काठमाडौं—नयाँ बानेश्वरको अल्फा बेटा कम्प्लेक्सस्थित अल्फा केयरले अत्याधुनिक ‘अल्फा केयर डेन्टल’ क्लिनिक सञ्चालनमा ल्याएको छ । शुक्रबार उक्त क्लिनिकको राष्ट्रिय सभा सदस्य सुनिल थापाले रिबन काटेर औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा नेपालका लागि इजरायल दूतावासकी उपप्रमुख मिस जनान बेबर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्याल, नबिल बैंकका कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा बीएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. रामबाबु गिरीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

अल्फा केयर डेन्टलका प्रमुख कार्यकारी अधिकृत द्विराज शर्माले संस्थाको दीर्घकालीन लक्ष्य प्रस्तुत गर्दै नेपालमा दन्त उपचार, उन्नत निदान तथा समग्र स्वास्थ्य सेवामा उत्कृष्टता प्रदान गर्ने विश्वसनीय केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले विश्वस्तरीय चिकित्सकीय सेवा र उत्कृष्ट हस्पिटालिटी सुविधामार्फत स्वदेश तथा विदेशबाट आउने बिरामीहरूलाई सेवा दिने लक्ष्य रहेको बताए।
अल्फा केयर डेन्टलले बालबालिकादेखि वयस्कसम्मका लागि सम्पूर्ण दन्त सेवा, उपचार, रोकथाम तथा पुनःस्थापना सेवाहरू प्रदान गर्ने जनाएको छ। साथै, क्लिनिकमा उच्चस्तरीय स्टेरिलाइजेसन, सक्शन र कम्प्रेसन प्रणाली जडान गरिएको सो क्रममा जानकारी दिइएको थियो।
क्लिनिकको मेडिकल तथा ल्याब निर्देशकका रूपमा डा. आभाष कोइराला र दन्त सेवा प्रमुखका रूपमा डा. ग्रेस रहेका छन्।
उक्त क्लिनिकले आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय दन्त सेवा प्रदान गर्नेछ ।
