२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलबर्दीमा रमाइरहेका कलेजो रोग विशेषज्ञ डा. अच्युत विक्रम

बर्दीमा रमाइरहेका कलेजो रोग विशेषज्ञ डा. अच्युत विक्रम


नेपालका सुरक्षा निकायहरु नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका आ–आफ्ना अस्पताल र चिकित्सकसहित स्वास्थ्यकर्मीहरु छन् । ती अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बहालवाला, अवकाशप्राप्त सुरक्षाकर्मी उनका परिवारका साथै सर्वसाधारणलाई उपचार सेवा प्रदान गर्दै आएका छन् ।

नेपाल प्रहरीको काठमाडौंलगायत सबै प्रदेशमा आफ्नै अस्पताल छ । त्यस्तै अस्पताल हो–लुम्बिनी प्रादेशिक अस्पताल नेपालगन्ज । त्यही अस्पतालमा कार्यरत छन्, कन्सल्ट्यान्ट हेपाटोलोजिष्ट (कलेजो रोग विशेषज्ञ) डा. अच्युत विक्रम हमाल । देशभरमा करिब १५ जना मात्रै कलेजो रोग विशेषज्ञ छन्, जसमध्ये अधिकांश काठमाडौंमा केन्द्रीत छन् । तर, डा. हमाल भने पश्चिम नेपालको लुम्बिनीमा रहेर सेवा दिइरहेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अर्थात वीर अस्पतालबाट हेपाटोलोजीमा डिएम गरेर सुरक्षा निकायका अस्पतालमा कार्यरत डा. हमाल नेपालकै पहिलो कन्सल्ट्यान्ट हेपाटोलोजिष्ट हुन् । डा. हमालले एमबीएसदेखि डिएमसम्म नेपालका ख्यातिप्राप्त चिकित्साशास्त्र अध्ययन संस्थाहरु क्रमसः विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र न्याम्सबाट छात्रवृत्तिमा पढ्ने अवसर पाए ।

नेपाल सरकारको देशका लागि आवश्यक पर्ने विशेषज्ञ चिकित्सक उत्पादन गर्ने सरकारको नीतिलाई आत्मसाथ गर्दै आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ डा. हमालले मेडिकल अफिसरको रुपमा प्रहरी सेवा प्रवेश गरे । नवलपरासी घर भएका उनका अधिकांश साथीहरु विदेश पलायन भइसकेका छन । तर, डा. हमाल भने आफ्नै देशमा रमाइरहेका छन् ।

सानैदेखि पढाइमा तीक्ष्ण डा. हमालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २००२–२००७ मा एमबीबीएस पास गरेका हुन् । एमबीबीएसपछि शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त युएनएचसीआरको कार्यालयमार्फत झापास्थित भुटानी शरणार्थी शिविरमा करिब एक वर्ष काम गरे । यसै क्रममा सन् २००९ मा इन्टरनल मेडिसिनमा एमडी पढनका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा स्कलरसीपमा नाम निकाले ।

सन् २००९–१२ मा आईओएमबाट इन्टरनल मेडिसिनमा एमडी पास गरेपछि बुटबलको क्रिमशन अस्पतालमा करिब २ वर्ष कन्सल्ट्यान्ट फिजिसियनका काम गरे । निजी अस्पतालमा काम गर्दा कमाइ राम्रै भएपनि जागिरको स्थायित्व र सामाजिक रुपमा प्रतिष्ठा कम हुने अनुभव गरेपछि स्थायी जागिर खाने मन बनाए ।

सन् २०१४ मा नेपाल प्रहरीमा मेडिकल अफिसर अर्थात प्रहरी निरिक्षकमा जागिर खुलेको थाहा पाए । परीक्षा दिए । लिखित परिक्षामा पास पनि भए । अन्तर्वार्ताका क्रममा तत्कालीन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले सोधे, ‘जागिरका लागि किन प्रहरी सेवा रोजेको ?’ हमालले जवाफ दिदैं भने,‘पहिलो कारण मलाई प्रहरीको चेन अफ कमान्ड मन पर्छ । दोस्रो कारण स्थायी जागिर खाने चाहना छ ।’

अन्तर्वार्तामा पनि पास भएसँगै डा. हमालले मेडिकल अफिसरको रुपमा महाराजगन्जस्थित प्रहरी अस्पतालबाट सरकारी सेवामा आफ्नो करियर सुरु गरे । प्रहरी सेवा प्रवेश गरेको दुई वर्षपछि नेपाल प्रहरीमै कन्सल्ट्यान्ट फिजिसियनको विज्ञापन निस्कियो । परिक्षा दिए । पास भएपछि सन् २०१६ मा मेडिकल अफिसरबाट कन्सल्ट्यान्ट फिजिसियन नियुक्त भए । कन्सल्ट्यान्ट फिजिसियन बनेसँगै निरिक्षकबाट डिएसपी बने ।

त्यतिबेलासम्म महाराजगन्जस्थित नेपाल प्रहरीको केन्द्रीय अस्पतालमा आईसीयु सेवा सुरु भइसकेको थिएन् । डा. हमाल आईसीयु सेवा सुरु गर्ने काममा लागि परे । डिएसपी भएर काम गर्दागर्दै सन् २०१७ मा छात्रवृत्तिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा हेपाटोलोजीमा डिएम गर्ने अवसर पाए । सन् २०१७ मा उनी हेपाटोलोजी २०२० ब्याचमा हेपाटोलोजीमा डिएम गर्ने सिलसिलामै करिब ६ महिना भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसबाट ह्यान्डस अन ट्रेनिङ गरे ।

डिएम सकेपछि प्रहरी अस्पताल महाराजगन्ज फर्किएर बिरामीको उपचार सुरु गरे । वि.संं २०७९ साउनमा एसपीमा बढुवा भए । एसपीमा बढुवा भएको करिब एक बर्ष प्रहरी अस्पताल महाराजगन्जमा कन्सल्ट्यान्ट हेपाटोलोजिष्टको रुपमा सेवारत रहे । स्थायी घर नवलपरासीमा भएका डा. हमाललाई नेपाल प्रहरीले लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा सरुवा गरिदियो । पछिल्लो एक वर्षदेखि उनी लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा कार्यरत छन् ।

नेपाल विद्याभुषण २०८०, प्रबल जनसेवाश्री पदक २०७९ प्रदान गरेर नेपाल सरकारले डा. हमालले चिकित्सकको रुपमा पु¥याएको योगदानको कदर गरेको छ । ‘कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो भित्री अंग हो । कलेजोमा हाम्रो शरीरको २० देखि २५ प्रतिशत रगत भण्डारण हुन्छ । यो अंग पेटको माथिल्लो दाहिने भागमा हुन्छ,’ डा. हमाल भन्छन्, ‘कलेजोको मुख्य काम खानालाई पचाउनु, पित्तको उत्पादन, रगतको सफाइ तथा फोहोर त्यागमा मद्दत गर्नु हो ।’

बिरामीलाई चेक जाँच गर्दै डा. हमाल

कलेजोमा बिभिन्न कारणले संक्रमण हुन सक्ने उनी बताउँछन् । संक्रमणका कारण हेपाटाइटीस हुने सम्भावना धेरै हुन्छ । नेपालमा जनसंख्याको करिब १ प्रतिशत हेपाटाइटीस ‘बी’ र ०.५ प्रतिशत हेपाटाइटीस ‘सी’ रहेको तथ्याङ्क छ । हेपाटाइटीस ‘बी’ र ‘सी’ दीर्घकालीन हेपाटाइटिस हुन्, जुन लामो समयसम्म कलेजोको कोषमा रहन्छन् ।

नेपालमा मदिरा र सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुको संख्या अत्याधिक छ । लामो समयसम्म मदिरा र सूर्तिजन्य पदार्थको सेवन गर्ने ब्यक्तिमा कलेजो सम्बन्धी रोग हुने सम्भावना धेरै हुन्छ । ‘बदलिदो जीवनशैलीका कारण मानिसहरुमा मोटोपनको समस्या बढ्दै गएको छ । मोटोपनका कारण कलेजोमा बोसो जम्ने अर्थात फ्याटी लिभर समस्या बढ्दै गएको छ,’ डा. हमाल कारण खोल्छन्, ‘फ्याटी लिभरले कलेजोलाई विस्तारै हानी गर्छ । समयमा उपचार भएन भएन १५–२० वर्षमा कलेजो फेल गराउने वा क्यान्सर हुने सम्भावना हुन्छ ।’

डा. हमालकाअनुसार फ्याटीलिभरबाट जनसंख्याको आधारमा लगभग एक चौथाई मानिस प्रभावित हुने गरेका छन् । त्यसैगरी, मधुमेह अर्थात डाइबटिज भएका ७५ प्रतिशत बिरामीमा कलेजोमा कुनै न कुनै किसानको समस्या हुन्छ । डाइबटिजले कलेजोमा कडापन आउने र सिरोसिस भई क्यान्सर हुने जोखिम हुन्छ । कलेजोमा आफ्नो खराबीहरुलाई एक हदसम्म आफैंले ठीक गर्न सक्ने क्षमता हुन्छ ।

कलेजोमा जमेको बोसो कम गर्न चिल्लो कम खाने, व्यायाम गर्ने र आवश्यक परेमा औषधि पनि खानुपर्छ । ‘कलेजो संक्रमणबाट बच्न मदिरा र सूर्तिजन्य पदार्थ कम खाने, नियमित उचित आहार र व्यायाम (१५० मिनेटप्रति हप्ता) गर्नु पर्ने हुन्छ,’ डा. हमाल सुझाव दिन्छन्, ‘कलेजोको संक्रमणबाट बच्न खानामा विशेषगरी हरियो सागपात फलफूल खानुका साथै उचित मात्रामा प्रोटिन खानुपर्छ तर धेरै फ्राई गरेको खाना र मासु कम खानु पर्छ ।’


क्याटेगोरी : प्रोफाइल
ट्याग : #कन्सल्ट्यान्ट हेपाटोलोजिष्ट, #कलेजो रोग विशेषज्ञ, #चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), #डा. अच्युत विक्रम हमाल, #त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, #लुम्बिनी प्रादेशिक अस्पताल, #विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ