२०८२ असार २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलस्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा

स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा


विराटनगर –दुई भिन्न व्यक्ति तर एउटै सपना । एउटै पेशा र सेवामा समर्पित हुने एउटै लक्ष्य । डा. आशिषजंग थापा र डा. निशा अधिकारीको जीवन यात्रा सेवासँगै प्रेम, संघर्ष, शिक्षाको गहिरो संगम प्रस्तुत गर्छ । चिकित्सक बन्ने सपना, भेटघाट, प्रेम, विवाह, विदेश अध्ययन र अन्ततः एउटै अस्पतालमा सहकार्य गर्ने यात्राले उनीहरूलाई नमुना चिकित्सक दम्पत्तिको रूपमा चिनाएको छ ।

डा. आशिष र डा. निशाको जीवन कथा एउटा प्रेरणादायी कथाजस्तै छ— जहाँ प्रेम, सेवा र सपना सँगसँगै फक्रिएका छन् । चिकित्सक पेशामा समर्पण, पारिवारिक जीवनमा समझदारी र सामाजिक जिम्मेवारीमा प्रतिबद्ध छ यो जोडी । यी गुणहरूले उनीहरूलाई असल दम्पत्ति मात्र होइन, आदर्श चिकित्सक जोडी पनि बनाएको छ ।

स्वास्थ्य सेवाको पवित्र उद्देश्य बोकेर चुनौती र अप्ठ्यारालाई सामना गर्दै उनीहरू अहिलेको पुस्ताका लागि प्रेरणा बनेका छन् । आज पनि यो जोडी अस्पतालहरु अविश्राम बिरामी सेवामा तत्पर छन् । एकले एकअर्कालाई साथ दिएर समर्पणमय यात्रालाई अझ बलियो बनाउँदैछन् ।

डा. निशाको माइती घर काठमाडौं हो । बुवा नवराज अधिकारी र आमा सुशीला अधिकारी शिक्षित र प्रेरणादायी अभिभावक हुन् । उनीहरूका तीन सन्तानमध्ये निशा जेठी छोरी हुन् । भाइ पाइलट, बहिनी व्यवस्थापन क्षेत्रमा छन् । तर, निशा भने स्वास्थ्य क्षेत्रमा लागेकी पात्र हुन् ।

उनको बाल्यकाल बालाजुस्थित सिद्धार्थ बनस्थली स्कुलमा बित्यो । त्यही स्कुलबाट एसएलसी पास गरिन् । त्यसपछि विज्ञान संकाय लिएर उच्च माध्यमिक तह पनि सिद्धार्थ स्कुलबाटै पढिन् ।

चिकित्सक बन्ने यात्रा उनको व्यक्तिगत चाहनाको उपज होइन । उनको यो यात्रा बुवाको सपना पूरा गर्ने कडी थियो । बुवाको इच्छाले नै उनलाई डाक्टर बन्न प्रेरित ग¥यो । सन् २००४ मा उनी एमबीबीएस पढ्नका लागि चीन गइन् । चीनबाट सन् २०१० मा स्नातक शिक्षा पूरा गरेर स्वदेश फर्किइन् ।

डा. आशिषको घर मोरङको टंकीसिनवारी (हाल बुढीगंगा गाउँपालिका–१) मा हो । उनको जन्म वि.सं. २०४४ साल असार २८ मा भएको थियो । डा. थापा पिता अर्जुनकुमार थापा र आमा देवी थापाका जेठा सन्तान हुन् । आठ जना दाजुभाइ–दिदीबहिनीको संयुक्त परिवारमा हुर्कँदा उनीसँग जिम्मेवारीको पहिलो पाठ सिक्न समय लागेन । उनको शैक्षिक यात्रा विराटनगरबाट सुरु भयो । विकेभिएम (बाल कल्याण विद्यामन्दिर) बाट वि.सं. २०५९ सालमा एसएलसी उत्तीर्ण गरेपछि +२ पढ्न काठमाडौंको निस्ट कलेज गएका उनी डाक्टरी सपना पूरा गर्न चीनतर्फ लागे । जियाङ्सी युनिभर्सिटीबाट एमबीबीएस र त्यसपछि चीनकै प्रख्यात सन यात–सेन युनिभर्सिटीबाट न्युरो सर्जरीमा मास्टर्स (एमएस) गरे ।

एमबीबीएस सकेर वि.सं. २०६८ सालमा नेपाल फर्किएपछि उनको करियरले निर्णायक मोड लियो । उनी विराटनगरको न्युरो अस्पतालमा डा. यमबहादुर रोक्कासँग काम गर्न थाले । बाल्यकालमा देखिको सपना डा. रोक्काको मार्गदर्शनमा यथार्थ बन्दै गयो । डा. थापा सम्झन्छन्, ‘डा. रोक्कासँग काम गर्न थालेपछि मेरो सपनामा लालमोहर लागेजस्तो लाग्यो ।’

डा. रोक्कासँगै उनले मात्र शल्यक्रियाको सीप नभई अनुशासन, समयप्रति इमान्दारी, बिरामीप्रति करुणा र आत्मविश्वास सिके । बिहान ठीक ९ बजे अस्पतालको राउन्ड, हरेक केसको सूक्ष्म विश्लेषण, डकुमेन्टेसनमा स्पष्टता—यी सबै व्यवहारिक पक्षहरू उनले त्यहीँ सिके, जसले आजका डा. थापाको आधार तयार ग¥यो ।

न्युरोसर्जरी—एक यस्तो विधा हो, जहाँ समय, धैर्यता र मानसिक स्थिरता अपरिहार्य हुन्छ । डा. थापाले अनुभूत गरेका केही क्षणहरू शब्दमा उतार्न कठिन छ । एकपटक डा. रोक्कासँगै एक जटिल ट्युमरको शल्यक्रिया गर्न उनी दिउँसो २ बजे अपरेशन थिएटर पसे । त्यो अपरेशन भोलिपल्ट बिहान ४ बजेसम्म चल्यो । सोह्र घण्टासम्मको निरन्तर प्रयासपछि बिरामीको ज्यान जोगाउन सफल भए । त्यो क्षण उनको जीवनकै गहिरो सन्तुष्टिपूर्ण क्षण थियो ।

अस्पतालबाट सुरु भएको प्रेमकथा

सन् २०११ मा इन्टर्नसीपका क्रममा काठमाडौंका विभिन्न अस्पतालहरूमा घुमिरहँदा डा. निशा प्रसूती तथा स्त्रीरोग विशेषज्ञतर्फ झुक्न थालिन् । कान्ति बाल अस्पताल र प्रसूती गृहमा सेवा दिँदै गर्दा उनलाई लाग्यो—आफूले गाइनोकोलोजीलाई पेशा बनाउनुपर्छ ।

त्यही वर्ष जीवनले अर्कै मोड लियो — डा. आशिषजंग थापासँगको उनको भेट भयो । आशिष पनि इन्टर्नसीप गरिरहेका थिए । वीर अस्पतालमा काम गर्ने डा. आशिष बसुन्धारामा बस्थे भने निशा गोंगबुमा । संयोगबस उनीहरूको डेराबाट एकै बस चढेर अस्पताल पुग्थे । नेपाल यातायातको पुरानो निलो बसमा बसेर उनीहरू अस्पताल जान्थे ।

बसको यात्रा, अस्पतालको समय तालिका, अनलाइन कुराकानी अनि साझा सपना—यी सबै कुराले उनीहरूको सम्बन्ध प्रेममा बदलियो । प्रेमका महिनाहरू बितेपछि सन् २०१२ मा दुवैजनाले विवाह गर्ने निर्णय गरे । ‘तामझाम बेगर, सामान्य तरिकाले मन्दिरमा विवाह भयो,’ निशा भन्छिन् । सादा विवाहपछि उनीहरूको कर्मक्षेत्र बन्यो विराटनगर ।

एउटै पेशा, एउटै सङ्घर्ष

विवाहपछि सुरु भयो उनीहरूको चिकित्सकीय सहकार्य । नयाँ ठाउँ पुगेर निशाले नोबेल अस्पतालमा काम सुरु गरिन् भने आशिषले न्यूरो अस्पतालमा सेवा दिन थाले । केही वर्षपछि निशा पनि न्यूरो अस्पतालमा आइन् । ‘म सुरुमा कार्डियो वार्डमा काम गर्थेँ,’ उनी भन्छिन् । त्यही अस्पतालमा काम गर्दा दुवैले छात्रवृत्ति पाए र एमडी गर्न चीन गए । डा. निशाले आफ्नो सपना अनुरूप सन् २०१४ मा फेरि गाइनोकोलोजीमा एमडी पढ्न चीन गइन् र सन् २०१७ मा फर्किएर पुनः सेवा थालिन् । एमडी सकेपछि केही समय कोशी अस्पतालमा समेत कार्यरत रहेकी उनी हाल पुनः न्युरो अस्पतालमै काम गरिरहेकी छन् ।

प्रेम, विवाह र सँगसँगैको पेशागत यात्रा सामान्य देखिएपनि डा. निशा र डा. आशिषको यो मार्ग सरल थिएन । एकै अस्पतालमा काम गर्दा निजी र पेशागत सन्तुलन कायम राख्नु ठूलो चुनौती थियो । उनीहरूका दिनहरू अस्पतालमा व्यस्त हुन्थे, रातहरू कहिलेकाँही इमर्जेन्सीमा बित्थे । तर, पेशाप्रति समर्पण र एकअर्काप्रतिको समझदारीले उनीहरूको सम्बन्ध अझ बलियो बन्यो ।

डा. निशा भन्छिन्, ‘गर्भधारण समस्या र आईभिएफ प्रविधिबारे काम गर्दा थाहा हुन्छ—जीवन कति संवेदनशील छ । आम मानिसलाई सन्तान प्राप्ति सहज लाग्न सक्छ तर चिकित्सकीय नजरले त्यो एउटा चमत्कार नै हो ।’ उनी हाल महिला स्वास्थ्य, प्रजनन समस्या र प्रसूति क्षेत्रमा विशेषज्ञता प्रदान गरिरहेकी छन् ।
उता, डा. आशिष न्युरो सर्जरीमा विशेष चासो राख्छन् । टाउको, मस्तिष्क, नसा सम्बन्धी समस्याहरूमा उनी संलग्न छन् । उनीहरूको सेवा प्रति समर्पणले बिरामीहरूमा विश्वास जगाएको छ ।

बिरामीलाई परिवारझैँ व्यवहार

उनीहरूको पेशागत जीवनको मूल मन्त्र हो — ‘बिरामी उपचारको मात्र होइन, स्नेह र विश्वासको पनि खाँचो राख्छन् ।’ त्यसैले उनीहरू बिरामीलाई कहिल्यै पनि केवल फाइल वा केसका रूपमा हेर्दैनन् । प्रायः उपचारका क्रममा मानसिक सान्त्वना, आत्मबल वृद्धि र न्यानोपन दिन उनीहरू अगाडि सर्छन् । उनीहरूलाई लाग्छ—स्मार्ट मेसिन वा औषधिभन्दा पनि सहानुभूति ठूलो औषधि हो ।

चीनबाट दुई वटा डिग्री हासिल गरेका डा. थापालाई विदेशमा अभ्यास गर्ने अनगिन्ती अवसर थिए । तर, उनलाई आफ्नो माटो, आफ्ना मानिस र आफ्नै गल्लीले बाँधिराख्यो । ‘म यहीँको हुँ भन्ने भावनाले सधैं तान्छ । मलाई विदेश गएर कमाउने भन्दा आफ्नै गाउँघरका बिरामीका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनी भन्छन् ।
उनको चाहना छ—कुनै पनि बिरामीले न्युरोसम्बन्धी उपचारका लागि काठमाडौं, भारत वा विदेश जानु नपरोस् । विराटनगरमै यस्तो सुविधा होस्, जहाँ न्युरोसर्जरीका सबै सेवा सजिलै उपलब्ध होऊन् ।

डा. थापाको हालको ध्यान सानो चिरा वा प्वाल पारेर मस्तिष्क वा मेरुदण्डको गम्भीर शल्यक्रिया सम्पन्न गर्ने विधि अहिलेको प्रविधि–केन्द्रित उपचार प्रणालीमा अत्यन्तै प्रभावकारी हुँदैछ । उनी भन्छन्, ‘म चाहन्छु पूर्वी नेपालका कुनै पनि बिरामीले अपरेसनको नाम सुन्नासाथ डराउनु नपरोस् । यो डर हटाउनका लागि प्रविधिको सही प्रयोग र विशेषज्ञता अनिवार्य छ ।’

सामाजिक कर्म

अहिलेका दिनहरूमा पनि उनीहरू समय मिलाएर विभिन्न स्वास्थ्य शिविरहरू, जनचेतना कार्यक्रमहरूमा सहभागी हुन्छन् । गाउँ–शहरका महिला तथा बालबालिकाका लागि उनीहरूको पहलले सकारात्मक प्रभाव पारिरहेको छ । गाउँमा सुत्केरी हुने महिलाको अवस्था सुधार गर्न डा. निशा सक्रिय छन् भने डा. आशिष गाउँमा न्युरो सर्जरीको आधारभूत सेवा पु¥याउने योजनामा छन् ।

डा. आशिष भन्छन्, ‘स्वास्थ्य सेवा भनेको सहर केन्द्रित हुनु हुँदैन । बिरामीहरू बिरामी भएर मात्र होइन, सेवा नपाएर पनि ज्यान गुमाउँछन् । यसलाई रोक्न हामी सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।’

उनीहरूलाई लाग्छ—व्यस्त जीवनशैली भएपनि व्यक्तिगत सम्बन्धमा समय दिन जरुरी हुन्छ । सँगै विहानको कफी, शनिबारको छोटो घुमघाम वा केही समयका लागि फोन ‘साइलेन्ट’ राखेर परिवारलाई दिइएको ध्यान—यी सबैले जीवनलाई सार्थक बनाउँछ ।

‘हामी दुवै डाक्टर हौं भनेर निजी सम्बन्धमा औपचारिकता ल्याउनु हुँदैन । घर घर हो, अस्पताल अस्पताल । समय मिल्यो भने टिभी हेर्छौं, गीत गुनगुनाउँछौं, कहिलेकाहीं सँगै भान्सामा पस्छौ,’ डा. निशा मुस्कुराउँदै भन्छिन् ।

उनीहरूको चाहना केवल व्यक्तिगत उन्नति होइन—पूर्वी नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा विकास गर्नु हो । डा. निशा चाहन्छिन् हरेक महिलाले सुरक्षित मातृत्व पाओस्, सबै महिलाले आफनो स्वास्थ्यप्रति सचेत रहून् । उता, डा. आशिष चाहन्छन्न्युरो र्सजरी सम्बन्धी सामान्यदेखि जटिल समस्या समाधानको सबै व्यवस्था विराटनगरमै होस्, बिरामीहरू काठमाडौं, भारत धाउनु नपरोस् ।’


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ