२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश‘१५ शैय्या स्वीकृत अस्पतालबाट ७२ शैय्याको सेवा दिएका छौं’

‘१५ शैय्या स्वीकृत अस्पतालबाट ७२ शैय्याको सेवा दिएका छौं’

भिडभाड बढी भयो, सबै सुविधा यहीँ पाए हुन्थ्यो भन्ने सेवाग्राहीको गुनासो छ


गण्डकी प्रदेशको नयाँ जिल्ला नवलपरासी सुस्तापूर्व घोषणापछि सामुदायिक अस्पताललाई १५ शैय्या स्वीकृत मध्यबिन्दु जिल्ला अस्पताल घोषणा गरियो । सिमित स्रोत साधन र भौतिक संरचना भएको अस्पताललाई जिल्ला अस्पताल घोषणा गरिएपछि अस्पताल विकास समितिमार्फत अस्पतालले ७२ शैयाको सेवा दिएको छ । सामुदायिकको तुलनामा ४ गुणा हाराहारीमा सेवाग्राही बढेका छन् । क्षमता विस्तारको प्रयासमा रहेको मध्यविन्दु अस्पतालको वर्तमान अवस्था, भावि योजना, सेवाग्राहीका गुनासा र सेवा प्रवाहको अवस्थाबारे अस्पतालका मेसु डा. जितेन्द्र कँडेलसँग सुनील सापकोटाले गरेको कुराकानी :

सामुदायिक अस्पताललाई मध्यबिन्दु जिल्ला अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति र भौतिक पूर्वाधारको अवस्था के कस्तो छ ?
मध्यबिन्दु अस्पताल १५ शैय्या स्वीकृत भएपनि अस्पतालले ७२ शैय्याको सेवा दिइरहेको छ । स्वीकृत दरबन्दी ३ जनाको हो, एक जना नवौं तह र २ जना आठौं तह, जसमध्ये आठौंको म एक जना कार्यरत छु । आठौ तहका एक जना डाक्टर अध्ययन बिदामा हुनुहुन्छ भने नवौं तह रिक्त छ । समितितर्फबाट ३ जना कन्सल्ट्यान्ट हुनुहुन्छ । छात्रवृत्ति करारको ३ जना कन्सल्ट्यान्ट, मेडिकल अफिसर ८ जना हुनुहुन्छ । नर्सिङ स्टाफ र अनमीसमेत २७ जना कार्यरत हुनुहुन्छ । प्रशासनतर्फ १ जना सुब्बा र १ जना खरिदनरको स्वीकृत दरबन्दी हो । सुब्बाको पद रिक्त छ, लेखाको दरबन्दी हामीसँग छैन ।

जनशक्ति र पूर्वाधारको अभावबीच गुणस्तरीय सेवा दिन प्रयासरत छौं । अहिले अस्पताल आउने सेवाग्राहीलाई सुरक्षित तवरले सेवा दिन पूर्वाधारकै अभाव छ । सामुदायिक हुँदाको एक सानो भवनबाहेक सबै टिनका टहरामा सेवा सञ्चालन गरिरहेका छौं । सामुदायिक अस्पताल हुँदा नै निर्माण थालिएको भवन पूरा हुन सकेको छैन । अस्थिपञ्जर मात्रै खडा छ । सम्पन्न गर्न ठूलो रकम आवश्यक हुन्छ, यसपालि प्रदेशबाट केही रकम आएको छ ।

कस्ता बिरामी आउने गरेका छन् ?
धेरैजसो सिजनल बिरामी आउनुहुन्छ । सुगर, प्रेसर, दमलगायतका दीर्घरोगका बिरामी पनि आउने गर्नुहुन्छ । हामी कहाँ कृत्रिम हातखुट्टा बनाउने विशेष सेवा भएकाले त्यस सम्बन्धी समस्या भएका व्यक्तिहरु पनि आउने गर्नुहुन्छ । निःशुल्क डायलाइसिस गर्ने बिरामी आउनुहुन्छ । ५ शैय्यामा १५ जनाले अहिले सेवा पाइरहनुभएको छ । स्वास्थ्य बिमा कार्यक्रम पनि सञ्चालित छ, यसले पनि सेवाग्राहीलाई राहत नै भएको छ ।

सेवाग्राहीलाई छिटो—छरितो सेवा दिन सक्नुभएको छ ?
अस्पतालमा दैनिक साढे ३ सयदेखि साढे ४ सय हाराहारीमा सेवाग्राही आउने गर्नुहुन्छ । जनशक्तिको अभाव छ, जनशक्तिसँगै पूर्वाधार नै ठूलो चुनौती बनेको छ । एउटा सामुदायिक अस्पताल नै जिल्ला अस्पताल घोषणा भयो, भौतिक पूर्वाधार थपिएन । सामुदायिक हुँदाको अवस्थाकै टहरामा चलाइरहेका छौं । सामुदायिक हुँदा सेवाग्राही धेरै थिएनन्, सय, डेढ सय जनालाई सेवा दिने गरी बनाइएको भवन अहिले चार/पाँच सय जनासम्मलाई सेवा दिँदा बिरामी राखेर सेवा दिने ठाउँकै पनि अभाव भएको छ । जनशक्ति अभाव छ । सेवाग्राहीको अनुपातमा क्वालिटी केयर दिन अहिले भएको जनशक्तिको २/३ गुणा बढी चाहिन्छ । निर्माणाधीन भवन पूरा गर्न सके धेरै गुनासा कम हुने विश्वास लिएका छौंं ।

मध्यविन्दुमा तपाईं मेसु भएपछि अस्पतालको सेवा प्रवाहमा सुधार गर्न के कस्ता पहलकदमी लिनुभयो ?
नयाँ पूर्वाधार बनाउन नसकेपनि खाली प्रयोगविहीन ठाउँलाई सकेसम्म उपयोगमा ल्याउने प्रयास गरेका छौं । ५० शैय्याको सुविधा दिन चाहिने ४ वटा भिन्ना—भिन्नै वार्ड म्यानेज गर्न सक्यौं । ५ वटा छुट्टाछुट्टै ओपीडी चाहिन्छ, त्यो हामीले म्यानेज गर्न सक्यौं । अघिल्लो वर्ष ४९ हजारले अस्पतालबाट सेवा लिएकोमा यस वर्ष लगभग ९० हजारलाई सेवा दिन सक्यौं ।

अघिल्लो वर्ष ३५० जनाले प्रसुति सेवा लिएकोमा यस वर्ष ५०५ जनालाई सेवा दिन सक्यौं जसमध्ये ५२ वटा सिजरियन गर्न सक्यौं । अघिल्लो वर्ष १४ सय जना भर्ना गरी सेवा दिन सकेका थियो भने यो वर्ष २६ सय जनालाई भर्ना गरी सेवा गर्न सक्यौं । साँघुरो ठाउँमा खुम्चिएको ल्याबलाई नयाँ ठाउँमा सारेर सजिलो सेवा दिन सक्ने बनायौं । पेडियाट्रिक वार्ड ताला लागेर बसेको थियो । बच्चाको अलग्गै वार्ड सञ्चालन ग¥यौं । डायलाइसिस सेवा सुरु ग¥यौं । इमर्जेन्सी र फार्मेसीलाई थप सेवा दिन सक्ने बनाएका छौं । २ वटा अप्रेसन थिएटर बनाएका छौं । अर्थाेको ओटी पनि सञ्चालनको तर्खरमा छौं ।

स्थानीय तह र प्रदेशसँग के कसरी समन्वय गर्नुभएको छ ?
धेरै ठाउँमा काम गरियो, कति ठाउँमा समितिकै मान्छे कलर समात्न पनि आए । अहिलेको अवस्थामा व्यवस्थापन समिति सपोर्टिङमै छ । अस्पताल संस्थागत रुपमा लागिरहँदा समितिले स्थानीय तहहरुसँग समन्वय गर्ने, सहयोग जुटाउने काम गरिरहेकै छ । प्रदेश सरकारले आफ्नो सिमितता भित्र रहेर दिनुपर्ने सुविधामा धेरै रिजर्भेसन राखेजस्तो लाग्दैन् । चालु बजेटमा माग गरेका धेरै कुरा सम्बोधन छ । राम्रो सपोर्ट छ । अस्पताल आउने सेवाग्राहीलाई समेत हामीले अस्पतालका समस्या जनप्रतिनिधिसम्म पु¥याउने ‘दूत’ का रुपमा लिएका छौं । अस्पतालको क्षमता बढ्दा सेवाग्राहीले पाउने सेवासुविधा बढ्ने र गुणस्तरीय सेवा पाउने कुरा प्रष्ट पार्दै अस्पतालको क्षमता विस्तारमा सेवाग्राहीको भूमिका पनि खोजेका छौं ।

सेवाग्राहीबाट गुनासा सुन्ने र समस्या समाधान गर्ने प्रबन्ध कसरी मिलाउनुभएको छ ?
सेवाग्राहीले गुनासो पेटिका राखेका छौं । त्यसबाट आउने गुनासा सम्बोधन गर्ने गरेका छौंं । हामी त्यहीँ नै रहने भएकाले गुनासा प्रत्यक्ष नै लिएर आउने गर्नुहुन्छ । मुख्यगरी भिड भयो, ठाउँ भएन, एकै दिन सबै सेवा पाउन सकिएन भनेर आउनुहुन्छ । हामीले उहाँहरुका गुनासा जनप्रतिनिधिसम्म पु¥याउन आग्रह पनि गरिरहेका छौं । निर्माणाधीन भवन सम्पन्न गर्न सके भिड कम गर्न सकिने कुरा बुझाएर पठाउनुपर्ने भएको छ । थप सेवा यहीँ पाए हुन्थ्यो, भरतपुर जानै नपरे हुन्थ्यो भन्ने गुनासा पनि छन् । तर, १५ शैय्याका अस्पतालले कति सेवा दिने भन्ने सिमितता हुन्छ, यस अस्पतालले दिन सक्ने सेवाबारे स्पष्ट पार्नुपर्ने हुन्छ ।

‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम सञ्चालनबारे तपाईंको धारणा के छ ?
म त व्यक्तिगत रुपमा ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ हुनुपर्छ भन्छु । यो लागु हुँदा बिरामी र स्वास्थ्यकर्मी दुवैलाई सजिलो हो । सरकारी संस्था सबैमा सेवा सुविधा दुई गुणा दिऊँ, तीन गुणा दिऊँ, जे सम्भव हुन्छ, गरौं । तीन सिफ्ट काममा लगाउँछौं भने तीन गुणा दिन पीर मान्नुपर्ने म देख्दिनँ । यसो गर्न सक्यौं भने हामीले दिने सेवाको गुणस्तर, विश्वास बढाउन सक्छौं । हाम्रो संस्थामा ओडिओआई लागु भइसकेको छैन, लागु भयो भने नेपालको हकमा गेम चेन्जिङ काम हुन सक्छ । तर, यो चुनौतीपूर्ण पनि हो । हामीले सेवा प्रवेशकै बेला तपाईं बाहिर काम गर्न पाउनुहुन्न तर हामी तपाईं एक्लै काम गर्नुपर्दा तीन गुणा तलब सुविधा दिन्छौं भनेर सुरु गर्ने हो भने गर्न सकिन्छ ।

अस्पताल सुधारका भावि योजनाहरु के छन् ?
म करिब १ वर्षअघि भदौमा आएँ, त्यतिबेला यो अस्पताललाई आउने बजेट विनियोजन भइसकेको थियो । यसपालि बजेट बनाउने बेलादेखि नै यो अस्पतालको इस्युज उठायौं । निर्माणाधीन भवनका लागि केही रकम आएको थियो, त्यसका लागि सूचना निकालिसकेका छौं । नयाँ भवनबाट सेवा दिने प्रक्रियामा अघि बढ्छ । इन्डोस्कोपी सेवा सुरु गर्ने योजनामा छौं । बजेट प्राप्त भएको छ, सूचनामा लगिसकेका छौं ।

दुई शव राख्न सकिने गरी शव परीक्षण गृह टिनको टहरोमा थियो, थप दुई शव राख्न सकिने गरी चिस्यानसहितको आधुनिक शव परीक्षण गृह बनाउने गरी त्यो पनि प्रक्रियामा छ । फिजियोथेरापी यो वर्षबाट अस्पताल आफैं सञ्चालन गर्ने बाटोमा पुगेका छौं । डायलाइसिस सेवा विस्तारको योजनामा छौंं । पूर्वाधार तथा जनशक्तिका कारण थप सञ्चालन गर्न सकिएको छैन । २४÷२५ जनालाई सेवा दिने गरी योजना बनाइरहेका छौं ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ