२०८२ मंसीर २, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशअर्थको स्वीकृती नपाउँदा सेती प्रादेशिक अस्पताल केन्द्र मातहतमा ल्याउने प्रक्रियामा ढिलाइ

अर्थको स्वीकृती नपाउँदा सेती प्रादेशिक अस्पताल केन्द्र मातहतमा ल्याउने प्रक्रियामा ढिलाइ


काठमाडौं—सुदूरपश्चिमको एकमात्र रिफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पताल संघीय सरकार मातहतमा ल्याउने प्रक्रियामा ढिलाइ भएको छ । सुदूरपश्चिम सरकारले सेती अस्पताललाई संघमा हस्तान्तरण गर्ने निर्णय गरेको लामो समय बितिसक्दा पनि अर्थको स्वीकृत नपाउँदा संघ मातहतमा आउन ढिलाइ भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले सेती प्रादेशिक अस्पताललाई संघ मातहतमा ल्याउने विषयमा खासै प्रगति नभएको बताए । ‘हामीले राय मागेर अर्थमा प्रस्ताव पठाएका हौं,’ उनले भने, ‘तर, अर्थले यस विषयमा धेरै प्रश्नहरु सोधेको छ । यसमा खासै प्रगति भएको छैन ।’

०७९ मा सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई केन्द्रीय अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन केन्द्र सरकारलाई प्रस्ताव गरेको थियो । त्यतिबेला तीन सय शय्या बनाएर संघ मातहतमा ल्याउन प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई पत्राचार गरेको थियो । प्रधानमन्त्री कार्यालयले ३ सय शैय्यामा स्तरोन्नती गरी केन्द्रीय अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

उक्त निर्देशनपछि स्वास्थ्यले सेतीलाई तीन सय शय्याको अस्पतालमा स्तरोन्नती गरेर संघीय अस्पताल बनाउने गरी अर्थको राय मागेर प्रस्ताव पठाएको थियो । त्यसपछि अर्थले सेती अस्पताललाई स्तरोन्नती गरेर संघीय अस्पताल बनाउने स्वास्थ्यको प्रस्तावमा विभिन्न प्रश्न सोधेको थियो । जसको उत्तर स्वास्थ्यले अहिलेसम्म अर्थलाई पठाएको छैन ।

सुदूरपश्चिम प्रदेशको प्रादेशिक रिफरल अस्पतालसमेत रहेको सो अस्पताललाई केन्द्रीय अस्पताल बनाइए सो प्रदेशमा तीन वटा केन्द्रीय अस्पताल हुनेछन् । हाल डडेलधुरा अस्पताल र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पताल गेटालाई केन्द्रीय अस्पताल मातहतमा नै राखिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ