२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबनिनसकेका अस्पतालका लागि २ अर्ब बढीको स्वास्थ्य सामाग्री खरिद गर्दै स्वास्थ्य मन्त्रालय

बनिनसकेका अस्पतालका लागि २ अर्ब बढीको स्वास्थ्य सामाग्री खरिद गर्दै स्वास्थ्य मन्त्रालय


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्माण नै नसकिएका आधारभूत अस्पतालका लागि २ अर्ब रुपैयाँभन्दा बढीका स्वास्थ्य सामाग्री खरिद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालय स्रोतकाअनुसार स्थानीय तहका बनिसकेका र बन्दैं गरेका आधारभूत अस्पताल संचालन गर्न र अन्य अस्पतालको सेवा विस्तारका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद् योजना स्वास्थ्य सेवा विभागले पास गरिसकेको छ ।

पहिलो चरणमा भोलि नै ११ करोड ७१ लाख रुपैयाँको खरिद्का लागि टेण्डर खुलाइदैंछ । शनिबार बसेर विभागको टिमले खरिद योजना पास गरेको हो ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री भएलगतै झण्डै १ अर्बको खरिद प्रक्रिया स्थगित गरिदिएका थिए । तर, नयाँ आर्थिक वर्ष सुरु भएलगतै उनकै रुचिमा स्थानीय तहमा बनेका, बनिरहेका र निर्माणको काम नै सुरु नभएका अस्पतालका लागि र अन्य अस्पतालहरुको सेवा विस्तारका लागि ठूलो मात्रामा स्वास्थ्य सामाग्री खरिद गर्न लागिएको हो ।

स्वास्थ्य सेवा विभागले महानिर्देशकस्तरीय निर्णयबाट खरिद योजना स्वीकृत गरेको हो । विभागको खरिद सूचीमा ६० देखि ७० वटा स्वास्थ्य सामाग्री छन् । जसमा वेड, मोनिटर, प्रयोगशाला सामाग्री, एक्स रे, इसिजीलगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।

मन्त्री बस्नेत र उनी निकटहरुले खरिद प्रक्रिया चाँडो अगाडि बढाउन स्वास्थ्यका सम्बन्धित अधिकारीहरुलाई दबाब दिइरहेका छन् । एक अधिकारीकाअनुसार आफ्नो सचिवालयबाट आफूले भनेअनुसार खरिदको काम नगरे खरिदको टिम नै परिवर्तन गर्ने सन्देश पनि मन्त्रीले दिएका छन् । स्थानीय तहमा बनेका आधारभूत अस्पताल संचालनका लागि जनशक्तिको चरम अभाव छ भने भौतिक पूर्वाधार पनि सम्पन्न भइसकेको छैन ।

तर, मन्त्री बस्नेत रुची जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणको काम सक्नेभन्दा पनि स्थानीय तहसँग समन्वय नगरेरै त्यहाँ संचालन हुने अस्पतालका लागि पनि स्वास्थ्य सामाग्री खरिदमा छ । अहिलेसम्म एउटा पनि आधारभूत अस्पताल निर्माण सम्पन्न भएर हस्तान्तरण भएको छैन । १४ वटा अस्पतालले मात्र निर्माण चरणको चौथो (अन्तिम) किस्ता पाएका छन् ।

मन्त्री भएलगतै कुनै पनि खरिद प्रक्रिया आवश्यकताका आधारमा मात्रै गर्ने भनेर खरिद प्रक्रिया रद्ध गरेका मन्त्रीले अहिले पूर्वाधार र जनशक्ति तयारी नहुँदैं यति ठूलो खरिद प्रक्रिया अगाडि बढाउनुले ठूलो आर्थिक चलखेलको आशंका जन्माएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ