काठमाडौं—एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक मस्यौदामा अहिलेका ठूला ६ वटा स्वास्थ्य प्रतिष्ठानहरु अध्ययन संस्थानमा स्वतः रुपान्तरण हुने परिकल्पना गरिएको छ । एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनका लागि स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त विधेयक मस्यौदा संसदबाट पारित भएमा अहिले रहेका ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुनेछन् ।
विधेयकको मस्यौदाअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन संस्थानमा परिणत हुनेछन् । विधेयकको मस्यौदाको दफा ३२ (१) मा उक्त व्यवस्था गरिएको छ । ‘यो ऐन लागु हुनुपूर्व प्रचलित कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु देहाय बमोजिम हुने गरी अध्ययन संस्थानमा परिणत भएको मानिनेछ ।’
विधेयक मस्यौदा मुताविक नै पारित भएमा चिकित्सा विज्ञान राष्ट्रिय अध्ययन संस्थान, विपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन संस्थान, पाटन स्वास्थ्य विज्ञान अध्ययन संस्थान, कर्णाली स्वास्थ्य विज्ञान अध्ययन संस्थान, पोखरा स्वास्थ्य विज्ञान अध्ययन संस्थान र राप्ती स्वास्थ्य विज्ञान अध्ययन संस्थानमा रुपान्तरण हुनेछन् । यी अध्ययन संस्थानहरुको कार्यकारी अधिकारप्राप्त व्यक्ति डिन रहने परिकल्पना मस्यौदामा गरिएको छ ।
छाता ऐन बमोजिम गठन हुने स्वास्थ्य ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा कुलपति, सहकुलपति र उपकुलपति रहने व्यवस्था गरिएको छ । प्रतिष्ठानको सभामा कुलपति अध्यक्ष, सहकुलपति उपाध्यक्ष, सदस्यहरुमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य, उपकुलपति, विश्वविद्यालयमध्येबाट एक जना महिलासहित दुई जना सदस्य, स्वास्थ्य सचिव, अर्थ सचिव, शिक्षा, विज्ञान तथा प्रविधी सचिव, डिनहरुमध्येबाट एक जना, निर्देशकहरुमध्येबाट एक जना र अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरुबाट एक जना महिलासहित दुई जना सदस्य, प्राज्ञिक परिषद्को सिफारिसमा एक जना महिलासहित दुई जना, प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुमध्येबाट एक जना, शिक्षाध्यक्षमध्येबाट एक जना रहनेछन् ।
यो ऐन जारी भएमा छुट्टै प्रतिष्ठानहरु खोल्ने बाटो बन्द हुनेछ ।
एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक मस्यौदा