२०८३ असार १, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट

गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट


काठमाडौं—गण्डकी प्रदेश सरकारले स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । सोमबार गण्डकी प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिएका हुन् ।

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालको सेवा विस्तार र सुदृढीकरण तथा गण्डकी आयुर्वेद अस्पताल कास्कीको भवन निर्माणका लागि प्रदेश सरकारले ६ करोड रुपैयाँ बिनियोजन गरेको छ । यस्तै, मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुर र गोरखामा सिटी स्क्यान खरिदका लागि १० करोड रुपैयाँ र प्रदेश मातहतका अस्पतालमा एम्बुलेन्स खरिदका लागि ३ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

गण्डकी सरकारले ‘वर्तमान स्वास्थ्य सरोकार, नसर्ने रोगको पहिचान र उपचार’, ‘हरेक विहान योग र ध्यान’, ‘मातृ र नवशिशु स्वास्थ्यमा सुधार, समुन्नत भविष्यको मूल आधार’, ‘स्वस्थ मुटु, सुन्दर भविष्य’ जस्ता कार्यक्रमहरु सञ्चालन गर्न बजेट बिनियोजन गरेको अर्थमन्त्री शेरचनले बताए ।

यस्तै, महामारीको पूर्व तयारी र प्रतिकार्यका लागि २ करोड रुपैयाँ, रगत तथा रक्तजन्य पदार्थको निःशुल्क उपलब्धता, क्यान्सर रोगको उपचारमा आर्थिक सहायता, स्वास्थ्य बीमा कार्यक्रम र जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारका लागि ६ करोड ६० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

अर्थमन्त्री शेरचनले महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्तालाई निरन्तरता दिएको, आधारभूत अस्पतालमा मेडिकल अधिकृतको व्यवस्था, सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि बजेट बिनियोजन गरेको बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ