विराटनगर – सप्तरीको राजविराजबाट विराटनगरमा एक दिनअघि आएका शम्भुप्रसाद यादवको मनमा एउटा बेग्लै छटपटी थियो । शनिबार साँझ विराटनगर आएका उनको त्यो छटपटी आफ्ना कान्छा छोरा डा. अमित यादवको खस्कँदो स्वास्थ्य र उनले झेलिरहेको मानसिक तनावलाई लिएर थियो ।
नोबेल मेडिकल कलेजबाट एमबीबीएस सकेर भर्खरै डाक्टर बनेका छोराको उज्यालो भविष्य हेर्ने सपना बोकेका बाबुका लागि आइतबारको बिहानी जीवनकै सबैभन्दा अँध्यारो बनिदियो ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजभन्दा करिब १०० मिटर उत्तरमा रहेको भाडाको कोठामा बाबु–छोरा सँगै थिए । छोरा बिरामी परेपछि उनलाई सम्हाल्न र ढाडस दिन शम्भुप्रसाद राजविराजबाट विराटनगर आइपुगेका थिए ।
तर, डा. अमितको मनभित्र कस्तो आँधी चलिरहेको थियो भन्ने कुरा बाबुले पत्तै पाउन सकेनन् । आइतबार बिहान झिसमिसे ४ बजे अमित जुरुक्क उठे । उनले आफ्ना बुबाका लागि निकै श्रद्धा र मायाले तातो चिया बनाए । ‘बुवा, चिया खानुस्,’ भन्दै उनले बाबुलाई चियाको गिलास थमाए र आफू पनि चिया लिएर कोठाको बरन्डातिर लागे ।
बाबु शम्भुप्रसादलाई लाग्यो— छोरा निको हुँदैछ, त्यसैले त बिहानै उठेर चिया बनायो । उनले चिया पिएर आफ्नो नित्यकर्मअनुसार कोठाभित्रै योगा गर्न थाले । कोठाभित्र बाबु एकाग्र भएर योगा गर्दै थिए, बाहिर बरन्डामा छोरा चियाको चुस्कीसँगै सायद जिन्दगीको अन्तिम र कठोर फैसला गरिरहेका थिए ।
योगा सकेर जब शम्भुप्रसाद छोरालाई हेर्न बरन्डामा निस्किएँ, त्यहाँ रित्तो कप मात्र थियो— अमित थिएनन् ।
‘मलाई लाग्यो कतै यताउता निस्कियो होला । तर, मनमा एक्कासी चिसो पस्यो,’ शम्भुप्रसादले गला अवरुद्ध पार्दै हेल्थआवाजसँगको फोन सम्पर्कमा भने ।
उनले छोरालाई यताउता खोजे, कतै भेटेनन् । नोबेल अस्पतालको गेटदेखि गल्लीहरूसम्म तीन पटक चक्कर लगाए । तर, अमितको पत्तो लागेन । चौथो पटक खोज्न निस्कँदा उनले अस्पतालको अगाडि मानिसहरूको भिड र प्रहरीको चहलपहल देखे । कसैले भन्यो, ‘एकजना २४–२५ वर्षको युवाले अस्पतालको पाँचौँ तलाबाट हाम फालेर आत्महत्या गरेछन् ।’
त्यो सुन्नासाथ शम्भुप्रसादको मुटु काम्यो । भिड छिचोल्दै अगाडि बढेर हेर्दा तिनै छोरा भुइँमा रक्ताम्मे अवस्थामा लडिरहेका थिए, जसले केही मिनेटअघि मात्र उनलाई आदरपूर्वक चिया खुवाएका थिए । ‘त्यसपछि म निःशब्द भएँ । मेरो संसार नै उज्यालोबाट एकाएक अँध्यारोमा बदलियो,’ बाबु शम्भुप्रसाद रुँदैं सुनाउन थाले । गम्भीर घाइते अमितलाई तत्काल नोबेल अस्पतालकै आकस्मिक कक्षमा लगियो । तर, नियतिको खेल अर्कै थियो । बिहान ६ः३० बजे अस्पतालले उनलाई मृत घोषित गरिदियो ।
सप्तरीको राजविराज नगरपालिका—९ स्थायी घर भएका अमितले सन् २०२३ मा नोबेल मेडिकल कलेजबाटै एमबीबीएस उत्तीर्ण गरेका थिए । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षासमेत उत्तीर्ण गरिसकेका उनी एक दक्ष चिकित्सकका रूपमा समाज सेवामा लाग्ने तयारीमा थिए । बाबुका अनुसार उनले सोही अस्पतालमा दुई वर्ष ‘इन्टर्नसीप’ पनि पूरा गरेका थिए ।
तर, अस्पताल प्रशासन र अमितबीच यही विषयमा केही समयदेखि विवाद र तनाव सिर्जना भएको बुझिन्छ । अस्पताल प्रशासनले उनको इन्टर्नसीप पूरा नभएको दाबी गर्दै कागजात नभेटिएको बताएपछि अमित चरम मानसिक तनावमा थिए ।
‘छोराको कागजपत्रहरू अस्पतालमा भेटिएको थिएन । अस्पतालले इन्टर्नसीप पूरा नभएको भन्दै थियो । त्यही डकुमेन्टको तनावले उसलाई बिरामी बनाएको थियो,’ बाबु शम्भुले पीडा पोखे । एउटा डाक्टर बन्न वर्षौँको मिहिनेत, लाखौको लगानी र परिवारको ठूलो आशा जोडिएको हुन्छ ।
तर, प्रशासनिक अल्झन र कागजी अड्चनले एउटा उदीयमान प्रतिभालाई कसरी मृत्युको मुखसम्म पु¥याउँछ भन्ने उदाहरण अमितको यो वियोगान्त कथा बनेको छ । राजविराजका शम्भुप्रसाद र सरिता यादवका कान्छा छोरा २६वर्षीय अमित परिवारका तारा थिए । ‘छोरा डाक्टर बनेपछि परिवारको गरिमा बढ्ने र समाजको सेवा हुने आशामा थियौँ,’ उनले भने, ‘यो क्षति हाम्रो परिवारका लागि अपूरणीय रहनेछ ।’
नोबेल अस्पतालका प्रशासन प्रमुख दीपेश राईले भने अमितको इन्टर्न पूरा नभएकाले डकुमेन्ट उपलब्ध गराउन नसकेको बताए ।
अहिले प्रहरीले यस घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ । कोशी अस्पतालमा आइतबार पोस्मार्टम गरेर छोराको शव राजविराज लगेको बावु शम्भुले बताए ।