ट अरुलाई भेटिरहनु परेन । एउटा रिङरोड सर्कलमा हामीले बगाएका छौं ।’

अझ महत्वपूर्ण कुरा त के भने अनमीव अस्पतालले शल्यक्रिया कक्ष भएको फ्लोरमा वाथरुम राखेको छैन । वाथरुमको आवश्यकता परेमा एक फ्लोर तल जानुपर्नेछ भने बिरामीलाई बाथरुमको आवश्यक परेमा त्यसलाई विशेष व्यवस्थापन गरिएको छ । अझ रोचक त के भने शल्यक्रिया कक्षमा पानीबाहेक अन्य खानेकुरा ल्याउन र खान बन्देज लगाइएको छ । ‘धेरै ठाउँमा यो कुरा ख्याल गरिएको पाइदैंन तर हामीले सिकेर यो व्यवस्था मिलायौं,’ डा. पाण्डे कारण खोल्छन्, ‘कसरी समस्या मिनिमाइज गर्ने सिकेर गर्‍यौं ।’

यो आईपीडी ब्लकमा बिरामी भर्ना भएर बस्ने कोठालाई पनि एटेच बाथरुमसहित सुविधासम्पन्न बनाइएको छ । युरोपबाट मगाइएका विशेष बेड, सोफा (बेडसुविधासहित) र फ्रीजको सुविधा छ । बेडमा बिरामीलाई उठ्न असजिलो नहोस् भनेर सिलिङ राखिएको छ, ट्रमा बिरामीलाई तानतुन पार्न लागि छुट्टै व्यवस्था गरेर सजिलो हुने बाटो अवलम्बन गरिएको छ ।

भविष्यमा बिरामीको चाप बढेमा प्रशस्त जग्गा भएकाले इमर्जेन्सीका लागि छुट्टै भवन बनाउने योजना पनि अस्पताल व्यवस्थापनको छ । तर, ऋण वा पार्टनर खोज्ने योजना भने डा. पाण्डेको छैन । बरु, सबै काम सकिएपछि अस्पतालको एउटा छुट्टै एम्बुलेन्स लिने तयारी छ । बिरामीलाई दुःखी नबनाउने र आफ्नो लक्ष्यमा काम गर्न सकिएमा सबै राम्रो हुँदै जाने उनी ठान्छन् ।

बुटिक होटल

२ रोपनी क्षेत्रफलमा फैलिएको लक्जरी बुटिक होटललाई अस्पतालकै अंगको रुपमा विकास गरिएको छ । ९ वटा कोठाको लक्जरी बुटिक होटल पुनःस्थापना केन्द्र (रिह्यालिबिटेसन सेन्टर)का रुपमा प्रयोग गरिने डा. पाण्डेले जानकारी दिए । छोटो समय र मध्यम समय बस्न मिल्ने गरी तयार पारिएको यो बुटिक होटललाई उपचारपछिको निको हुने समयसम्म बस्नका लागि तयार पारिएको हो ।

‘शल्यक्रिया गर्नसाथ आजको भोलि कसैलाई निको हुँदैन्, कुनै बिरामीका परिवार युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलियामा हुन्छन्, उनीहरुका परिवार र आफन्तको उपचार गर्नुपर्छ,’ उनले कारण खोले, ‘नेपालकै पनि पश्चिमको दार्चुला र पूर्वको पाँचथरदेखिका दुर्गम क्षेत्रबाट उपचार गर्न आउनेहरुका लागि केही दिन बस्नुपर्‍यो भने बस्ने र रिह्यालिबिटेसनका लागि यो छुट्टै ठाउँ हो ।’

छोटो र मध्यम समय बसेर स्वास्थ लाभ गराउनका लागि अपार्टमेन्टजस्तै सुलभ शुल्कमा बुटिक होटलका रुमहरु अस्पतालले उपलब्ध गराउनेछ । ‘अस्पताल नजिकै भएकाले त्यहाँ गएर बिरामीलाई हेरिदिन पनि मिल्यो,’ उनले भने, ‘फिजियोलगायतका सेवाहरु लिन पनि टाढा जान परेन ।’

त्यसबाहेक मनोरम प्राकृतिक वातावरण र फराकिलो गार्डेनसहित सुविधामा प्रत्येक दिन मोटिभेसनजस्ता सुविधाहरु पनि हुनेछन् । उपचारपछि निको हुने समयसम्म सहज होस् भन्ने हेतुले यो बुटिक होटललाई अस्पतालको अंगका रुपमा विकास गरिएको हो । यहाँ बस्दा बिरामीलाई पटक—पटक अस्पताल आउनका लागि पर्ने यातायात खर्च समेत जोगिनेछ ।

सपनाको सपना

तीन वर्षमा डा. पाण्डे अधिकांश समय बिरामीको उपचारमै तल्लीन रहे । अनमीव अस्पताल, अनमीव हेल्थसहित बुटिक होटलको साजसज्जा, गार्डेन, जनशक्ति व्यवस्थापन सबै उनकी श्रीमती सपनाले आफ्नो ड्रिम प्रोजेक्टका रुपमा गरेकी हुन् । स—साना कुराहरुलाई जोडजाड गर्दै उनले गार्डेन, वाल, भर्‍याङदेखि कोठाका भित्ता र पर्दाहरुमा पनि नयाँ—नयाँ प्रयोग गरेकी छन् ।

‘एक्सीपिरिमेन्ट गर्दै मैले अनमीवलाई यो सुन्दर ढाँचामा फिट गरेकी हुँ,’ उनले भनिन्, ‘अस्पतालका तन्ना, खोलदेखि झ्याल र सिढीसम्मको कलर बिरामीलाई अस्पताल आएको जस्तो अनुभव नहुने गरी छनोट गरेकी छु ।’ त्यही कारण अनमीव अस्पतालमा सेतो र निलो रंगलाई त्यति प्राथमिकता दिइएको छैन । सरसफाइ, छरितो सेवाजस्ता कुराहरुमा पनि उनले जोड दिइरहेकी छन् ।

श्रीमतीले सपनाले व्यवस्थापनका सबै कुरा हेरिदिएपछि डा. पाण्डेलाई पढ्ने, लेख्ने र बिरामी उपचारमा मात्रै ध्यान दिने वातावरण बनेको छ । पढाइबिना केही हुँदैंन भन्ने मान्यता र विश्वासका साथ डा. पाण्डेले अस्पतालमै क्लास रुमको व्यवस्था गरेका छन् । जसका कारण हेल्थकेयर अहिले उनका लागि पार्टअफ लाइफजस्तै भएको छ ।

‘सपनाले नर्सिङलगायतका अन्य पक्षलाई उत्कृष्ट समायोजन गरेर ड्रिम होमजस्तै वातावरण व्यवस्था मिलाइदिइन्,’ डा. पाण्डे भन्छन्, ‘जसका कारण डाक्टरहरुलाई काम गरे पुग्ने अवस्था सिर्जना भएको छ । हामीले अहिले पढ्न पायौं, क्लास गर्न पाएका छौं ।’ उनले मेडिकोज र ननमेडिकोज उत्कृष्ट संयोजन अनमीवमा रहेको बताए ।

खाली मेडिकल टिमले मात्रै हस्पिटल चल्न सक्दैंन भन्ने कुरा डा. पाण्डेलाई महाभूकम्पले सिकाएको शिक्षा हो । ‘अर्थक्वेकमा डाक्टर जिरो भयो,’ उनले भने, ‘किनभने, इन्फ्रास्ट्रक्चर कोल्याप्स भयो । त्यो बेला इन्फास्ट्रक्चर चलाउने भनेका मेडिकल इन्जियर, इलेक्ट्रीसियन, पलम्बरमात्रै भए ।’ त्यही कारण अनमीव अस्पतालले अहिले डाक्टर, नर्ससँगै टेक्नीसियन र अलाइड डिभिजनहरु (इलेक्ट्रीसियन, एयर कन्डिसनर, फायर फाइटिङ)लाई एक टिमका रुपमा अगाडि बढाएको छ ।


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #अनमीव अस्पताल, #अनमीव हेल्थ, #ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, #डा. चक्रराज पाण्डे


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ