२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टडब्लुएचओले ८ महिनामा ११३ पटक स्वास्थ्यका ३०१ कर्मचारीलाई घुमायो विदेश (सूचीसहित)

डब्लुएचओले ८ महिनामा ११३ पटक स्वास्थ्यका ३०१ कर्मचारीलाई घुमायो विदेश (सूचीसहित)

१ सय ७९ वटा मनोनयनमा ४४२ जना उडे, अधिकांश थाइल्याण्ड, भारत, स्वीटजरल्याण्ड र इन्डोनेसिया


काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पछिल्लो ८ महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ सय १ कर्मचारीलाई विभिन्न देश भ्रमण गराएको छ । विभिन्न कार्यक्रमका नाममा सचिवदेखि मन्त्रालय, विभाग र अन्य तहका कर्मचारीलाई भ्रमण गराएको हो ।

१ बैशाख २०८० देखि १५ मंसिर २०८० सम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेसिक भ्रमणका लागि १ सय ७८ वटा भ्रमण स्वीकृत भएकोमा डब्लुएचओले आयोजना गरेका कार्यक्रममा जाने १ सय १३ वटा भ्रमण परेका छन् । दोस्रोमा युनिसेफका र युएनएफपीए आयोजक भएका १७ देशको भ्रमण स्वीकृत भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सिधा हेर्दा कर्मचारीलाई विदेश भ्रमण गराउने रकम युएन एजेन्सी वा दातृ निकायको जस्तो देखिएपनि त्यो भ्रमणमा खर्च भएको रकम नेपाल सरकारलाई दिने अनुदान भित्रकै हो । ‘विदेश भ्रमण डब्लुएचओ, युनिसेफ, युएनएफपीएलगायतका दातृ निकायले गराएको जस्तो देखिएतापनि यो नेपाली जनताका लागि भनेर आएको पैसा हो,’ नीति, योजना शाखाका एक अधिकारीले भने, ‘यो बजेट महालेखाले अडिट नगरेतापनि अर्थ मन्त्रालयसँग भएको सम्झौता रकमभित्र नै पर्न जान्छ ।’

ती अधिकारीका अनुसार विश्व स्वास्थ्य संगठनले विदेश भ्रमण गराएका ३ सय १ जनाको मात्रै खर्च झण्डै ९ करोड रुपैयाँ खर्च हुन आउँछ । वैदेशिक भ्रमणमा एक जना बराबर औसतमा ३ लाख रुपैयाँ खर्च हुने उनी बताउँछन् । ‘विदेश भ्रमण देशअनुसारको खर्च हुन्छ, आउने जाने बस्ने खाने गर्दा औसतमा एकजना बराबर कम्तिमा पनि २ लाख रुपैयाँ खर्च हुन्छ,’ उनी भन्छन्, ‘त्यसमा भत्तासमेत गर्दा झनै बढ्छ ।’ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको जेनेभा भ्रमणको मात्र नेपाल सरकारले खर्च व्यहोरेको छ । मन्त्रालय स्रोतका अनुसार जेनेभा गएर आएको मन्त्रीको ट्राभल खर्च मात्र ९ लाख २४ हजार ५ सय ७९ रुपैयाँ ४० पैसा ट्राभल एजेन्सीलाई बुझाइएको छ ।

८ महिनामा विदेश गएका अन्य ४ सय ४१ जनाको भने लैजाने आयोजक संस्थाले नै खर्च व्यहोरेको छ ।

मन्त्रालयबाट स्वीकत भएका वैदेशिक कार्यक्रममा सबैभन्दा बढी थाइल्याण्डका ३४ वटा, भारतका ३२, स्वीटजरल्याण्डका १८ र इन्डोनेसियाका १२ वटा रहेका छन् । त्यसैगरी, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिकालगायतका देशहरुको पनि कार्यक्रम स्वीकृत गरेको छ ।

हेल्थआवाज डटकमले सूचनाको हकअन्तर्गत माग गरेको सूचनामा मन्त्री र माथिल्लो तहका कर्मचारीहरुको वैदेशिक भ्रमणको तथ्यांक नराखिएको पाइएको छ । मन्त्रिपरिषदको निर्णय भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्वीटजरल्याण्ड १ पटक, भारत २ पटक, इजिप्ट १ पटक र युएई १ पटक भ्रमणमा गइसकेका छन् । तर, सो रेकर्ड मन्त्रालयमा छैन । उनी पहिलो पटक जेनेभा गएको तथ्यांक मात्र मन्त्रालयसँग छ । जबकी मन्त्रालयबाटै मन्त्री बस्नेत जेनेभा, भारत र इजिप्ट गएको झण्डै १६ लाख २१ हजार ८ सय ४५ रुपैयाँ ट्राभल एजेन्सीलाई भुक्तानी भइसकेको छ । त्यसबाहेक अन्य खर्च भने कहाँबाट भयो खुलाइएको छैन ।

त्यसो त प्रत्येक भ्रमणमा मन्त्री बस्नेतको सचिवालयका कोही न कोही छुटेका हुँदैनन् । केहीको विवरण मन्त्रालयले राखेतापनि धेरैको भने राखेको छैन । मन्त्रीको भ्रमणमा नछुट्ने व्यक्ति हुन्—उनका सल्लाहाकार विश्वरुप खड्का । तर, उनी १०–११ जुलाईमा जेनेभा गएकोबाहेक अन्य रेकर्ड माग गरिएको सूचनामा उल्लेख छैन । सो मितिमा तेस्रो अन्तर्राष्ट्रिय रिह्याविटेसन मिटिङमा अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा र खड्का सामेल भएका थिए ।

पछिल्लो ८ महिनामा सबैभन्दा बढी दाताको पैसामा विदेश भ्रमण गर्नेहरुमा मन्त्रालय र विभागका उच्च अधिकारीहरु नै रहेका छन् । अतिरिक्त सचिवसमेत रहेकी स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रा मन्त्रालयबाट निर्णय नै गराएर ५ पटक विदेश गएकी छन् । उनी ३–५ अप्रिलमा थाइल्याण्ड, २२–२४ मार्च थाइल्याण्ड, २४–२६ अप्रिल इङ्ल्याण्ड, ८–१२ मे भियतनाम र १०–११ जुलाई स्वीटजरल्याण्ड गएको तथ्यांकमा उल्लेख छ । ५ पटक नै विदेश जानेमा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल पनि रहेका छन् । उनी दक्षिण अफ्रिका, नयाँदिल्ली, स्वीटजरल्याण्ड, थाइल्याण्ड र नेदरल्याण्ड गएको उल्लेख छ ।

पछिल्लो ८ महिनामा ४ पटक विदेश जानेहरुमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंह, नीति, योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, गुणस्तर मापन महाशाखा प्रमुख डा. मदन उपाध्याय, समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास रहेका छन् । त्यसैगरी, इडिसिडीका डा. फडिन्द्र बराल र परिवार कल्याण महाशाखाका डा. अभियान गौतम पनि ४/४ पटक विदेश भ्रमणमा मनोनित भएका छन् ।

अतिरिक्त सचिवहरु डा. विकास देवकोटा र डा. टंक बाराकोटी ३/३ पटक र सचिव देवकुमारी गुरागाई २ पटक विदेश गएका छन् ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ