काठमाडौं—नेपालकै ठूला ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ १७ बैशाखबाट काठमाडौंमा हुने भएको छ । आइतबार आयोजकले पत्रकार सम्मेलन गरी स्वास्थ्य सेवा, डाइग्नोष्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनी ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको जानकारी दिइएको हो ।
एस डी प्रोमो मिडिया प्रा.लि.ले केमसान नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्त एक्स्पो १७ देखि १९ बैशाखसम्म तीन दिन सञ्चालन हुनेछ । आयोजककाअनुसार यस वर्षको संस्करण अहिलेसम्मको सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा नेपाल, भारतसहित विभिन्न देशका २०० भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् भने ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्ड र एक हजारभन्दा बढी उत्पादन तथा सेवाहरु एकै स्थानमा प्रदर्शन गरिनेछ । यसले स्वास्थ्य सेवा, प्रयोगशाला विज्ञानमा नवीनतम प्रविधि, उपकरण तथा समाधानहरुलाई नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ ।

रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसन)का अध्यक्ष भक्तबहादुर हमालले नेपालमा सरकारीबाहेक वार्षिक २० अर्बको मेडिकल इक्वीपमेन्टको कारोबार रहेको उल्लेख गर्दै प्रविधि सेयर र विजनेशमा एक्स्पोले सहयोग पुर्याउने बताए ।
एक्स्पोलाई स्वास्थ्य सेवा, औषधि तथा अनुसन्धान क्षेत्रका लागि महत्वपूर्ण ‘बीटुबी’ प्लेटफर्मको रुपमा लिइएको छ । यसले व्यापारिक सहकार्य विस्तार, स्रोत पहिचान, प्रविधि आदान—प्रदान, तथा उच्चस्तरीय नेटवर्किङका लागि उपयुक्त वातावरण सिर्जना गर्ने आयोजकको विश्वास छ ।
प्रदर्शनीमा सिमेन्स, फिलिप्स, फुजीफिल्म, थर्मोफिसर साइन्टिकफिक, ह्युमन डाइग्नोष्टिक, स्निबे, ड्रागर र सिटीके बायोटेकजस्ता विश्वप्रसिद्ध ब्राण्डहरुको सहभागिता सुनिश्चित भएको एस डी प्रोमो मिडियाका अनुरोध परासरले जानकारी दिए । ‘सिमेन्स, फिलिप्स, फुजीफिल्म, थर्मोफिसर साइन्टिकफिक, ह्युमन डाइग्नोष्टिक, स्निबे, ड्रागर र सिटीके बायोटेकजस्ता विश्व प्रसिद्ध कम्पनीहरुको एक्स्पोमा सहभागिता रहनेछ,’ उनले भने, ‘यो नेपालकै लार्जेष्ट मेडिकल एक्स्पो हो ।’

आयोजक एस डी प्रोमो मिडिया प्रा.लि.का निर्देशक विवेक विक्रमकाअनुसार नवौ संस्करणले स्थापित कम्पनी, नयाँ उद्यमी दुवैलाई आफ्ना आविष्कार तथा उत्पादन प्रदर्शन गर्ने, नयाँ साझेदारी निर्माण गर्ने र उद्योगको समग्र विकासमा योगदान पुर्याउने अवसर प्रदान गर्ने बताए ।
उक्त एक्स्पोमा विशेषगरी अस्पताल, नर्सिङ होम, डाइग्नोष्टिक सेन्टर, औषधि कम्पनी, अनुसन्धान संस्था, विश्वविद्यालय, मेडिकल कलेज ब्लड बैक तथा खाद्य सामाग्री परीक्षण प्रयोगशालासँग सम्बन्धित निर्णयकर्ता तथा खरिद पेशेवरहरुलाई लक्षित गरिएको छ । साथै, दक्षिण एसियाभरका विदेशी खरिदकर्ताहरुको समेत सहभागिता रहने जनाइएको छ ।
नेपालमा स्वास्थ्य सेवा र प्रयोगशाला क्षेत्रमा बढ्दो प्रविधि आवश्यकताबीच अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीले ज्ञान, प्रविधि र व्यवसायिक सहकार्य विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।