२०७९ असोज १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारखुशी चिकित्सक र गुणस्तरीय स्वास्थ्य सेवा

खुशी चिकित्सक र गुणस्तरीय स्वास्थ्य सेवा


डा. प्रमोद बराल
सह—प्राध्यापक, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

वि.सं १९४७ मा वीर अस्पतालको स्थापनाबाट सुरु भएको नेपालको आधुनिक चिकित्सा पद्धती एवं विकास वि.सं. २०३५ सालबाट त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा सुरु भएको एमबीबीएस अध्ययन अध्यापनले नेपाली चिकित्सा सेवालाई नयाँ चरणमा प्रवेश ग¥यो । आधुनिक चिकित्सा अध्ययन पद्धतीको विकासले वर्तमान अवस्थामा स्वास्थ्यका सूचांकमा आएको सुधार गौरव गर्न लायक छ ।

प्रजातन्त्र प्राप्तिपछि नेपालमा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने गरी भएका प्रगति नै यिनै हुन् भनेर सरकारले भन्न पाएको छ । तर, यो क्षेत्र र यसमा होमिएका यस देशका चिकित्सकहरु भने दिनहुँ अनेकन चुनौतीको सामना गर्न बाध्य छन् । स्वास्थ्य सेवालाई जनताको मौलिक अधिकारको रुपमा संविधानमा कोरिएता पनि समग्र स्वास्थ्य सेवा र विशेषगरी चिकित्सा सेवा क्षेत्र राज्यबाट उपेक्षित छ ।

चिकित्सा शिक्षा क्षेत्रमा बेलगाम व्यापारीकरण, स्वास्थ्य सेवा क्षेत्रको निजीकरण एवं व्यापारीकरण, राज्यको उचित लगानी एवं संरक्षणको कमी, जनशक्ति आवश्यकता र उत्पादनका बीचमा रहेको असन्तुलन, दशाैं वर्ष र करौडौंको खर्च पश्चात् उत्पादित जनशक्तिको उचित तथा वैज्ञानिक व्यवस्थापन गर्ने क्षमतामा रहेको कमजोरीजस्ता कारणबाट उत्पन्न समस्याबाट गुज्रिनु पर्दा आजका चिकित्सकहरुका लागि स्वास्थ्य सेवाको गुणस्तर कायम राख्नु चुनौतीपूर्ण छ ।

आधारभूत प्राथमिक स्वास्थ्य सेवा प्रदान गरी दूरदराजका जनतालाई चिकित्सा सेवा प्रदान गर्ने दायित्वमा समेत सरकार सधैं असफल रहँदैं आएको छ । अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा उचित पूर्वाधारको अभाव छ भने चिकित्सकलाई उचित स्वास्थ्य सुविधाको कमी रहेको छ । जीवन धान्न समेत नपुग्ने तलब सुविधाका कारण चिकित्सकहरु पिरोलिरहनु परेको अवस्थामा छ । तथापि, यही अवस्थामा काम गर्दागर्दै पनि सुरक्षित एवं भयरहित वातावरणमा काम गर्न सक्ने अवस्थामा छैन ।

चिकित्सकहरुको दक्षताको विकासको लागि अत्यावश्यक वातावरण तथा अवसरको कमी छ । यी र यस्तै अनगिन्ती कारणले नेपालका चिकित्सकहरुले चाहदाचाहदैं पनि विशुद्ध सेवाभावले आफ्नो स्वास्थ्य सेवामा रही पूर्ण क्षमताका साथ काम गर्ने अवस्था बन्न सकेको छैन । सकि नसकि बिहान उठेदेखि रातिअबेरसम्म मरिहत्ते गरेर दौडनुपर्ने बाध्यता छ । आफ्ना न्यूनतम आवश्यकता परिपूर्ति गर्ने शिलशलिामा उत्पन्न मानसिक तनाव, अस्वस्थ्यकर जीवनयापन, पारिवारिक तथा सामाजिक जीवनमा आउने बेमेलको अवस्था आजको आम चिकित्सकहरुको वास्तविकता बन्न पुगेको छ ।

फलस्वरुपः तीव्र आर्थिक विकासको चरणमा जाँदैं गरेको भनिएको देशका जनता आफ्नो अति आवश्यक स्वास्थ्य सेवाको समेत नपाएर वर्षेनी अकालमा ज्यान गुमाइरहेका छन् । राज्यले वर्षेनी स्वास्थ्य क्षेत्रमा अर्बाै रुपैंयाँ लगानी गर्दापनि त्यसको खासै प्रतिफल देखिदैंन् । हुँदा खानेहरु भगवान भरोसमा बाँच्नु परेको छ भने हुनेखाानेहरु विदेश गएर उपचारमा करोडौं खर्चेर फर्किन्छन् । अर्कातिर, २५००० चिकित्सक मेडिकल काउन्सिलमा दर्ता भएको अवस्थामा समेत दूरदराजका गरिब र श्रमजीवि जनताको विश्वासिलो अस्पतालको कमी, सरकारी स्वास्थ्य केन्द्र एवं दुर्गम ठाउँका प्रायः अस्पतालमा अविछिन्न चिकित्सकको कमी, अस्पताल र चिकित्सक भएका ठाउँमा समेत अत्यावश्यक उपकरण र प्रविधिको कमीजस्ता समस्याका कारण अकालमै मृत्युको मुखमा पुग्न बाध्य छन् ।

यस्तो राज्यव्यवस्थाको कमजोरीका कारण सृजित समस्याले उत्पन्न गराएको गुणस्तरीय स्वास्थ्य सेवाको कमीको प्रमुख कारण ‘दुःखी चिकित्सक, असुरक्षित चिकित्सा पेशा’ रहेकोमा दुईमत छैन । जनताको मौलिक हकका रुपमा संविधान प्रदत्त अधिकार सुनिश्चिताका लागि एवं गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिका गर्नका निम्ति ‘सुरक्षित पेशा खुशी चिकित्सक’ हुन अत्यावश्यक देखिन्छ ।

यो अवस्थाको सिर्जना कसरी गर्ने त ? समयले आफै मिलाउछ भन्ने सोच्ने ? अमुक राजनैतिक नेतृत्वले गर्देला भनेर कुर्ने ? अवस्थाको फाइदा उठाउँदैं आफ्नै दुनो सोझाउन मात्र लाग्ने ? कि अब केही हुनेवाला छैन यो देशमा भनेर विदेशतिर भाँसिने ? सबै प्रश्नहरुको उत्तर एउटै हुन सक्छ—समस्याका भुक्तभोगी हामी सबै मिली यो क्षेत्रको व्यवस्था नै परिवर्तन गर्ने गरी एउटा संयुक्त अभियानको थालनी गर्ने । सबै सामु छर्लङ्ग हुनेगरी बाहिर ल्याउने, विचार विमर्शको माध्यमबाट सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मी साथीहरुलाई गोलबन्द गरी आफ्नो समस्याको समाधानमा हातेमालो गर्ने । वैचारिक स्पष्टता सुदृढ गर्दै हुँदै जाला । सुरुवाती अभियानका रुपमा हामीसँग गोलबन्द भएका साथीभाईको विचार एवं सुझावका आधारमा निम्न विषयहरुलाई प्रमुखता साथ अगाडि बढाउनु पर्दछः

पेशागत सुरक्षा
वैज्ञानिक पारिश्रमिक
वैज्ञानिक ड्युटी आवर
विशेषज्ञताको अवसर

यी विषयहरुको उचित सम्बोधन हुन सकेमा ‘सुरक्षित पेशा खुशी चिकित्सक’ एवं समस्त स्वास्थ्यकर्मीद्वारा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने समृद्व नेपालका नेपाली सुखी हुने दिन टाढा छैन ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)