२०८३ मंसिर ३, बिहिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश

औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश


विराटनगर — कर्णाली प्रदेशको सुर्खेतमा हुन लागेको नेपाल औषधि व्यवसायी संघको १५औँ केन्द्रीय राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

विधानविपरीत मंसिर ५ र ६ गते सुर्खेतमा अधिवेशन गर्न लागिएको भन्दै संघका मोरङ निवर्तमान अध्यक्ष लक्ष्मी तिम्सिनाले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए ।

तिम्सिनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाएर दायर गरेको उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शिवबहादुर रानाभाटको इजलासले तत्कालका लागि सम्पूर्ण निर्वाचन प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको हो ।

इजलासले दुवै पक्षलाई मंसिर ८ गते छलफलका लागि अदालतमा उपस्थित हुनसमेत आदेश गरेको छ ।

संघको विधानअनुसार केन्द्रीय कार्यसमितिले निर्वाचन हुनुभन्दा एक महिनाअगावै निर्वाचन समितिलाई मतदाता नामावली बुझाउनुपर्ने व्यवस्था छ । त्यसपछि निर्वाचन समितिले निर्वाचनको २७ दिनअघि नै मतदाता नामावली प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर, विधानको उक्त प्रक्रिया पूरा नगरी संघ निर्वाचनमा होमिएपछि विवाद अदालत पुगेको हो ।

अधिवेशनका लागि देशभरबाट संघका २२२ जना मतदाता रहेका छन् । अधिवेशनमा सहभागी हुन देशभरका मतदाता, केन्द्रीय कार्यसमिति सदस्य तथा प्रदेश र जिल्ला कार्यसमितिका प्रतिनिधिहरू सुर्खेत पुग्ने क्रम जारी रहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ