२०७८ भदौ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड-१९ खोपको थप मात्रा (तेश्रो डोज) कसलाई आवश्यक छ ?

कोभिड-१९ खोपको थप मात्रा (तेश्रो डोज) कसलाई आवश्यक छ ?


हाल विश्वमा एक वा दुई मात्राको डोज लगाउने खोपहरु उपलब्ध छन्। नेपालमा कोभिशिल्ड (एक्स्ट्राजेनेका), भेरोसेल (सिनोफर्मा) र जान्सेन (जोन्सन एण्ड जोन्सन) का खोपहरु दिइरहेका छन्। यिनीहरु पनि दुई वा एक डोज (मात्रा) लगाउने खोपहरु हुन्। तर, हालै कोभिड-१९ विरुद्ध थप अर्थात् तेश्रो डोज दिने भनेर अमेरिकाको सीडीसीले सिफारिस गरेको छ। थप अर्थात् तेश्रो डोज भनेको के हो?

खोपले सबै प्रापकमा समानस्तरमा एन्टीबडी उत्पादन गर्दैन अर्थात् सबैको शरीरले खोपसँग उस्तै/समान प्रतिक्रिया जनाउँछ भन्ने हुँदैन। लेखकसँग सम्पर्कमा रहेका कतिपयले खोपको दुई डोज लगाएको भएतापनि एन्टीबडीको स्तर शुन्य देखेको थियो। हालसम्म गरिएका विभिन्न अनुसन्धानहरुले खोपको पूर्ण मानिएका (एक वा दुई डोज) डोज दिँदा पनि केही समूहमा विशेषत प्रतिरक्षा सम्झौता ( immunocompromised ) भएकाहरुमा भने एन्टीबडीको स्तर सन्तोषजनक देखिएन्।

अझ सरल भाषामा भन्नु पर्दा विभिन्न रोग वा औषधीहरुको कारणले गर्दा शरीरको रोगसँग लड्ने क्षमतामा ह्रास आउँदा/गराउँदा वा दबाउँदा प्रतिरक्षा सम्झौता (immunocompromised) हुने गर्दछ। नेपालमा यस्ता समस्या भएकाहरुका संख्या कति छन् भनेर एकिन तथ्यांक त छैन तर प्रतिरक्षा सम्झौता (immunocompromised) भएकाहरु वा गराउने औषधी प्रयोग गर्नेहरु बढ्दै जाँदा यस्तो अवस्था भएकाहरुको संख्या वर्षेनी बढ्दै गइरहेको अनुमान भने गर्न सकिन्छ।

प्रतिरक्षा सम्झौता (immunocompromised) भएका भन्नाले कस्तो अवस्थालाई बुझाउँछ भन्नेमा धरैलाई जिज्ञासा हुनसक्दछ । यी निम्न अवस्था भएकाहरुमा प्रतिरक्षा सम्झौता (immunocompromised) हुन सक्दछन् ।

१) क्यान्सरको सक्रिय उपचार गरिरहेकाहरु।
२) अंग प्रत्यारोपण गरेर शरीरको इम्युनिटी प्रणालीलाई दबाउने औषधीहरु प्रयोग गरिरहेकाहरु।
३) उपचारमा संलग्न नभएका एचआईभी संक्रमितहरु।
४) लामो समयदेखि कुनै कारणले गर्दा स्टेरोएड (steroid) औषधी लिइरहेका।
५) प्रतिरक्षा सम्झौता (immunocompromised) गराउने अन्य स्वास्थ्य समस्या भएकाहरु।

विश्व प्रशिद्ध ‘न्यु इंगलैंड जर्नल अफ मेडिसिन’ मा प्रकाशित अनुसन्धानले अंग प्रत्यारोपण गरेकाहरुमा फाइजर-एन-बायोटेकको खोपले कसरी प्रतिक्रिया जनाउँछ भनेर गरेको अनुसन्धानको नतिजा प्रकाशित गरेको थियो। त्यसमा पहिलो डोज लगाउँदा ४% , दुई डोज लगाउँदा ४०% र तेश्रो डोज लगाउँदा ६८% मा एन्टीबडी विकास भएको देखिएको थियो । दुई डोज लगाउँदा ०% देखिएकाहरुमा तेश्रो डोज लगाएको चार हप्तापछि ४४% मा एन्टीबडी विकास भएको थियो । जेष्ठ नागरिकहरुमा खोपपछि पर्याप्त एन्टीबडी विकास नहुने समस्या बढी देखाएको थियो । तेश्रो डोज लगाई सकेकाहरुमा खासै स्वास्थ्य समस्याहरु भने देखिएन्।

यो अनुसन्धानमा पहिलो र दोश्रो डोजको खोप एक महिनाको अन्तरालमा र तेश्रो डोज झन्डै साठी दिनको फरकमा दिइएको थियो। तर, अमेरिकाको सिडीसी हालै समीक्षा गरेर बनाएको निर्देशिकामा भने दोश्रो डोज लगाएको चार हप्तापछि लगाउन सिफारिस गरिएको छ । र, तेश्रो डोज पनि फाइजर-एन-बायोटेकको नै लगाउन सुझाइएको छ।

यी माथि चर्चा गरिएको थप वा तेश्रो डोज फाइजर-एन-बायोटेकको खोपसँग सम्बन्धित छ । तर, नेपालमा भने एक्स्ट्राजेनेका (कोभिशिल्ड), भेरोसेल तथा जान्सेनका खोपहरु दिएका/दिइरहेका छन्। यी खोपहरुको तेश्रो डोज प्रतिरक्षा सम्झौता (immunocompromised) भएकाहरु दिनुपर्ने कि नपर्ने भन्ने पर्याप्त अनुसन्धान वा निर्देशिकाहरु बनेका भने छैनन्। नेपालले पनि आफ्नो देशमा हुने सहज उपलब्धता वा लगाइरहेका खोपहरुको आधारमा अनुसन्धानहरु गरी यस्ता समूहमा (प्रतिरक्षा सम्झौता भएकाहरु) पर्ने हरुको लागि निर्णयहरु गर्न सक्दछ।

कोरोनाको उतारचढाव निरन्तर देखिरहँदा प्रतिरक्षा सम्झौता (immunocompromised) भएकाहरु कोभिड-१९ को उच्च जोखिममा रहि रहनेछन् । युकेमा गरिएको अनुसन्धानमा अंग प्रत्यरोपण गरिएकामध्ये एउटा पनि खोप नलगाएका संक्रमितहरुमा चालिस प्रतिशतको मृत्यु भएको नतिजा प्रकाशित भएको थियो भने दुई मात्रा डोज खोप लगाइसकेका संक्रमितहरु मध्येमा भने आठ प्रतिशत मात्रको मृत्यु भएको थियो अर्थात् मृत्युदर पाँच गुणाले कमी हुने देखिएको थियो । तसर्थ, नेपालले पनि प्रतिरक्षा सम्झौता (immunocompromised) भएका समूहको बारेमा आवश्यक ‘खोप रणनीति’ बनाउन जरुरी छ र त्यस्तो निर्देशिका प्रयोग गर्ने/गरिरहेका खोपहरुको आधारमा विकास गर्न इच्छाशक्ति भए सक्षम पनि छौं । यस्तो निर्देशिका दक्षिण एसियाली तथा अरु देशहरुको (जसले फाइजर वा मोडर्नाका खोपहरु प्रयोग गरेका/गरिरहेका छैनन्) लागि पनि नमुना हुनसक्दछ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #एन्टीबडी, #कोभिड-१९ खोप, #डा. शेरबहादुर पुन, #तेश्रो डोज, #फाइजर वा मोडर्ना, #शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)