२०७८ असोज ३०, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘चार-पाँच वर्षभित्र सिभिल अस्पताल ८ सयदेखि १ हजार शैय्यासम्मको बनाउँछौं’

‘चार-पाँच वर्षभित्र सिभिल अस्पताल ८ सयदेखि १ हजार शैय्यासम्मको बनाउँछौं’

८-१० वर्षभित्रमा एमडी, एमएस, डिएम चिकित्सकहरु उत्पादन गर्छौ


डा. विधाननिधी पौडेल सिभिल सर्भिस अस्पतालका कार्यकारी निर्देशक हुन् । काठमाडौंको मुटुमा रहेको यो अस्पतालले मासिक २ लाख ७० हजार बढी बिरामीलाई सेवा दिन्छ । ६ महिनाअघि अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका डा. पौडेल यसलाई बढाएर ओपीडी दैनिक २ हजार र भर्ना हुनेको संख्या १ हजार बढी बनाउने गरी काम गर्नुपर्नेमा जोड दिन्छन् । यति भएमा सिभिल अस्पतालमा निजामती र सर्वसाधारण दुवैलाई पूर्ण रुपमा सेवा दिन सकिने उनको दावी छ । डा. पौडेलसँग उनी कार्यकारी निर्देशक नियुक्त भएयता अगाडि बढाएका काम, अस्पतालका समस्या, भावि योजनालगायतका विषयमा केन्द्रीत रहेर हेल्थआवाजले गरेको कुराकानीः

निजामती अस्पताललाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
पुरानो हिसाबले चलिरहेको ठाउँमा हामी केही सुधार गरौं भनेर लागिरहेका छौं । १२ वर्षदेखि कर्मचारीहरु केही स्थायी, करार र ज्यालादारी सिष्टममा रहेछन् । यसलाई परिवर्तन गर्नुपर्छ, यसले हस्पिटललाई गाह्रो हुन्छ । तीन थरिका कर्मचारी भएपछि कर्मचारीहरुको बीचमा पनि समन्वयमा समस्या रहन्छ । स्थायीलाई म स्थायी हुँ भन्ने हुन्छ भने ज्यालादारीको अन्य सेवासुविधाको कुनै ग्यारेण्टी भएन् । यसलाई सुधार गरेर एकरुपता ल्याउनुपर्छ । करारका कर्मचारीहरुले लोकसेवाजस्तै गरेर करारमा सेवा सुरु गर्नुभएको रहेछ, सिमित प्रतिस्पर्धामा उहाँहरुलाई स्थायी गराउने भन्ने रहेछ ।

०७२ सालपछि त्यो प्रक्रिया रोकियो । ०६५ सालमा आएको कर्मचारी ०७२ सालमा नियम परिवर्तन भएपछि उमेरका हिसाबले पनि नमिल्ने भयो । ०७७ सालमा आइपुग्दा त १२ वर्ष भइसक्यो । उहाँहरुलाई स्थायी हुने कुरा अब उमेर हदका कारण पनि समस्या हुने भयो । उमेरका हिसाबले गाह्रो पर्ने करारका कर्मचारीहरुलाई कसरी सम्बोधन गर्ने, अहिले हस्पिटललाई यहाँसम्म ल्याउनका लागि पनि उहाँहरुको भूमिका छ । नेपाल सरकारको स्थायीलाई प्रतिस्पर्धाबाटै लिने र करारलाई विस्थापित गर्ने भन्ने छ । त्यसकारण पुराना कर्मचारीलाई कसरी एड्रेस गर्नेमा भन्ने हामीले काम गरिरहेका छौं । त्यसका लागि हामीले करार कार्यविधी बनाएका छौं । त्यसले यसलाई केही न केही एड्रेस गरेको छ । त्यसमा कर्मचारीले चाहेमा वर्षैपिच्छे थप्न मिल्ने व्यवस्था गरिएको छ । तर, लिखित रुपमै लेख्न नमिल्ने रहेछ । त्यो लेख्यो भने नजिर बन्दोरहेछ ।

त्यसो भए यसको समाधान के त ?
मुख्यसचिव नै अस्पताल बोर्डको अध्यक्ष हुनुहुन्छ । सामान्य प्रशासन, राजस्व, अर्थ, स्वास्थ्य, कानुनको सचिव बोर्डको सदस्य हुनुहुन्छ । म त कार्यकारी सदस्य मात्रै हुँ । उहाँहरुले लेख्दाखेरि नजिर बन्छ । सकेसम्म यो समस्यालाई कसरी सम्बोधन गर्ने भन्नेमा उहाँहरु पनि सकारात्मक हुनुहुन्छ । करार कार्यविधीले करारमा कतिसम्म के गर्न सकिन्छ त्यो सम्बोधन भएपछि स्थायीत्व आउँथ्यो । त्यसपछि बाँकी रहेका पदहरुमा आवेदन खोलेर प्रतिस्पर्धाबाट पूरा गरेपछि अस्पतालले गति लिन सक्थ्यो । अहिले कर्मचारीकै समस्यामा मात्रै केन्द्रीत हुने हो भने अन्य कुराहरुमा गति लिन नसक्ने भयो । अहिले यहाँ बिरामीको चापले टिकट नै पाउन मुस्किल छ । अहिले माग बढी सेवा कम भएको अवस्था छ । सेवा विस्तार गर्न सकेमात्रै आम मानिसले बढी सेवा पाउँछन् । अहिले माग बढी भयो रिसोर्सहरु कम भयो । डाक्टर बढाउनुपर्नेछ, सुपरस्पेशसियालिटी सेवा दिनका लागि विशेषज्ञहरु राख्नुप¥यो ।

भौतिक पूर्वाधारको अवस्था के छ ?
हामी सेवाहरु विस्तारै गर्दै जाँदा त्यहीअनुसार भौतिक पूर्वाधारहरु बनाउनुपर्नेछ । यहाँ ओपीडी निकै सानो छ, वीर अस्पतालमा चार तलाको ओपीडी छ । यहाँ एक तलाको मात्रै छ, स्पेश एकदमै सानो भयो । जसका कारण हामीले सेवासुविधा बनाउनका लागि रेडियो थेरापीको भवनमा रहेको ठाउँमा ओपीडी भवन बनाउने योजना बनाएका छौं । ओपीडीको सात तला बनाएमा जति पनि बिरामी हेर्न सकिन्छ । अहिले दैनिक ओपीडीमा ८ सय जना बिरामी हेरिरहेका छौं, त्यो बन्यो भने १६ सय जना बिरामी हेर्न सक्छौंं । अर्को कुरा सिभिलमा विशेषज्ञ चिकित्सकले मात्रै बिरामी हेर्नुहुन्छ । प्रयोगशाला गुणस्तरीय छ, सिटी, एमआरआई, एक्सरे जस्ता उपकरणहरु गुणस्तरीय छन् । सिभिल अस्पतालमा सबै सेवाहरु गुणस्तरीय छन् ।

अहिले सिभिल अस्पतालमा कति जनशक्ति कार्यरत छ ?
लगभग ५ सय जनशक्ति कार्यरत छ । विशेषज्ञ चिकित्सक ५८ जना हुनुहुन्छ, सबै चिकित्सक १ सय ५० भन्दा बढी छन् । १ सय ५० बढी नर्स छन् । भने यो बढी नै हो । ज्यालादारी, करारको जनशक्ति पनि छ । यिनै कर्मचारीहरुलाई हामीले गोलबन्द गर्न सकेर स्थायी र करारमा लगियो भने यही जनशक्ति पनि पुग्ने अवस्था छ । तर, कर्मचारी अस्थायी भएका कारण अस्थिर भयो । अहिलेको कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ । अहिले कर्मचारीको मनोबल बढाउनका लागि सेवा सुविधा पनि बढाइदिएका छौं । चिकित्सक भन्दा अन्य कर्मचारीले ६० प्रतिशत पाउनुहुन्थ्यो, हामीले १ सय प्रतिशत बनाइदिएका छौं । सरकारी कर्मचारीजस्तै बनाइदिएका छौं । कपडा भत्ता, महंगी भत्ता, दशै खर्चलगायतका भत्ताहरुको पनि व्यवस्था गरेका छौं ।

सिभिल अस्पतालमा पटक—पटक कर्मचारीहरु आन्दोलन गर्छन् । अहिले उनीहरुका माग सम्बोधन भएका हुन् ?
सेवासुविधाका हिसाबले भने उहाँहरुले भनेभन्दा पनि बढी सम्बोधन भएको छ । उहाँहरुले मागेभन्दा बढी सेवा सुविधा थपेका छौं । चिकित्सक भने अलि घटेको छ, उहाँहरुले पहिले अलि बढी पाउनुहुन्थ्यो । यसैमा पनि कसैलाई चित्त बुझ्दैन् । वीरमा १८ महिनादेखि भत्ता पाएका छैनन् ।

अस्पतालमा सेवा विस्तारका के—के योजना छन् ?
५० वेडको कोभिड हस्पिटल अब एक महिनामा सुरु हुन्छ, त्यसमा कर्मचारीहरु पनि थप्नुप¥यो । १ सय १५ बेडको सर्जिकल भवन चिनियाँहरुले हस्तान्तरण गर्ने क्रममा छ । यो दुवै जोड्दा साढे तीन सय बढी बेड हुन्छ । अहिले १ सय ३२ वेड भएको ठाउँमा ३ सय ५० बेड हुन्छ । त्यो भएपछि हामीले डबल म्यानपावर थप्नुपर्छ । काम डबल हुने भयो तर ओपीडी हेर्ने ठाउँ त एकै छ । ओपीडी पनि विस्तार गर्ने योजनामा छौं । अहिले हामीसँग जम्मा ४ वटा आईसीयु छ, १६ को मोडुलर आईसीयु बनाउँदैछौं । कोभिड—१९ अघि एउटा पनि आईसीयु नभएको ठाउँमा १५ वटा आईसीयु बनायौं । त्यसलाई पनि निरन्तरता दिन्छौं । सर्जिकल भवनमा १२ वटा आईसीयु बनाएर ५० वेड आईसीयु बनाउने योजना छ । चार पाँच वर्षभित्र ८ सय देखि १ हजार शैय्याको अस्पताल बनाउँछौं । अनिमात्र कर्मचारी र सर्वसाधारणलाई सबै सेवा दिन सकिन्छ । यो सेवाहरु विस्तार गरियो भने थप जनशक्तिका लागि ओएनएम गर्नुपर्छ ।

सिभिल अस्पतालका चुनौतीहरु के छन् ?
मुख्य समस्या कर्मचारीको हो । यहाँका करारका कर्मचारीलाई व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । किनभेन, नियमकानुनले एउटा भन्छ, कर्मचारीको माग अर्को छ । मैले आफैले स्थायी गरिदिन सक्ने भए अलग कुरा हुन्थ्यो, नियमकानुनले त्यो दिदैन । अस्पताल विकास समितिबाट चलेको अस्पताल भएकाले बोर्डले निर्णय गर्नुपर्ने हुन्छ । यो मुख्य समस्या हो । सेवासुविधा त हामीले बढी कमाउन सक्यौं भने अहिले ५० प्रतिशत दिएका छौं, भविष्यमा शतप्रतिशत नै दिन सकिन्छ ।

अहिले अस्पतालको आम्दानी र खर्चको अवस्था के छ ?
आम्दानीका हिसाबले अस्पताल लगभग तलब खुवाउन सक्ने स्थितीमा छ । अस्पताल चलिरहेकै छ । जसका कारण आम्दानी र खर्च बराबर नै छ । पहिले अस्पताल घाटामा थियो । ११ करोड रुपैयाँ हामीले त्यतिबेला सामान्य प्रशासनबाट ल्याएर कर्मचारीलाई तलब खुवाएका थियौं । अझ पनि त्यो स्थिती आउन सक्छ । अहिले हामीले खर्च पु¥याउन सकिने भएकाले नै भत्ता प्रतिशत बढाएका हौं, दिन सकिएन भने त्यो घटाउनुपर्ने अवस्था पनि आउन सक्छ । प्रोत्साह भत्ता हामीले काम गरेर कमाएपछि न दिने हो ।

सिभिल अस्पतालमा विस्तारित स्वास्थ्य सेवा कार्यक्रम सुरु भएको छ ?
विस्तारित कार्यक्रम छैन । भविष्यमा हामीले इएचएस गर्ने योजना बनाएका छौं । बेलुका पाँच बजेपछि यहीका चिकित्सकहरुले बाहिर नगएर यही क्लिनिक चलाउने र यहीबाट सेवासुविधा दिने गरी अगाडि बढ्छौं । कोभिड—१९ पूर्व यो सेवा थियो, कोभिड आएपछि स्थगन भएको छ ।

सिभिल अस्पताल सरकारी कि कर्मचारीको भन्ने विषयमा पनि विवादजस्तो देखिन्छ नि ? निर्देशक सरकारले नियुक्त गर्छ तर सरकारी स्वास्थ्य सेवा कार्यक्रम लागु हुँदैनन् ?
यो पूर्ण सरकारी अस्पताल हो । बोर्डले सञ्चालन गरेको यो निजामती कर्मचारी अस्पताल हो । यसको सञ्चालन मोडल मात्रै फरक छ । अरु सरकारी अस्पताल स्वास्थ्य मन्त्रालयबाट सञ्चालित छन्, यो सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्छ । नेपाली सेनाको सैनिक अस्पताल र प्रहरीको प्रहरी अस्पतालजस्तै निजामती कर्मचारीहरुको निजामती अस्पताल हो । सेना र प्रहरी अस्पतालले पब्लिकलाई हेर्दैनन्, तर हामीले पब्लिकलाई पनि हेर्ने सुविधा दिएका छौं । यो एक लाख जति निजामती कर्मचारी र उनीहरुका परिवारका लागि बनाइएको हो । हामीले ५० प्रतिशत रिटायर्डमेन्ट भएका निजामती कर्मचारी र उनीहरुका परिवारलाई र ४० प्रतिशत रिटायर्ड नभएका कर्मचारी र उनीहरुका परिवारलाई छुट दिन्छौं । यो सुविधा सर्वसाधारणलाई छैन । यहाँ हामीले कमाएकै पैसाबाट तलब खानुपर्छ र उपकरणहरु किन्नुपर्छ ।
आमा सुरक्षा कार्यक्रम गाइनोकोलोजी विभागले लागु गर्ने हो । विस्तारै लागु होला त्यो छुट्टै कुरा हो । आमा सुरक्षा कार्यक्रमले दिने सपोर्ट निकै थोरै भएकाले त्यो हाम्रा कर्मचारीलाई पुग्दैन । हामी आफै कमाएर आफै खाने अस्पताल हौं । त्यसकारण यो कार्यक्रम सरकारी अस्पतालहरुमा ठिक छ । बिमा कार्यक्रम लागु गर्न हामी तयार नै छौं ।

भनेपछि कर्मचारी र सर्वसाधारणको उपचार खर्चमा विभेद भयो होइन त ?
अलि भिन्नता छ । बाहिर गएर निजीमा उपचार गर्दा ५—७ सय रुपैयाँ तिर्नुपर्छ, यहाँ १ सय रुपैयाँ विशेषज्ञ सेवा पाइन्छ । प्रयोगशाला पनि बाहिरको तुलनामा यहाँ निकै सस्तो छ । आईसीयुमा बसेको शुल्क पनि त्यतिकै सस्तो छ । पूर्ण रुपमा हामी कसैलाई पनि निःशुल्क गर्न सक्दैनौं । निजामती कर्मचारीबाहेक अरु कसैलाई छुट दिन सक्दैनौं । सिभिल वीरभन्दा थोरै महंगो छ, तर त्रिवि शिक्षण र पाटनभन्दा अलि महंगो छ ।

सिभिल अस्पतालले अहिले कति वटा विशेषज्ञ सेवा प्रदान गर्छ ?
हामीले थुप्रै विधामा विशेषज्ञ सेवा प्रदान गरिरहेका छौं । नेफ्रोको सेवा छैन, हामीले यसलाई पनि चाडै सुरु गर्छौ । स्पाइनल सर्जरी पनि ल्याउँदैछौं । यो हस्पिटलको अन्तिम उद्देश्य भनेको सुपरस्पेशसियालिटी रिफरल सेन्टर हो । कर्मचारीलगायत सबैको बल पुग्ने भएकाले यसलाई राम्रो अस्पताल बनाउने योजना छ । पोष्ट ग्राजुयट इन्स्टिच्युट बनाउन हामीले केही खाकाहरु कोरिसकेका छौं । ८—१० वर्षभित्रमा एमडी, एमएस, डिएम चिकित्सकहरु उत्पादन गर्छौ ।

सिभिल अस्पतालका लागि तत्काल सरकारले गरिदिनुपर्ने कामहरु केही छन् कि ?
सबैभन्दा पहिले करार कार्यविधी टुंग्याइदिनुपर्छ । यसले गर्दा कर्मचारीमा स्थायीत्व आउँछ । यससँगै हाम्रा लागि केही जरुरी भौतिक संरचनाहरु पनि बनाइदिनुपर्छ । ओपीडी सेन्टर बनाइदिनुप¥यो र यो अस्पतालमा पनि तला थप्ने काम अगाडि बढाउनुपर्ने आवश्यकता छ । माष्टरप्लान बनाएर दुई तलाको अन्डरग्राउण्ड पार्किङको सुविधासहितको ८—९ तलाको एउटा भवन बनाउनुपर्ने जरुरी छ, त्यसमा हामीले सुपरस्पेशसियालिटी सेन्टर बनाउन सक्छौं । त्यसका हामीले विभिन्न किसिमका एकेडेमिक कार्यक्रम पनि चलाउन सक्छौं । यिनै कामहरु गर्नका लागि सरकारको निरन्तर सहयोग चाहिएको छ ।

केही समययता सिभिल अस्पताल सुस्ताएको हो ?
म आएको छ महिना भयो । त्यतिबेला कोभिड—१९ थियो, धेरै बिरामीहरु थिएनन् । अहिले त बिरामीहरु बढिरहेकै छन् । अहिले अस्पतालमा धेरै बिरामीको चाप भयो भनिरहेका छन् । सुस्ताएको हो भने अझै यसलाई जागरुक बनाउनुपर्छ । सिभिल अस्पतालबाट सस्तो, सुलभ र गुणस्तरीय सेवा हामीले दिइरहेका छौं ।

अहिलेसम्म करार कार्यविधी किन टुंगिन नसकेको हो ?
पहिलेको म्यानेजमेन्टले त्यति चासो नदिएको हो कि जस्तो लाग्छ । अहिले १२ वर्षदेखि जाम भएको थुप्रो हाम्रो टाउकोमा आइप¥यो । २०७० सालसम्म आन्तरिक प्रतिस्पर्धाबाटै कर्मचारीलाई स्थायी गर्न सकिने अवस्था थियो । त्यतिबेलासम्म कर्मचारीलाई सही ढंगले व्यवस्थापन गर्नुपथ्र्यो । ०७४ सालसम्म लोकसेवा आयोग चुप बसेको थियो । त्यतिबेलासम्म अस्थायी कर्मचारीको समस्या सहज ढंगबाट हल गर्न सकिन्थ्यो । त्यसपछिका अस्थायी लोकसेवाको खुला कम्पिटिसनबाट आउँथे, सहज हुन्थ्यो ।

अहिले कार्यविधीमा अवरोध छ कि छैन ?
हामीले करार कार्यविधी बनाएर ल्यायौं । यहाँको कर्मचारी र चिकित्सकहरुले मान्नुभएको छैन्, डक्टर एसोसिएसन र युनियनले ज्ञापनपत्र दिएका छन् । परिमार्जन गरेर लैजाँदैंछौं । कहाँसम्म गर्न सकिन्छ गर्छौ । कर्मचारीको बढी हित हुने कुरा कति सकन्छि गर्छौ । यो समस्याले काममा एकदमै प्रभाव पारिरहेको छ । यही समस्याकै कारण मैले बिरामी हेर्न पाएको छैन ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #डा. विधाननिधी पौडेल, #सिभिल सर्भिस अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)