२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेश१३ जेठदेखि बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप

१३ जेठदेखि बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप


चरिकोट—दोलखामा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम २०८१ जेठ १३ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । खोप कार्यक्रम, त्यसको पूर्व तयारी तथा खोपमा संलग्न विभिन्न क्षेत्रका व्यक्तिहरुलाई अभिमुखीकरणलगायतका कार्यक्रमका बारेमा स्वास्थ्य कार्यालय दोलखाले जानकारी गराएको छ ।

यही जेठ १३ गतेदेखि दोलखाका ६ हजार ३६९ बालबालिकालाई पोलियो रोग विरुद्धको आईपीभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दोलखाले जनाएअनुसार जिल्लाको भीमेश्वर नगरपालिकामा १ हजार ९४७ बालबालिकालाई खोप लगाइने लक्ष्य लिइएको छ ।

त्यस्तै, बैतेश्वर गाउँपालिकामा ६४२, विगु गाउँपालिकामा ६४६, जिरी नगरपालिकामा ४४७, कालिञ्चोक गाउँपालिकामा ९३६, मेलुङ गाउँपालिकामा ४१०, शैलुङ गाउँपालिकामा ४६२, तामाकोशी गाउँपालिकामा ४०२ र गौरीशंकर गाउँपालिकामा ४७७ बालबालिकालाई खोप लगाइने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकारी पवन भाटले जानकारी दिए ।

खोप अभियान सफल पार्नको लागि स्थानीय तहका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु, खोप कार्यकर्ताहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई खोपका बारेमा अभिमुखीकरण गराउने कार्यक्रम सुरु भएको छ । खोप कार्यक्रम सञ्चालनका लागि ३ सय १० वटा खोप केन्द्र र ३ सय १२ जना स्वास्थ्यकर्मी खटिने स्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकारी पवन भाटले जानकारी दिए ।

देशव्यापी रुपमा सञ्चालन हुने यस अभियानको लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमा नै गएर खोप लगाइनेछ । यसको लागि २ सय ४५ विद्यालयमा खोप केन्द्र सञ्चालन गरिनेछ ।

विद्यालय नजाने तथा बाँकी रहेका बालबालिकालाई पायक पर्ने स्थानमा बाह्य खोप केन्द्र सञ्चालन गरेर र अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिने सूचना अधिकारी भाटले जानकारी दिए । जिल्लाका ६५ स्वास्थ्य चौकीबाट खोप लगाइने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ