नयाँ अध्ययनअनुसार व्यायाम सुरु गर्न कहिल्यै ढिलो हुँदैन् । यदि कोही वयस्क अवस्थामा निष्क्रिय जीवनशैलीबाट सक्रिय जीवनशैलीमा रूपान्तरण गर्छन् भने उनीहरूले मृत्युदर घटाउने जोखिमलाई २२ प्रतिशतसम्म कम गर्न सक्छन् ।
स्वास्थ्य विज्ञ वैज्ञानिक तथा चिकित्सकीय संस्थाहरू सबैले शरीर र मानसिक स्वास्थ्य दुवैका लागि शारीरिक गतिविधि लाभदायक हुने कुरा स्वीकार गर्छन् । तर, अझै स्पष्ट नभएको कुरा के हो भने कति मात्रामा व्यायाम उपयोगी हुन्छ, कुन प्रकारको गतिविधि बढी प्रभावकारी हुन्छ, र जीवनका कुन चरणहरूमा तिनीहरू सबैभन्दा महत्वपूर्ण हुन्छन् ।
ब्रिटिश जर्नल अफ स्पोट्र्स मेडिसिन (BJSM) मा प्रकाशित नयाँ अध्ययनले यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको छ । यस अध्ययनले वयस्क अवस्थाको शारीरिक गतिविधिले मुटु रोग, क्यान्सर र अन्य स्वास्थ्य समस्याबाट मृत्यु हुने जोखिममा कसरी प्रभाव पार्छ भन्ने पत्ता लगाउने प्रयास गरेको छ ।
अनुसन्धानकर्ताहरूले विभिन्न आकारका ८५ वटा अध्ययनहरूको विश्लेषण गरे । ती अध्ययनहरूमा सहभागीहरूको संख्या ३५७ देखि लिएर ६.५ मिलियनभन्दा बढीसम्म थियो । सबै विश्लेषणले देखायो कि वयस्क अवस्थाको व्यायामले २० प्रतिशतदेखि ४० प्रतिशतसम्म मृत्युदर कम गर्न सक्ने उल्लेखनीय स्वास्थ्य लाभ दिन सक्छ ।
विशेषगरी, नियमित रूपमा सक्रिय रहेका वयस्कहरूले यी जोखिमहरू ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म घटाउन सक्छन् । र, निष्क्रिय जीवनशैलीबाट सक्रिय बन्नेहरूले पनि मृत्युको समग्र जोखिमलाई झण्डै २२ प्रतिशतले घटाउन सक्छन् ।
केही व्यायामहरूले अरूभन्दा बढी फाइदा दिन सक्छन्
सबै स्वास्थ्य जोखिमहरूमा व्यायामको प्रभाव समान देखिँदैन् । उदाहरणका लागि व्यायामले मुटुरोगबाट हुने मृत्युको जोखिमलाई ३० देखि ४० प्रतिशतसम्म कम ग¥यो तर क्यान्सरजन्य मृत्यु दरसँगको सम्बन्ध त्यति स्पष्ट थिएन् ।
रोचक कुरा त के छ भने सबै प्रकारका व्यायामहरूले वयस्कहरूको स्वास्थ्यमा समान असर गर्दैनन् । अध्ययनअनुसार समय निकालेर व्यायाम गर्ने वयस्कहरूले घर वा कार्यस्थलमा संयोगवश सक्रिय हुनेहरूभन्दा बढी स्वास्थ्य लाभ पाउँछन् ।
स्वास्थ्य जोखिम र फिटनेसबीचको जटिल सम्बन्ध
केही विज्ञहरूको भनाइमा फिटनेस र मृत्युदरबीचको सम्बन्ध यस अध्ययनले देखाएकोभन्दा अझ जटिल हुन सक्छ । ‘यस्ता अध्ययनहरूका आधारमा हामीले खासगरी मृत्युदरमा देखिएको गिरावट केवल शारीरिक गतिविधिका कारण हो भन्न धेरै विश्वासका साथ भन्न सक्दैनौं,’ स्विडेनको अप्साला विश्वविद्यालयका भौतिक गतिविधि तथा स्वास्थ्यका अनुसन्धानकर्ता मार्सेल बलिनले यूरोन्यूज नेक्स्टलाई भने ।
यसमा जेनेटिक्स र वातावरणीय प्रभावहरूजस्ता अन्य पक्षले मानिसको स्वास्थ्यमा भूमिका खेल्न सक्छन् । उदाहरणस्वरूप, यो वर्ष युरोपियन जर्नल अफ इमिडिमियोलोजीमा प्रकाशित अध्ययनले देखाएको थियो कि मृत्युदरमा जेनेटिक्सले ठूलो भूमिका खेल्छ । जसको शारीरिक गतिविधि महत्त्वपूर्ण भएतापनि दीर्घायु केवल एउटा पक्षको परिणाम नभई समग्र स्वास्थ्यको प्रतिबिम्ब हो भन्ने निष्कर्ष थियो ।
बलिनले भने, ‘नयाँ निष्कर्षहरूलाई ‘थोरै शंकाका साथ’ लिनु आवश्यक छ ।
‘हामी यति भन्न सक्छौं कि यदि तपाईं औसतभन्दा बढी सक्रिय समूहमा पर्नुहुन्छ र लगातार सक्रिय रहनुहुन्छ वा समयसँगै तपाईंको गतिविधि बढ्दैछ भने त्यो तपाईंको मृत्युदरका लागि लाभदायक देखिन्छ,’ उनले भने ।
‘तर, कम मृत्युदर केवल व्यायामकै कारण हो भन्न हामी अझै सतर्क रहनु आवश्यक छ,’ उनले थपे ।
युरोन्यूजबाट भावानुवाद