२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी

ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी


पोखरा – पोखराको जिरोकिमीस्थित रिजनल हस्पिटलमा ओठ तथा तालु फाटेका १७ जना बालबालिकाको नि:शुल्क प्लास्टिक सर्जरी गरिएको छ । गण्डकीका दूर्गम गाउँबाट स्क्रीनिङ गरी ५० जना बालबालिकामा उक्त समस्या भएको पत्ता लागेको भए पनि १७ जनाको मात्रै सर्जरी गरिएको अस्पतालले जनाएको हो ।

स्माइल ट्रेन्डको सहयोगमा रिजनल अस्पताल तथा बि एन बि अस्पतालको सहकार्यमा प्लास्टिक सर्जरी गरिएको अस्पतालका व्यवस्थापक अर्जुन शर्माले बताए । शर्माका अनुसार रिजनल अस्पतालमा यसप्रकारको सर्जरी पहिलो हो ।

बालबालिकामा तौल, उमेर लगायत विभिन्न मापदण्ड नपुगेका कारण अन्यको सर्जरी नभएको र वातावरण मिलाएर गर्न सकिने बताइएको छ । सर्जरी बेहोस गराएर गर्नुपर्ने भएकाले १ वर्ष उमेर पुगेको हुनुपर्छ । सर्जरी गरिएका १७ जना १ देखि १४-१५ वर्षसम्मका रहेका छन् । केहीको भने पटक पटक सर्जरी गर्नुपर्ने पनि हुनसक्ने हुन्छ ।

गत वैशाख जेठमा नै गर्ने तयारी गरिएको भए पनि कोभिडका कारण हालै मात्र सर्जरी गरिएको शर्माले बताए । यसअघि गरिएको स्क्रीनिङ शिविरमा बागलुङ, स्याङ्जा, तनहुँ, कास्की लगायत जिल्लाबाट ओठ तथा तालु फाटेका बिरामी पत्ता लागेका हुन् । यसप्रकारका बिरामी पत्ता लगाउन स्वयंसेविका, अपांगतासम्बन्धी संघसंस्थासँग सहकार्य गर्न सहयोगी संस्था स्माइल ट्रेन्डलाई सुझाव दिइएको व्यवस्थापक शर्माले उल्लेख गरे ।

दूर्गम ठाउँहरुमा ओठ तथा तालु फाटेका बालबालिका भेटिए पनि उनीहरु सर्जरी गर्न तयार नहुने गरेको भेटिएको छ । यस्तो हुनु लक्की हुनु, वा शुभ हुने संकेतका रुपमा लिने अन्धविश्वासले अझै पनि यस्ता समस्या भएका बिरामी रहेको शर्मा बताउँछन् ।

यो अन्य रोगजस्तो नभएका कारण पनि तत्काल सर्जरी गर्न नचाहने हुनाले पनि सबै बिरामीको सर्जरी नभएको हुनसक्ने शर्मा बताउँछन् । व्यवस्थापक शर्मा जन्मजातै ओठ तथा तालु फाटेका मानिस देशभरबाट जहाँ भए पनि बिरामीको अनुकूलतामा सर्जरी गर्ने सुविधा हुने बताउँछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ