२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने

सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने


वीरेन्द्रनगर—सुर्खेतका नौ वटै स्थानीय तहका २४ हजार किशोरीलाई (ह्युमन प्यापिलोमा भाइरस) एचपीभी विरुद्धको खोप लगाइने भएको छ । खोप अभियान आगामी माघ २२ गते विश्व क्यान्सर दिवसको अवसर पारेर सुरु गर्ने तयारी छ ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई उक्त खोप दिइनेछ भने विद्यालयमा अध्ययन नगर्ने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई पनि खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन धनबहादुर बुढाले बताए । ‘माघ २२ गतेदेखि नौ वटै स्थानीय तहमा रहेका १६० वटा स्वास्थ्य संस्थामा एकैसाथ खोप अभियान सुरू गर्छौं’, उनले भने, ‘यो अभियान फागुन ७ गते समापन हुनेछ ।’

अहिले स्वास्थ्य संस्थाका इन्चार्जहरूलाई तालिम दिने कार्य भइरहेको उनको भनाइ छ । ‘अहिले दुई—दुई पालिका गरेर स्वास्थ्य संस्थाका इन्चार्जहरूलाई दुई दिने तालिम दिइरहेका छौं’, उनले भने, ‘त्यसपछि उहाँहरूले आफ्नो कार्यक्षेत्रमा गएर अन्य स्वास्थ्यकर्मीलाई तालिम दिने र खोप अभियान सुरू गर्ने तयारी हामीले गरेका छौं ।’

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट हरेक दिन चार जना महिलाको मृत्यु हुने गरेको र नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ । तर, महिलाको मृत्यु हुनेमा भने यो रोग पहिलो मुख्य कारण देखिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ