२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड-१९ को अवस्था, गुणस्तरीय परिवार योजना सेवाको निरन्तरताका उपायहरू

कोभिड-१९ को अवस्था, गुणस्तरीय परिवार योजना सेवाको निरन्तरताका उपायहरू


हाल विश्वव्यापी महामारी कोभिड-१९ को अवस्थामा परिवार नियोजन सेवासहित सबै प्रजनन स्वास्थ्यका सेवा प्रभावित भइरहेका छन् । जसको प्रत्यक्ष असर मातृ तथा शिशु/बाल स्वास्थ्यमा पर्न जान्छ । झट्ट हेर्दा र सोच्दा सर्वसाधारण र स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रका नीति निर्माताको लागि परिवार नियोजन सेवाको सुनिश्चितता कुनै प्राथमिकताको विषयमै पर्दैन । अझ कोभिड-१९ महामारीका बेलामा त यो विषय झनै छाँयामा परेको पाइन्छ । यस्तो बेला प्रदेश र स्थानीय तहका नेतृत्वलाई परिवार नियोजनको सेवामा लगानी बढाउँदा यसले मातृ, शिशु, बाल स्वास्थ्य, खोपजस्ता क्षेत्रको खर्चलाई दिगो रुपमा कम गर्न सकिन्छ भन्ने पैरवीको लागि निकै आवश्यक छ ।

विभिन्न अध्ययन/अनुसन्धानले यदि महिलाले दुई वटा गर्भको अन्तर २४ महिनाभन्दा कम भएमा कम तौलको बच्चा जन्मने, जन्मने बित्तिकै वा १ वर्षभित्रमा शिशुको मृत्यु हुने, जोखिम बढ्ने, बच्चाको स्याहारमा कमि, पोषणमा नकारात्मक असर, आमाको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्ने देखाएको छ । त्यसैले यदि परिवार नियोजन सेवाको प्रयोग गरी दुई वटा गर्भको अन्तर २४ महिना बढी गर्न सकिएमा यसबाट हुने मातृ मृत्युदर ३० प्रतिशत र शिशु मृत्युदर १० प्रतिशतले घट्ने विभिन्न अध्ययन/अनुसन्धानले देखाएको छ ।

महिलाको प्रजनन अधिकार सम्बन्धी विश्वव्यापी मान्यताअनुसार गर्भधारण गर्ने, सन्तान कति जना र कहिले पाउने विषयमा निर्णयको अधिकार महिला स्वयंको हुन्छ । नेपालको संविधानले परिवार नियोजन सेवालाई प्रत्येक महिलाको प्रजनन स्वास्थ्य अधिकारको रुपमा सुनिश्चित गरेको छ । नेपालमा परिवार नियोजन सेवाको अवस्थालाई हेर्दा विगतका दशकमा नेपाल सरकार र सहयोगी संस्थाहरूको प्रयासबाट गरिएका अनेकन प्रयासहरुको उपलब्धिको रुपमा गर्भ निरोधक साधनको प्रयोग दरमा क्रमिक वृद्धि, अपरिपूर्त माग तथा कूल प्रजनन दरमा कमी हुँदै आएको छ ।

सन् २०१६ को नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षणअनुसार आधुनिक साधनको प्रयोग दर ४३ प्रतिशत, अपरिपूर्त माग २४ प्रतिशत देखिएतापनि खास समूहजस्तै किशोर-किशोरी, दुर्गम तथा पिछडिएको क्षेत्र, १२ महिनाभित्र सुत्केरी भएका महिलाहरुको समूहमा अपरिपूर्त माग उच्च छ । यो कोभिड-१९ महामारीको अवस्थामा पनि परिवार नियोजन सेवाको माग बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रत्येक तह र स्वास्थ्य संस्थाबाट परिवार नियोजन सेवाको पहुँचलाई निरन्तरताका लागि निम्नानुसार पहल गर्न सकिन्छ ।

क) सुत्केरी पश्चातको परिवार योजना सेवाको पहुँच वृद्धि गरेर
सुत्केरी भएपछि पूर्ण स्तनपान गराउने आमाहरुमा ६ महिनासम्म स्तनपानले प्राकृतिक गर्भ निरोधको काम गर्दछ । तर, पूर्ण रुपमा स्तनपान नगराएमा आमाहरुमा सुत्केरी भएको २१ दिनदेखि नै गर्भधारण गर्ने क्षमता फर्किने हुनाले अनिच्छित गर्भधारण भई आमा र शिशुको ज्यान जोखिममा पर्न सक्छ।

नेपाल जनसांङ्खिक स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्यांकलाई पुन: अध्ययनको नतिजा अनुसार १२ महिनाभित्र सुत्केरी भएका महिलाहरुमा आधुनिक परिवार नियोजन साधनको प्रयोग दर २३ प्रतिशत, अपरिपूर्त माग ३१.५ प्रतिशत रहेको छ जसमध्ये १७.८ प्रतिशतले अस्थायी तथा १३.७ प्रतिशतले स्थायी रुपमा गर्भ रोक्न चाहन्छन र यो अपरिपूर्त माग घटाउन र छुटिरहेका)अवसरलाई उपयोग गर्नका लागि निम्नानुसारका प्रयोग गर्न सकिन्छ ।

 सबै संस्थागत सुत्केरी हुने महिलालाई लामो समयको परिवार नियोजन साधनको परामर्श गरी छनोटअनुसार सुत्केरीपछि तुरून्तै साधन (इम्प्लान्ट र आ.यु.सि.डी.) प्रदान गर्ने । यदि महिलालाई शल्यक्रियाबाट सुत्केरी गराएको भएमा र थप सन्तानको रहर पुगिसकेका महिलालाई (post tubal ligation) सेवा दिन सकिन्छ ।

 यदि इम्प्लान्ट र आ.यु.सि.डी. सेवा स्वास्थ्य संस्थामा उपलब्ध नभएमा वा सुत्केरीपछि तुरुन्त सेवा लिन नसकेको खण्डमा कोभिड-१९ जस्तो महामारीको समयमा नेपालमा खोप सेवा सुचारु भइरहेको हुँदा सो समयमा त्यस्ता महिलाहरुलाई बच्चालाई खोप लगाउनका लागि खोप केन्द्रमा आएको अवसरमा परिवार नियोजनको परामर्श गरी छनोटअनुसार गर्भनिरोधक साधन प्रयोग गर्न सहयोग गरी महिलाको प्रजनन स्वास्थ्यलाई थप सुदृढ बनाउन सकिन्छ ।

सुत्केरी अवस्थामा महिलाले परिवार नियोजनका साधनहरु प्रयोग गर्न योग्य हुन्छन् । यसका लागि पूर्व प्रसुती सेवादेखि नै महिलालाई प्रजनन आवश्यकताअनुसार गर्भ निरोधका साधनको छनौटका बारेमा परामर्श गरी तयार गरेमा सुत्केरी पश्चातको समयमा महिलाहरुले गर्भ निरोधका साधन प्रयोग गरी पुन: तुरुन्तै गर्भवती हुने जोखिम घटाइ महिलाले स्वस्थ जीवन जिउन सक्छन्।

ख) गर्भ निरोधक साधनको उपलब्धता वृद्धि गरेरः

 प्रत्येक स्थानीय तहको जिम्मेवारीमा रहेको आधारभूत स्वास्थ्य सेवाभित्र परिवार नियोजन सेवा पर्ने हुँदा स्थानीय सरकारको समन्वयमा मानिसको बढी चहल पहल, आवत जावत हुने ठाँउमा कण्डम बक्स राखेर आवश्यक पर्नेहरूका लागि सहज रुपमा कण्डमको पहुँच बढाउन सकिन्छ ।

 महिला स्वयंमसेविका र अन्य प्रजनन स्वास्थ्यमा कार्यरत संघ सस्थाका स्वयंमसेवक र सामुदायिक स्वास्थ्यकर्मीमार्फत कण्डम र पिल्सको वितरणको ब्यवस्था मिलाउन सकिन्छ ।

 रोभिङ अनमी, भिजिटिङ सर्भिस प्रोभाइडरमार्फत अन्य प. नि साधनको वितरण र उपलब्धताको ब्यवस्था मिलाउन सकिन्छ ।

 महामारीको समयमा भइरहेको बन्दाबन्दीको कारण हुने असहजतालाई मध्यनजर गरी नजिकको गैरसरकारी तथा निजी क्लिनिकबाट पनि आवश्यक सेवाग्राहीले सेवा पहुँच गर्न सक्ने गरी ब्यवस्था मिलाउन सकिन्छ ।

 केही छुटिरहेका वर्ग तथा समुदाय जस्तैः अपांग, लैगिंक अल्पसांख्यिकहरु महामारीका बखत सेवाको पहुँच हुन समस्या भइरहेको हुन सक्ने हुँदा यी समुदायलाई पनि सेवा पहुँच गर्न सक्ने गरी ब्यवस्था मिलाउन सकिन्छ ।

ग) लामो अवधिको गर्भ निरोधक साधन (Implant, IUCD) सेवाको वृद्धि गरेर

कोभिड-१९ जस्तो महामारीको समयमा महिलाहरुको स्वास्थ्य संस्थाको भेटलाई कम गर्न, संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सामान्य अवस्थामा र सुत्केरी पश्चातको समयमा लामो अवधिको गर्भ निरोधक साधन (इम्प्लान्ट, आई.यु.सि.डि.) प्रभावकारी हुने विज्ञहरुको राय छ ।

घ) गर्भपतन सेवा पश्चातको परिवार नियोजन सेवाको पहुँच सुनिश्चित गरेर
Guttmacher Institute र CREHPA को एक अध्ययनअनुसार, नेपालमा वर्षेनी अनुमानित ५ लाख ३९ हजार अनिच्छित गर्भ अर्थात कुल गर्भ धारणको ४५ प्रतिशत हुने पाइएको छ । हाल नेपालमा वर्षेनी करिब एक लाख महिलाहरूले सुरक्षित गर्भपतन सेवा लिन आउने गरेको पाइन्छ।

सो सेवा लिन आएका महिलालाई परिवार नियोजन सेवाको परामर्श र सेवा प्रदान गर्ने अति उत्तम समय हो । यस महामारीको समयमा र नियमित अवस्थामा पनि सबै सुरक्षित गर्भपतन सेवा केन्द्रहरुमा परिवार नियोजन सेवाको विस्तार गरी सुनिश्चिचत गर्नु पर्दछ ।

ङ) किशोर किशोरी मैत्री परिवार नियोजन सेवा प्रदान गरेर
नेपालको सरकारले ‘विहेवारी २० वर्ष पारी’को कानुनी प्रावधान गरेपनि अझ पनि २० वर्षअघि नै विहे गरी बच्चा जन्माउने गरेको तथ्यांक उल्लेखनीय छ। साथै स्वास्थ्यकर्मीहरूले किशोर-किशोरीलाई परिवार नियोजन सेवा प्रदान गर्न केही भेदभाव गरेको पाइन्छ । प्रत्येक स्वास्थ्य संस्थाबाट किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गरेर परिवार नियोजन सेवा सम्बन्धि परामर्श, सूचना र सेवा प्रदान गर्न सकेमा यसबाट धेरै किशोर-किशोरीहरूलाई परिवार नियोजन सेवा सुनिश्चित गर्न सकिन्छ ।

परिवार नियोजन सेवाले महिलाको स्वास्थ्यलाई प्रवर्द्वन गर्ने मात्र हाेइन्, बच्चाको मृत्युदरलाई कम गर्नका साथै उनीहरुको स्वास्थ्य तथा पोषणको अवस्थालाई सुढृढ गर्न सहयोग पुग्छ । महिला र बाल स्वास्थ्यतर्फ हामीले पूरा गर्नुपर्ने लक्ष्य तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतिवद्दताका लक्ष्य प्राप्तिका निम्ती मात्र नभई परिवार नियोजनको सेवामार्फत मातृ तथा बाल मृत्युलाई सुधार गर्न र परिवार नियोजनबाट प्राप्त हुने अन्य धेरै फाइदाहरू प्राप्त गर्न सहयोग पुग्न सक्छ । त्यसैले महिला र दम्पतीको परिवार नियोजनको पहुँच र प्रयोगलाई यस महामारी अवस्थामा पनि सुनिश्चित गर्न जरुरी छ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ