२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टओम हस्पिटलको ३९ प्रतिशत सेयर किनेर भाटभटेनी समूह भित्रिदैं

ओम हस्पिटलको ३९ प्रतिशत सेयर किनेर भाटभटेनी समूह भित्रिदैं

लगानीकर्ता थपेर भौतिक पूर्वाधार र उपकरण थप्ने व्यवस्थापनको योजना


काठमाडौं—चाबहिलस्थित १७५ शैय्याको ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. को ३९ प्रतिशत शेयर खरिद बिक्रीको प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । अस्पताल स्रोतकाअनुसार ओम हस्पिटलको ३९ प्रतिशत सेयर देशकै ठूलो सुपरमार्केट चेनका मालिक मीनबहादुर गुरुङको भाटभटेनी समूहले लिने तयारी अन्तिम चरणमा पुगेको हो ।

‘हामीहरुले माघमै सबै प्रक्रिया टुंग्याउने योजना बनाएर काम गरिरहेका थियौं,’ ओम हस्पिटलको व्यवस्थापन स्रोतले भन्यो, ‘लगभग भाटभटेनीले ३०—३९ प्रतिशत सेयर लिने कुरा सिद्धान्ततः टुंगिसकेको छ । ३६ प्रतिशत शेयर लिने सम्भावना बढी छ । नीतिगत कामहरुका कारण सबैं प्रक्रिया टुंगिन दुई—तीन महिना जति लाग्ने सम्भावना छ ।’

ओम हस्पिटल व्यवस्थापनले सेयर बेचेर हस्पिटललाई स्तरोन्नती गर्ने गरी तयारी अगाडि बढाएको हो । त्यसका लागि हस्पिटल व्यवस्थापनले चरणवद्ध रुपमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुसँग छलफल चलाइरहेको थियो । त्यसमा भाटभटेनीसँग कुरा मिलेको हो । राजधानीको पुरानो हस्पिटलमा गनिने ओमले लगानी थपेर भौतिक पूर्वाधार, उपकरण र अस्पताल प्रणाली अपग्रेड गर्ने योजना बनाएको छ ।

नयाँ लगानीकर्ता भित्र्याउन लागेको विषय ओम हस्पिटलका मेडिकल निर्देशक डा. हरिश जोशीले पनि पुष्टि गरे । ‘सबै अस्पताल ठूला—ठूला भए । अस्पतालको भौतिक पूर्वाधार र उपकरण अपग्रेड गर्नका लागि जगेडा सेयर बेच्न लागेका हौं,’ डा. जोशीले भने, ‘स्वदेशी तथा विदेशी लगानीकर्ताहरुसँग छलफल चलिरहेको छ । केही दिनमै टुंगिन्छ होला ।’ उनले नयाँ लगानीकर्ता थपेर पूर्वाधार, सेवा विस्तार, मल्टीस्पेसियालिटी सेवा दिने गरी ओम हस्पिटललाई विकास गरिने बताए ।

भाटभटेनीसँगको डिल अन्तिम चरणमा पुगेको हो भन्ने प्रश्नमा भने डा. जोशीले घुमाउरो उत्तर दिदैं अहिलेसम्म कोही पनि लगानीकर्ता फिक्स नभइसकेको दावी गरे । डा. जोशीले नयाँ लगानीकर्ता फिक्स नभइसकेको दावी गरेतापनि विश्वस्त स्रोतले भने डिल लगभग अन्तिम चरणमा रहेको हेल्थआवाजलाई जानकारी दियो ।

कमलपोखरीबाट ३३ वर्षअघि ८ शैय्या र ३ जना डाक्टरबाट ‘ओम नर्सिङ होम’ सुरु भएको थियो । त्यसपछि यो अस्पताल वि.सं. २०५३ सालमा ‘ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.’ का रुपमा दर्ता भएको थियो । अनुमानित ८७ हजार ६ सय स्क्वायर फिटमा फैलिएको ओम अस्पतालमा अहिले १०० भन्दा बढी विशेषज्ञले सेवा दिन्छन् भने ५०० भन्दा बढी कर्मचारी कार्यरत रहेको ओमको बेवसाइटमा उल्लेख छ । १७५ शैय्या संचालनमा रहेको ओममा नेपालमा सबैभन्दा पहिलो टेष्टट्युब बेवी सेवा संचालन गरेको थियो ।

रिटेल व्यवसायमा तत्काल मच्चाइरहेको भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि.को ओममा प्रवेश स्वास्थ्य सेवाका क्षेत्रमा पहिलो पाइला हुनेछ । सार्वजनिक वित्तिय विवरणअनुसार गत वर्ष भाटभटेनी २९ अर्ब ७० करोड रुपैयाँको कारोबार गरेको थियो । सन् १९९२ मा स्थापना भएको भाटभटेनी मुलुककै पुरानो र सबैभन्दा ठूलो सुपर मार्केट हो । मीनबहादुर गुरुङको ६० प्रतिशत र उनकी श्रीमती सावित्री घले गुरुङको ४० प्रतिशत सेयर रहेको भाटभटेनीले सन् २०२४ भित्रै स्टोर्सको संख्या २७ पुर्‍याउने लक्ष्य राखेको छ ।

ओममा भाटभटेनीको प्रवेशका लागि भने मीनबहादुर गुरुङका ज्वाइँ डा. प्रतिकमान सिंह गुरुङ कडी बनेको स्रोतको दावी छ । नेपालमा ख्यातिप्राप्त युरोलोजिष्ट तथा रोबटिक सर्जनको परिचय बनाएका गुरुङ पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङका छोरा हुन् । उनी झण्डै डेढ वर्षदेखि ओममा वरिष्ठ कन्सल्ट्यान्ट युरोलोजिष्ट र रोबटिक सर्जनका रुपमा कार्यरत छन् ।

यसअघि ओमले नर्सिङ कलेज बिक्री गर्ने तयारी गरेको थियो । तर, नर्सिङ कलेजको ठूलो क्षेत्रफललगायतका विविध कारण लगानीकर्ताहरुसँग उसको डिल मिल्न सकेन् । चिकित्सा शिक्षा ऐनअनुसार  स्नातक र पीसीएल तहका दुई कार्यक्रम सँगै संचालन गर्न नपाइने भएपछि ओम नर्सिङ कलेजले आफ्नो पिसिएल कार्यक्रम भने हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताललाई बिक्री गरिसकेको छ ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ