२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड १९ : चिकित्सकका रुपमा मैले बुझेको नेपाली पत्रकारिता

कोभिड १९ : चिकित्सकका रुपमा मैले बुझेको नेपाली पत्रकारिता


कोभिड–१९ को विकसित घटनाक्रम अगाडि नेपालमा एउटा विषय निकै चर्चामा रहेको थियो । त्यो चर्चाको विषय थियो–आमसञ्चार विधेयक । त्यसमा रहेका विवादास्पद विषयमध्ये एक पत्रकारहरुलाई अनिवार्य लाइसेन्सको व्यवस्था पनि थियो । जसमा पत्रकारले लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुपर्ने कुराको परिकल्पना गरिएको थियो ।

सम्पूर्ण आम समाज, आम सञ्चार जगत र प्रतिपक्षी दलको समेत व्यापक विरोध र गैरप्रजातान्त्रिक विधेयक भन्ने आरोपपछि उक्त विधेयक ल्याउने तयारीबाट सरकार पछि हटेको थियो । तर, दुर्भाग्य भनौैं वा सौभाग्य भनौं राज्यले हिजो उठाएको कदम सही नै थियो भन्ने अवस्थितीको सिर्जना यस कोभिड–१९ को महामारीबीच आमसञ्चार जगतले गर्दै गइरहेको छ ।

हिजोमात्र नेपालको एक चर्चित अनलाइन पत्रिकामा एक विवेचनात्मक विश्लेषण प्रकाशित भयो । जसमा आज आर्यघाटमा लाशको संख्या कमी हुनुमा निजी स्वास्थ्य संस्था कमजोर भएर त होइन् भन्ने तर्क गरिएको थियो । यति धेरै वुद्धि लगाएर विश्लेषण गर्नुहुने पत्रकार साथीले के बिर्सन भएन भने हाम्रो वर्तमान संविधानले स्वास्थ्यलाई मौलिक हक भनेर सुनिश्चित गरेको छ । अब स्वास्थ्य मौलिक हक हो भने अन्तिम अवस्थासम्म पनि आधुनिक विज्ञानद्धारा स्थापित सम्पूर्ण स्वास्थ्य सेवा पाउनु हो वा घरमै बसीबसी उपचार नपाएर मृत्युवरण गर्नु ?

कोभिड–१९ को महामारी बीचमा स्वास्थ्य क्षेत्रप्रति धेरै नै भ्रमपूर्ण आक्षेप लगाउँदा भोलि रोगले ग्रसित मानिस अस्पतालभन्दा टाढा भागिदिएमा महामारीले कस्तो रुप लेला ? के यसको कहिल्यै कल्पना मात्र पनि गर्नुभएको छ ? यसरी आशंकाकै आधारमा निजी क्षेत्रलाई अन्धाधुन्ध आक्रमण गर्दा उहाँले एउटा सानो तथ्यसम्ममा पनि ध्यान पु¥याउनु भएन छ । पछिल्लो दुई दशकमा उत्पादित तथा कार्यरत नेपाली चिकित्सकमध्ये ८० प्रतिशत निजी क्षेत्रबाट उत्पादित चिकित्सक छन् । यतिमात्र नभएर आज यस महामारीसँग जुध्नलाई सबैभन्दा आवश्यक पर्ने भेन्टिलेटर र आईसीयु बेड ८० प्रतिशतभन्दा ज्यादा निजी क्षेत्रसँगै रहेका छन् । के भोलिको दिनमा कोभिड–१९ संक्रमित बिरामीलाई आईसियुमा भर्ना गर्दा निजी क्षेत्रले लुटिदियो भनेर समाचार सम्प्रेषित गर्ने ?

अब यहाँ गम्भीर प्रश्न सिर्जना हुन्छ । के हामीले आम सञ्चार क्षेत्रलाई विशिष्टीकृत गर्ने बेला भएन ? स्वास्थ्य समाचार कसले दिने र सम्प्रेषण गर्ने, खेलकूद समाचार कसले लेख्ने र लेख्न पाउने ? आदि । कि हामीले हाम्रो आम सञ्चार क्षेत्रलाई सनसनीखेज कथा र प्लटहरु बुन्नकै लागि छाडिदिने ?

आम सञ्चारलाई विशिष्टीकृत गर्नुपर्छ भन्ने यसै प्रसंगमा हिजो प्रसारण भएको एक भिडियोको प्रसंंग जोडन पनि उपयुक्त देखिन्छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ज्वरो क्लिनिकमा कार्यरत कुनै एक चिकित्सकलाई आफूलाई सञ्चारकर्मी भन्ने एक महानुभावले सोध्नुहुन्छ, ‘ज्वरो आएको बिरामी किन भर्ना नगरेको ?’

जवाफमा चिकित्सकले भन्नुहुन्छ, ‘उहाँ बिरामीलाई ज्वरो आएको छैन । तपाई मेडिकल जर्नालिष्ट हो र ? तपाईलाई के आइडिया छ ?’

ततपश्चात निज सञ्चारकर्मी महानुभावले सोध्नुहुन्छ, ‘थर्मोमिटर नलगाई तपाईले कसरी ज्वरो आएको होइन भन्नुहुन्छ ।’

हेरौं त अब हाम्रो आमसञ्चारको अवस्था । हाल नेपालमा आम सञ्चार र सोसल मिडिया प्लाटफर्ममार्फत लगभग यो कुरा सबै सर्वसाधारणमा पनि पुगिसकेको छ कि कोभिड–१९ फैलिन नदिनका लागि थर्मोमिटर घुसाएर बिरामी हेर्ने होइन्, कि थर्मोगनले अलि दूरीबाटै शरीरको तापक्रम नाप्न सकिन्छ । अब हेरौ त एउटा मिडियाले यसरी समाचार दिदा भोलिका दिनमा अस्पताल आउने सबै बिरामीले थर्मोमिटरले ज्वरो नाप्न भने भने कोभिड–१९ को महामारीले कुन स्वरुप लेला ?

तसर्थ, यी सबै दृष्टान्तबाट के प्रष्ट हुन्छ भने हामीले हाम्रो आमसञ्चार जगतलाई विशिष्टीकृत गर्नैपर्छ । स्वास्थ्य पत्रकारिताका लागि केही निश्चित मापदण्ड तोकेर मात्रै स्वास्थ्य पत्रकारिता गर्न दिनुपर्छ । यसको सबैभन्दा उत्कृष्ट नमुना के दिन सकिन्छ भने आजको दिनमा स्वास्थ्य क्षेत्रमा विशिष्टीकरणको लागि निश्चित मापदण्ड र ज्ञान हासिल गरेका चिकित्सकहरुलाई दर्ता प्रमाणपत्र दिनका लागि परीक्षा लिएर प्रमाणपत्र दिने गरिन्छ । यसैगरी पत्रकारिता जगतमा समेत क्षेत्रगत हिसाबले विशिष्टीकरण गर्दै निश्चित मापदण्ड र आधारभूत ज्ञान पश्चात परीक्षा लिएर सम्बन्धित क्षेत्रको पत्रकारिता गर्ने लाइसेन्स दिन उपयुक्त हुन्छ ।

(डा. खत्री नेपाल मेडिकल काउन्सिलका कार्यकारी सदस्य हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ