२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टनयाँ स्वास्थ्य मन्त्रीले रोक्नुपर्ने स्वास्थ्य खरिदको एक अर्बको चलखेल

नयाँ स्वास्थ्य मन्त्रीले रोक्नुपर्ने स्वास्थ्य खरिदको एक अर्बको चलखेल

बनिनसकेका आधारभूत अस्पतालका लागि अगाडि बढाइएको ३ अर्ब १७ करोडको स्वास्थ्य सामाग्री खरिदमा मिलेमतोको आशंका


काठमाडौं—स्वास्थ्य सेवा विभागले अगाडि बढाएको ३ अर्ब बढीको स्वास्थ्य सामाग्री तथा उपकरण खरिदमा करोडौं चलखेल भएको आशंका गरिएको छ । विभाग स्रोतबाट हेल्थआवाजलाई प्राप्त विवरणअनुसार २१ फागुनसम्म ३ अर्ब १७ करोड रुपैयाँको खरिद प्रक्रिया अगाडि बढाइएको छ । जुन खरिद प्रक्रिया अधिकांश स्पेशिफिसकेन लक्ड भएका कारण करोडौं रुपैयाँको आर्थिक चलखेल आशंका गरिएको छ ।

आइतबार रातिको तीब्र राजनीतिक दौडधुपपछि नयाँ सत्तारुढ गठबन्धन बनेको छ । अब स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत पूर्व हुने तयारीमा छन् । उनको ठाउँमा आउने स्वास्थ्य तथा जनसंख्यामन्त्रीले विश्व बैंकको ऋणमा किन्न लागिएका सामानमा भएको चलखेललाई रोकेर स्वास्थ्यमा हुने बेथितीलाई रोक्नुपर्ने चुनौती छ ।

विभाग स्रोतकाअनुसार १ अर्ब ६६ करोड ८० लाख रुपैयाँ बराबरको बोलपत्र समेत विभागको व्यवस्थापन महाशाखाले स्वीकृत गरिसकेको छ । जसमध्ये ३० करोड रुपैयाँको २ सय वटा अल्ट्रासाउण्ड किन्नका लागि म्याक्स मेडिटेकको २९ करोड ९६ लाख रुपैयाँ टेण्डर स्वीकृत गरिसकेको छ । उक्त टेण्डर म्याक्स मेडिटेकलाई दिलाउनका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतका गाउँले यज्ञ भण्डारीले सहजीकरण गरेको विभाग स्रोतको दावी छ ।

अर्को १० करोड रुपैयाँको नाइटिक अक्साइड मेसिन म्याक्सिम इनकर्पोरेटलाई ९ करोड ९६ हजार रुपैयाँमा ठेक्का स्वीकृत गर्न लागिएको छ । उक्त कम्पनी युवा संघका नेता भनेर चिनाउने सुन्दर भुसालको हो । एमालेनिकट भनेर आफूलाई चिनाउँदैं आएका भुसालले स्वास्थ्यमन्त्री बस्नेतका नातामा भाइ पर्ने राजकुमार बस्नेतमार्फत उक्त ठेक्का हात पार्ने दौडमा छन् । भुसालकै कम्पनी म्याक्सिमलाई नै ४ वटा एक्स्ट्रा कर्पोरियल मेब्रेन अक्सिजेनेसन मेसिन ९ करोड ४० लाख रुपैयाँमा ठेक्का दिने निश्चितप्रायः भइसकेको स्रोतको दावी छ ।

स्वास्थ्यमन्त्रीका भाइ राजकुमारकै सहजीकरणमा जीएच मेडिहेल्थ कन्सर्नलाई कोल्पोस्कोप र थर्मोक्वागुलेसन मेसिन १४ करोड ८० लाख रुपैयाँ र टेष्ट एनालाइजर ५ करोड ५५ लाख ८० हजार रुपैयाँमा ठेक्का दिन लागिएको छ । जीएच मेडिहेल्थ कन्सर्नका संचालक मुकुन्द गौतम हुन् ।

मन्त्रीका गाउँले तथा सिन्धु सर्जिकलका मालिक यज्ञ भण्डारीको सहजीकरणमा ल्याबलाइन ट्रेडर्सलाई २ करोड ६५ लाख ३२ हजारमा पाँच प्रकारका प्रयोगशाला मेसिन खरिदको ठेक्का स्वीकृत गरिएको छ ।

कृष्ण इन्टरनेशनललाई ७ करोड ८० लाख रुपैयाँको बेड खरिदमा ७ करोड ५० लाख रुपैयाँमा ठेक्का स्वीकृत भइसकेको छ । विभागस्रोतकाअनुसार यसको सहजीकरण पनि स्वास्थ्यमन्त्री बस्नेतका भाइ राजकुमारले नै गरेका हुन् ।

यज्ञ भण्डारीकै सहजीकरणमा ल्याबलाइन ट्रेडर्सलाई २ करोड ५० लाख रुपैयाँमा ह्वीलचेयर खरिदको ठेक्का दिइएको छ । खरिद प्रक्रियाका खेलाडी भनेर चिनिने व्यवस्थापन महाशाखाका खरिद एकाई प्रमुख डा. सुरेन्द्र चौरासियाकै सहजीकरणमा रेभाची इन्टरनेशनलाई १२ करोड ८० लाख रुपैयाँको थेराप्युटिक फुड खरिद १० करोड ९३ लाख २० हजार ८४० रुपैयाँमा ठेक्का स्वीकृत गरिएको छ ।

विभागले थप १३ वटा खरिदका लागि बोलपत्रहरु प्रकाशित गरिसकेको छ । विभाग स्रोतबाट प्राप्त तथ्यांकअनुसार १ अर्ब २९ करोड ८७ लाख रुपैयाँ बराबरको यो खरिदका लागि अधिकांश बोलपत्र लक्ड छन् । लक्ड गरेर प्रकाशित गरेका बोलपत्रहरु निश्चित कम्पनीलाई पर्ने गरी स्पेसिफिकेसन तयार गरिएको व्यवसायीहरु बताउँछन् ।

२५ करोडमा खरिद गर्न लागिएको एक्स—रे मेसिनमा १० करोड हाराहारीमा कमिसन राखेर खरित गर्ने तयारी छ । सो सामाग्री स्पेशिफिकेसन यज्ञ भण्डारीको सिन्धु सर्जिकललाई मिल्ने गरी लक्ड गरिएको छ । त्यसैगरी, ८ करोड ८० लाख रुपैयाँ बराबरको ल्याब उपकरणमा शशी श्रीवास्तवको पर्सा सर्जिकललाई पर्ने गरी स्पेसिफिकेसन तयार गरिएको छ । ६ करोड ८० लाख रुपैयाँको इण्डोस्कोपिक अल्ट्रासाउण्ड उमेश शर्माको नेशनल इलेक्ट्रोनिक्सनलाई दिने तयारी छ ।

७ करोड ६० लाख रुपैयाँको ईएनटी सामाग्री अमर श्रेष्ठको एचएमटी कम्पनीका लागि लक्ड स्पेशिफिकेसन तयार पारिएको विभाग स्रोत बताउँछ । १० करोड रुपैयाँको सीआर्म मेसिन विमल उप्रेतीको म्याक्स मेडिटेक, ४ करोड ८० लाख रुपैयाँको परिवार नियोजन साधन र ४ करोड ५० लाख रुपैयाँको एआरभी एण्ड आरआईजी सिपी सुवेदीको एक्सेल फर्मालाई दिने योजना छ ।

१३ थान हेमाटोलोजी एनालाइजर र रिएजेन्ट गरी ८ करोड ८० लाख रुपैयाँको क्लोज स्पेसिफिकेसनमा र हेमाटोलोजी एनालाइजर ९ करोड २० लाख रुपैयाँमा सुन्दर भुसालको म्याक्सिम इन्टरप्राइजेजलाई दिने योजनाअनुसार काम अन्तिम चरणमा छ । वीर अस्पतालका कोभिड—१९ खरिदमा विवादित बनेका भुसालकै कम्पनीलाई १२ करोड रुपैयाँको म्यामोग्राफी मेसिन, १२ करोड ८० लाख रुपैयाँ मोनिटर, एनेस्थेसिया र ओटी इक्वीपमेन्ट खरिदको ठेक्का दिने तयारी छ ।

३ करोड रुपैयाँको डेन्टल इक्वीपमेन्टका खरिदका लागि उमेश अग्रवालको नेशनल इलेक्ट्रोटेकलाई ठेक्का दिने तयारी छ भने २५ करोड २० लाख रुपैयाँको एबोर्ट कम्पनीको बायोकेमेष्ट्री एनालाइजर मेसिन ल्याउने गरी लक्ड स्पेश बनाइएको छ । जसको स्थानीय एजेन्ट यज्ञ भण्डारीको ल्याबलाइन हो ।

यी सबै खरिद प्रक्रियामा मन्त्रीका भाइ राजकुमार बस्नेत, गाउँले तथा सप्लायर्स यज्ञ भण्डारी, विभागका खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले संयोजन गरिरहेका छन् । खरिदमा सहजीकरणको गरेको भनिएका व्यवसायी भण्डारीले आफूलाई विभागमा कसैले नचिन्ने र आफू विभागमा पनि नगएको बताए । ‘त्यो रे भन्ने हल्लामात्रै हो । मैले एक रुपैयाँको बिल पनि पठाएको छैन्,’ उनले भने, ‘यो हल्ला निराधार हो । म विभागमा गएको पनि छैन, मलाई त्यहाँ कसैले चिन्न पनि चिन्दैनन् । त्यही विभागमा गएर सोध्नुहोला ।’ यस विषयमा मन्त्रीका नातेदार भाइ राजकुमारलाई सम्पर्क गर्न खोज्दा उनको फोन भने स्वीच अफ गरिएको थियो ।

यी खरिद प्रक्रियामा औसतमा २० देखि ३० प्रतिशतसम्म कमिसनको चलखेल भएको विभाग स्रोतको दावी छ । ‘झण्डै ३ अर्ब १७ करोडको यो खरिद प्रक्रियामा १ अर्ब हाराहारीमा कमिसनको चक्कर छ,’ विभाग स्रोतले भन्छ, ‘अधिकांश स्पेसिफिकेसन लक्ड गरिएको छ । अब नयाँ मन्त्रीले यो कमिसनको चक्करलाई रोक्न सकेनन् भने ऋणमा आएको पैसा कमिसनमा सकिन्छ ।’

खरिद शाखामा प्रमुख डा. चौरासियाले अहिलेसम्म ११—१२ खरिदका ठेक्का टुंगिएको बताए । ‘अहिलेसम्म हामीले ११—१२ वटा खरिदका ठेक्का टुंग्याएका छौं,’ उनले भने, ‘झण्डै आधा जति ठेक्का प्रक्रिया सकिएको छ ।’ नेपाल सरकारले विश्व बैंकबाट कोभिड सामाग्री खरिदका लागि २ अर्ब ४२ करोड ऋण लिएको छ । सोही ऋणबाट स्थानीय तहमा बन्दैं गरेका आधारभूत अस्पतालका लागि भन्दैं सामाग्री खरिद प्रक्रिया अगाडि बढाइएको हो । २ अर्ब ४२ करोड रुपैयाँ विश्व बैंक ऋणसँगै नेपाल सरकारको नियमित खरिद ८३ करोड रुपैयाँसमेत गरेर स्वास्थ्यको यो खरिद झण्डै ३ अर्ब २५ करोड बढीको छ ।

बस्नेत स्वास्थ्यमन्त्री भएसँगै उनले अनावश्यक खरिद प्रक्रिया अगाडि नबढाउने सार्वजनिक प्रतिवद्धता जनाएका थिए । तर, बनिनसकेका आधारभूत अस्पतालका भन्दैं उनले गत साउनबाट कसिमनको चक्करमा यति ठूलो खरिद प्रक्रिया द्रुत गतिमा अगाडि बढाउन लगाएका हुन् । त्यसका लागि उनले आफूलाई अनुकूल कर्मचारीहरु खरिदमा लगेका थिए । मन्त्री बस्नेतले चाहेजस्तो गतिमा खरिद प्रक्रिया अगाडि नबढेपछि २४ पुसमा वीर अस्पतालबाट डा. श्रवण थापालाई व्यवस्थापन महाशाखाको निर्देशक बनाएर लगेका थिए । उनी जानुभन्दा अघि ३० करोड रुपैयाँ बराबरको ठेक्कामात्रै टुंगो लागेको थियो । डा. थापा व्यवस्थापनमा गएसँगै थप १ अर्ब ३० करोड बोलपत्र स्वीकृत भइसकेको छ । यस्तै, १ अर्ब २९ करोड ८७ लाख रुपैयाँ बराबरको सामाग्री खरिदका लागि स्पेशिफिकेसन लक्ड भइसकेको छ ।

२८ भदौंमा हेल्थआवाजले यसअघि ३ अर्ब २५ करोड रुपैयाँ बढी खरिद प्रक्रियामा कसरी ठूलो कमिसनको चलखेल हुन लागेको छ भन्ने विषयमा ‘पूर्वाधार र जनशक्ति बिनै ३ अर्ब २५ करोडको स्वास्थ्य सामाग्री खरिदमा किन गरिदैंछ हतार ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

यो पनि पढ्नुहोस्

बनिनसकेका अस्पतालका लागि २ अर्ब बढीको स्वास्थ्य सामाग्री खरिद गर्दै स्वास्थ्य मन्त्रालय

पूर्वाधार र जनशक्तिबिनै ३ अर्ब २५ करोडको स्वास्थ्य सामाग्री खरिदमा किन गरिदैंछ हतार ?


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ