२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारनेपाली औषधि कम्पनी ‘पोलिसी करप्सन’बाट प्रताडित छन्

नेपाली औषधि कम्पनी ‘पोलिसी करप्सन’बाट प्रताडित छन्


बाबुराम भट्टराई पूर्व अध्यक्ष,

नेपाल औषधि ब्यवसायी संघ

औषधि ब्यवसायीबाट औषधि उत्पादनतिर लाग्नुको कारण के हो ?
उत्पादनमा त म पहिलेदेखि नै आबद्ध छु । ओम फर्मास्टिकलमा अहिले पनि निर्देशक नै छु । यो रेमिडिज घर छेउमै छ । फर्मास्टिकलमा ठूलो लगानी भैसकेको छ । यो नेपालमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उत्कृष्ट खालको उत्पादन र छुट्टै खालको हर्मोन स्टेराइड उत्पादन कम्पनी हो । साथीहरुले नेतृत्वका लागि आग्रह गर्नुभयो । मलाई योग्य देखेर नै उहाँहरुले प्रस्ताव गर्नुभएको होला । बीचमा छाड्दा लगानी गर्ने मान्छे पनि सबै निस्क्रिय होलान भनेर नेतृत्व स्वीकार गरे । स्थापना हुँदैं गरेको कम्पनी अगाडि बढ्न सकेन भने केही गर्न पनि डराउने स्थिति आउँछ । त्यही भएर अगाडि बढियो । हामीले गरेर पनि धेरै कुरा हुन्छ, गुणस्तरीय काम गर्न सकिन्छ भनेर देखाउन अग्रसर भए ।
भोलि मेरो नातिले हेर्दा हजुरबुबाहरुले यति गरेछन्, अब मैले यो भन्दा धेरै गर्नुपर्छ भनेर अवस्था सिर्जना होस् । नत्रभने देश विकास नै हुँदैन् । अहिले आधा करोड मानिस वैदेशिक रोजगारमा भौतारिएका छन् भन्ने विवरण सार्बजनिक भइरहेका छन् । ती मान्छेहरुले यहीं रोजगार पाए भने त राम्रो हुन्छ । अन्यत्रभन्दा औषधि उत्पादक कम्पनीहरुमा राम्रो सेवा सुविधा पनि छ । त्यसैले कम्तीमा पनि नेपालीहरुलाई रोजगारी दिन सकियो भने विकास पनि हुन्छ र हामीले पनि यही केहि गर्न सकिन्छ भन्ने उद्देश्यले नै लागेका हौं ।

नेपालमा औषधि उद्योगको भविष्य कस्तो देख्नुभएको छ ?
नेपालमा औषधि व्यवसायको भविष्य छ, तर, लगानीअनुसारको बजार छैन । कुल जनसंख्या ३ करोडको हाराहारीमा छ । त्यसमा ५० लाख वैदेशिक रोजगारीमा छन् । अन्य ६० लाख जनसंख्या उच्च हिमाली क्षेत्रमा छ । त्यहाँ औषधिको पहुँच छैन । अझ औषधि किनेर खाने मान्छे झनै कम छन् । बाँकी बजार क्षेत्र र पहाडका तल्लो भागका केही मानिसमा मात्र क्रयशक्ति छ । पहिले मानिसहरुल औषधि मूलो बारे सोच्दैन थिए । हिमाली र उच्च पहाडी क्षेत्रमा त औषधिमूलो गर्नेभन्दा पनि झारफुक गर्ने, धामीकहाँ लाने चलन अझै पनि छ । अहिले शिक्षाको पहुँच भएको सहरी क्षेत्रमा औषधिबारे चेतना बढेको छ । हिजो नेपालको औसत आयु ४२ थियो, अहिले ७२ पुगेको छ । मातृशिशु मृत्युदर पनि धेरै कम भएको छ । बाल मृत्युदर घटेको छ । एक त चेतनाको कमीले गर्दा हो । अर्को कुरा चेतना छ । तर, औषधि किन्ने क्षमता छैन । सरकारले निःशुल्क दिने स्थिति छैन ।

गुणस्तरीय औषधि भनेर दाबी गर्नुहुन्छ । स्वदेशमै विश्वास नजितिरहेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा कसरी प्रतिस्पर्धा हुन्छ ?
बजार विस्तार गर्नेबारेमा सरकार कमजोर छ । हामीले जति नै गुणस्तरीय औषधि उत्पादन गरेपनि नेपालमा उत्पादन भएको भनेपछि अन्य देशले हाम्रो सरकारलाई विश्वास गर्न सक्ने स्थिति छैन । त्यसैले सबैभन्दा पहिले सरकार विश्वसनीये हुनुप¥यो । हाम्रो एउटा कार्यक्रममा स्वास्थ्य मन्त्रालयका ११ औं तहका एक ठूलै मान्छेले नेपालमा कस्तो क्वालिटीको औषधि उत्पादन हुन्छ म त खाँदै खान्नसम्म भने । स्वास्थ्य मन्त्रालयको सचिवको लाइनमा रहेका व्यक्ति नै नेपालमा उत्पादन हुने औषधिको गुणस्तरबारे अनविज्ञ छन् ।
औषधि कसरी बन्छ भन्ने बारेमा हामीले उनलाई धुलिखेलको एउटा कम्पनी देखाउन लग्यौं । पदमा पुग्ने धेरै मान्छेहरु आफ्नो योग्यता नभएर भनसुनमा पुगेको छन् । अरुलाई पनि आफूजस्तै सम्झन्छन् । तर, पहिले र अहिले धेरै फरक छ । सुरुमा जतिखेर नेपाली कम्पनीहरुको उत्पादन प्रयोग गर्न हामी पनि डराउँथ्यौं । तर, अहिले हामीले नेपाली कम्पनीको छ भने पहिले त्यो खोज्छौं, छैन भने मात्र अरु कम्पनीको खोज्छौं । अहिले विश्वसनीयता पनि बढ्दैंछ । डाक्टरहरुले पनि विश्वास गर्ने स्थिती छ ।

नेपालमा औषधि व्यवसायको भविष्य छ, तर, लगानीअनुसारको बजार छैन । कुल जनसंख्या ३ करोडको हाराहारीमा छ । ५० लाख वैदेशिक रोजगारीमा छन् । अन्य ६० लाख जनसंख्या उच्च हिमाली क्षेत्रमा छ । त्यहाँ औषधिको पहुँच छैन । अझ औषधि किनेर खाने मान्छे झनै कम छन् ।

नेपाली औषधि बजार कति छ ?
नेपाली कम्पनीले अहिले वार्षिक करिब २४÷२५ अर्ब रुपैया बराबरको औषधी कारोबार गर्छन् । जसको ५० प्रतिशत विक्री ५÷६ कम्पनीले नै गर्छ ।

तपाईहरु किन नयाँ प्रकारका औषधी उत्पादन तर्फ लाग्नुहुन्न ?

बजारमा सर्बेक्षण हेर्छन्, अनि जे चलिरहेको छ त्यतै लाग्छन् । अब नयाँमा क्यान्सरकै कुरा गरौं । नेपालमा क्यान्सरको औषधि उत्पादन कम्पनी खोल्नलाई लगानी बढी छ । लगानी अनुसारको विश्वास हुनुप¥यो, लगानी उठ्ने ग्यारेन्टी हुनुप¥यो । लाइफ सेभिङ ड्रगहरु, आईसियुमा बस्दा लगाउने एन्टीबायोटिक इन्जेक्सनहरु । अब त्यो इन्जेक्सन प्लान्ट लगाउन त लगानी भयंकर छ, बजार सानो छ । बाहिर पठाउन पनि सकिंदैन् । फर्मासिष्टहरु पनि पहिले जे बनाइरहेको छ त्यहि बनाउँदा उनीहरुलाई बानी परिसकेको हुन्छ । तर, इन्जेक्सन ग्रुपमा गयो भने त्यसैमा काम गरेको मान्छे खोज्नुप¥यो ।

मेडिकल क्षेत्रमा तपाईं व्यवसायी र उद्यमी हुनुभयो । बाहिर बजारमा माफियाको एउटा ठूलो तप्का छ, जसले गर्दा उत्पादन लागत र उपभोक्ताले तिर्ने मूल्यमा आकाश पातालको फरक छ भनिन्छ । यो खास के हो ?
अब यो क्षेत्रमा दुई—तीन वटा विषय छन् । औषधिको रेट घटबढ भइरहन्छ । किनकी, यो एक्सपाएर हुने कुरा हो । कसैले उत्पादन ग¥यो, करोडौं रुपैयाँको स्टक छ । डेट एक्सपाएर हुन एक डेड वर्ष छ भने उ त आत्तिन थाल्छ । आफ्नो बनाउँदाखेरि नै एक करोड लागेको छ, अब त्यो एक्सपाएर भयो भने त पुरै एक करोड गयो । त्यो भन्दा त बरु ५० लाख भए पनि आउँछ भनेर अन्तिम—अन्तिममा मान्छेलाई बेच्न पाए मात्र हुन्छ भन्ने मनस्थिति बनाउँछ । त्यसपछि उपभोक्ताले के भन्छन् भने यहि औषधि यतिमा आएको थियो अहिले यति प¥यो । एक्सपाएर नहुने भएको भए त त्यस्तो हुँदैन थियो ।

यो बीचको च्यानल लेयर धेरै भयो भन्ने विषयमा के भन्नु हुन्छ ?
यहाँ पहिलेदेखि भ्रष्टाचार बढी छ । धेरै अघि एक जना भारतीयले नुवाकोटकी एक महिलासँग विवाह गरेर उनकै नामबाट कारोबार गरे । अब उनको पावर यति कि सिधै स्वास्थ्यमन्त्रीको भान्छामा पुग्थ्यो । स्वास्थ्यमन्त्रीबाट राष्ट्रपति हुँदा उनलाई धर्मपुत्र भन्छन् । शितल निवास जान उनलाई कुनै रोकतोक छैन अरु सजिलै जान सक्दैनन् । त्यतिमात्र होइन्, औषधि व्यवस्था विभागमा उनले ल्याएको कुनै काम भएन भने त्यो विभागको हाकिम नै परिवर्तन हुन्छ । उनले सप्लाई गरेको मिसोक्रोस्टर हेर्नुस् । २ सय एमजीमा डेढ सय एमजी निस्कियो । उनले सप्लाई गरेको आइरन चक्की हेल्थपोष्ट नपुगी सबै कुहियो । तर, उनलाई केही गरिएन । हामीले धेरै सवाल उठाएपछि मात्र बल्ल उनी कालो सूचीमा परेका छन् । कालो सूचीमा परे पनि न उनीहरुले यस्ता गतिविधि गर्न त छोड्दैनन् । नेपालमा त्यस्ता धेरैले प्रश्रय पाएका छन् । हामी ब्यवसायीले औषधि बेच्नुप¥यो भने दौडिएका छौ । जिएमपी स्ट्याण्डर्डको, औषधि व्यवस्था विभागमा दर्ता भएको हुनु प¥यो । उनीहरुले ग¥यो भने स्ट्याण्डर्ड पनि चाहिएन । एक पटक सप्लाई गर्ने, उसले जति सप्लाई गरेको छ, त्योभन्दा कति वर्षदेखि कारोबार गरेको र त्यो कम्पनीले त्यति उत्पादन गरेको कारोबारको प्रमाण मात्र ल्याउनुप¥यो । इन्डियनको प्रमाण के छ भने नेपालमा सप्लाई गर्नु भनेको सरकारले जेमा भन्यो त्यसैमा छाप लगाइदिन्छ । सिकाएको त्यहि तरिकाले हो नि त । उनलाई मात्र दोष भएन् ।

भनेपछि, हाम्रो औषधि ब्यवसायमा सबैतिर भारतीय डोमिनेसन छ ?
भारतीय डोमिनेसन त स्वभाविक छ । भारतीयले डोमिनेसन गरे भनेर उनीहरुलाई गाली गर्नै पर्दैन । नम्बर वान के छ भने, नेपालीहरुले भारतमा गएर पढे । त्यहीँबाट औषधि जानेर आए । अब जुन जानिरहेको छ, त्यसैमा विश्वास गर्दो रहेछ । चाइनिजको त न अक्षर बुझे न भाषा नै बुझिन्छ । जहाँबाट आउँछ, त्यसैको विश्वास गर्ने न हो । त्यसपछि गरिरहेको ठाउँमा बिजनेस बढाउन त जसले पनि खोज्छ । आफूले गर्न नसकेपछि दोषी त हामी हौं । अब अहिले नेपालले पनि उत्पादन गरेको छ । कम्तिमा पनि आत्मनिर्भर भयो यहाँ गरिदिनुप¥यो भनेर सरकारले हिम्मत गर्नुप¥यो । यो त दुई—तीन वर्षदेखि चलिरहेको छ, तपाईंहरुले बुझ्नुभएको छ नि । यहाँ इण्डियाको माइक्रोम्यानेजमेन्ट हुन्छ ।

पोलिसी लेभलमा अहिले भएका समस्याहरु के—के हुन् ?
पोलिसी लेभलमा सबैभन्दा ठूलो समस्या भनेको भ्रष्टाचार नै हो । पोलिसी बनाउने स्थानमा भएको मानिसले आफ्ना फाइदा मात्र हेरेर पोलिसी निर्माण गर्छ । त्यो पनि एक किसिमको भ्रष्टाचार नै हो । जुन क्षेत्रमा पनि हेर्नुस्, के गर्दा आफूलाई फाइदा हुन्छ भन्ने छन् । अर्को कुरा नेपालमा औषधि उद्योग स्थापना गर्न गाह्रो छ । हाम्रो जत्रो कम्पनी इन्डियामा बनाउने हो भने, अहिले हाम्रो भएको खर्चको ५० प्रतिशतमा बच्छ । यहाँ एउटा इटाको १५÷१६ रुपैयाँ पर्छ भने उता ४ रुपैयाँ आइसीमा आउँछ । सिमेन्टको भाउ यहाँभन्दा आधामा आउँछ । हाम्रोमा कस्तो छ भने, केहि गल्ती ग¥यो जस्तो १०० वटा पोइन्टमा ९५ वटा पोइन्ट राम्रो छ, ५ वटा पोइन्ट नराम्रो छ भने त्यो ९५ वटा पोइन्ट राम्रो छ भन्दै भन्दैन । त्यो ५ वटालाई मात्र हिट गर्छ । हाम्रो एउटा प्रोडक्टको अनुमतिको लागि औषधि व्यवस्था विभागमा निवेदन दिन मात्र डेढ महिना लाग्यो । नेपालमा प्रत्येक कुरामा गाह्रो छ ।

हाम्रो देशमा जडिबुटी प्रचुर छ भनिन्छ, तर, कच्चा पदार्थ सबै किन भारतबाट आउँछ ?
जडिबुटि भनेको आयुर्वेदिकको विषय भयो । अहिले त जडिबुटीबाट पनि एलोपेथिक औषधि बनाउँछन् । अहिले त मलाई त्यति थाहा छैन, पहिले हुम्ला, जुम्लाबाट कच्चा पदार्थ आयो भने नेपालगञ्जबाट वुटवलतिर ल्याउँदाखेरि धेरै ठाउँमा घारा लगाएको हुन्थ्यो । त्यो प्रत्येक घारामा पैसा बुझाउँदै ल्याएर त्यहाँ लग्नुभन्दा उनीहरुले नपालगञ्जबाट सिधै इन्डिया फाल्दिएपछि एकै पटक उम्किगो । ५० रुपैयाँमा भारतले किनेर लान्छ, उतातिर एक्स्ट्राक निकालेपछि ५००० मा त्यही किनेर नेपाल ल्याउँछ । अनि, बल्ल एक्सट्राक निकाल्नेहरुको पनि त्यस्तो छैन । अहिले अब ६ नम्बर प्रदेशको एक—दुई जना मन्त्रीहरु एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ । उहाँहरु लागिरहनुभएको छ । मेरो विचारमा त्यति त सफल होला । हामीले नै गर्नुपर्छ भन्ने अलिकति चेतना आइरहेको छ ।

प्रशोधन गर्न थाल्यो भने त अलिकति सस्तो पनि पर्छ होला  ?
धेरै सस्तो पर्छ । यहीँ बुटवलमा लेमन पग्रासबाट तेल निकालिइन्छ । त्यसमा के छ भनेर हाम्रोमा ल्याब टेस्ट हुँदैन । त्यो तेल इन्डिया जान्छ, यहाँबाट सात आठ सय रुपैयाँ लिटरमा लैजान्छ । त्यसमा यो—यो छ भनेर प्रमाणित गरेपछि ३००० रुपैयाँ लिटरमा यहाँका आयुर्वेदिक औषधि कम्पनीले ल्याउँछ । अब अहिले अलिअलि चेतना आएको छ । जर्मनीमा पढाउने एक, दुई जना साइन्टीस्ट पनि हुनुहुन्छ । एक्सट्रेट निकालेर तत्वहरु के—के छ भनेर उहाँहरु नेपालमै पिएचडी गराउने, यहीं मास्टर्स लेभलको पढाउने प्रयासमा हुनुहुन्छ । अब उहाँहरुको गतिविधि कहाँसम्म पुगेको छ । २२ करोड रुपैयाँ चार नम्बर प्रदेशले छुट्याइदिएको छ भन्ने सुनेको छु ।

बेला—बेलामा नेपाली औषधिलाई बढावा दिनका लागि नेपाली औषधि प्रमोट गर्ने विषय पनि उठ्छन् । गगन थापा मन्त्री हुँदा पनि उठ्यो । यसले तपाईंहरुलाई केहि सहजता प्रदान ग¥यो जस्तो लाग्दैन ?
त्यस्तो कुरा मात्र उठेको छ, तर, लागु भएको छैन् । जति नेपालाम बिकेको छ आफ्नै बलबुताले डाक्टरहरुलाई अनुरोध गरेर मार्केटिङ टिमले अहोरात्र खटेको कारणले मात्र यति विकास भएको हो । यो सरकारभन्दा पहिले स्वास्थ्य मन्त्रालय छुट्टै थियो । त्यतिखेर औषधि व्यवस्था विभागमा एउटा प्याड छापेका रहेछन् स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभाग भएर । त्यो प्याड त्यत्तिकै रहिरह्यो । अनि फेरि मन्त्रालय मर्ज हुने बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भयो । अब यस्तै एउटा हाम्रो र मटेरियललाई स्वीकृती दिंदाखेरि एउटा स्वास्थ्य मन्त्रालयको प्याडमा छापिएछ । अर्को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्याडमा छापिएछ । नक्कली काम गरेछ भनेर ५ दिनसम्म भन्सारमा रोकियो ।

सरकारले नेपाली व्यवसायीलाई सहज बनाइदिन के—के गर्नुपर्छ ?
सरकारले गर्ने हो भने औषधि कम्पनीलाई चाहिने सामानलाई छुट दिनुप¥यो । त्यो नदिने हो भने भन्सार शुल्क मिनाहा गरिदिनुप¥यो । र, बंगलादेशले जुन सिस्टम लागु गरेको छ, त्यो सिस्टम नेपालमा पनि लागु गरिदिने हो भने नेपाली उद्योगी बाँच्छन् । मलाई अहिलेको भन्दा डबल रोजगारी सिर्जना हुन्छजस्तो लाग्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ