२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारनेपालमा क्षयरोगः वर्तमान अवस्था र भावि कार्यदिशा

नेपालमा क्षयरोगः वर्तमान अवस्था र भावि कार्यदिशा


क्षयरोग मानव जातिमा देखा परेका विभिन्न रोगहरुमध्ये रबैभन्दा पूरानो रोगमध्येमा पर्दछ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगको किटाणु पत्ता लगाएका थिए । यसपछिमात्र यो रोगकाबारे जनचासो बढेको र वैज्ञानिकहरुले थप अनुसन्धान गरेको पाइन्छ । यो रोग श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्ने रोगको रुपमा परिभाषित भएकोले आजका दिनसम्म यसैलाई आधार मानेर यसको पहिचान निदान र उपचार भैरहेको छ ।

सन् १९८२ मा International union against tuberculosis and lung disease (IUATLD) को सिफारिसमा २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवस मनाउन सुरू भएको देखिन्छ । हरेक वर्ष विश्व स्वास्थ्य संगठनले क्षयरोग दिवसका बारेमा अन्तर्राष्ट्रिय नाराको निर्धारण गरेर उसका सदस्य राष्ट्रहरुलाई दिने गरेको पाइन्छ र यसै नारालाई सम्बन्धित देशहरुले आफ्नो राष्ट्रिय भाषामा उल्था गरेर विश्व क्षयरोग दिवस मनाउने गरेको पाइन्छ । यसै प्रचलनलाई आधार मानेर नेपालले पनि यस वर्ष ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने मूलनाराका साथ विश्व क्षयरोग दिवस मनाउँदैंछ । नेपालमा यस क्षयरोगको बारेमा औपचारिक राष्ट्रिय दिवस मनाउने प्रचलन नभएपनि विश्व क्षयरोग दिवसलाई क्षयरोगको क्षेत्रमा एक पर्वको रुपमा नै मनाउँदै आइएको छ ।

नेपालमा औपचारिक रुपमा क्षयरोगको उपचार सन् १९३७ बाट भएको देखिन्छ । क्षयरोग उपचारको सुरुका वर्षहरुमा कति जनालाई कुन-कुन प्रकारको क्षयरोगको उपचार गर्न सुरु गरियो र यसका नतिजाहरु के कस्ता आउने गरेका थिए भनेर अहिले तथ्यांकहरु पाइदैन् । सन् २०१८ भन्दा अघिका वर्षहरुमा नेपालमा औषतमा वार्षिक रुपमा करिब ४५ हजार जति नयाँ क्षयरोगका बिरामीहरु देखापर्ने अनुमानका आधारमा नीति योजना र कार्यक्रम बनाएर उपचार गर्ने गरेको देखिन्छ ।

सन् २०१८ मा भएको क्षयरोग सम्बन्धी सर्वेक्षणले नेपालमा औसत रुपमा वार्षिक करिव ६९ हजार नयाँ क्षयरोगका बिरामी हुने र नयाँ र पुराना बिरामीको संख्या हरेक वर्ष १ लाख १६ हजारको संख्यामा हुने देखाएको छ । यही सर्वेक्षणले नेपालमा क्षयरोगका कारणले हरेक वर्ष करिब १७ हजार नेपाली नागरिकले अकालमा ज्यान गुमाउने गरेको तथ्य पनि देखाएको छ । यो मृत्युको संख्या अनुमानित जम्मा नयाँ बिरामीको संख्याको करिव २५ प्रतिशत हुन आउँछ । जबकी विश्वको अवस्थालाई हेर्दा क्षयरोगका कारणले हुने मृत्यु करिब १५ प्रतिशत हाराहारीमा मात्र रहेको देखिन्छ ।

आ.व. २०७७/७८ को तथ्यांकलाई हेर्ने हो भने नेपालमा ८ सय ९६ प्रयोगशाला ८४ वटा जीन एक्सपर्ट केन्द्र एवं २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालाहरुबाट २ लाख ५२  हजार २ सय १६  जना क्षयरोगका आशंका गरिएका व्यक्तिहरुको विभिन्न विधिबाट खकार परीक्षण गर्दा २८ हजार ६ सय ७७ जना नयाँ क्षयरोगका बिरामी पत्ता लगाइको थियो । क्षयरोग पत्ता लागेका बिरामीहरुलाई राष्ट्रिय क्षयरोग कार्यक्रमको नीतिअनुसार उपचारमा राखिएको छ । नेपाल सरकारको एकीकृत स्वास्थ्य प्रणालीमार्फत जम्मा ५ हजार ५ सय ३ उपचार केन्द्रहरुबाट डट्स (DOTS) उपचार सेवा प्रदान गर्दै आएको छ । यसैगरी औषधि प्रतिरोधी क्षयरोगका बिरामीहरुलाई २२ वटा उपचार केन्द्र,  ८१  वटा उपचार उपकेन्द्र र ६ वटा होस्टेल, एउटा डिआर होम र एउटा प्रेषण केन्द्रबाट यस रोगको उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

यसरी हेर्दा नेपालमा हरेक वर्ष ६९ हजार नयाँ क्षयरोगका बिरामीहरु पत्ता लगाइ उपचारको दायरामा ल्याउनुपर्नेमा अनुमानित संख्याको करिब ४० प्रतिशत मात्र पत्ता लागेर उपचारको दायरामा आएको देखिन्छ । यसरी क्षयरोगका बिरामीको पत्ता लाग्ने दर कम भएपनि उपचार भएर निको हुने दर भने सामान्य क्षयरोगका बिरामी ९० प्रतिशतभन्दा बढी र औषधि प्रतिरोधीका बिरामीको निको हुने दर ७५ प्रतिशतको हाराहारीमा देखिन्छ । यो उपचारमा सफलताको दर विश्वका अन्य मुलुकहरुको तुलनामा उच्च रहेको छ भने हरेक वर्ष क्षयरोगका बिरामी घट्ने दर ३ प्रतिशत रहेको छ । यो बिरामीको घट्ने दरलाई पनि राम्रो मानिएको छ । तर, नेपाललाई सन् २०५० भन्दा अघि नै क्षयरोग मुक्त देश बनाउने हो भने यस दरलाई १० प्रतिशतभन्दा बढी बनाउनुपर्ने हुन्छ ।

नेपालमा क्षयरोगको संस्थागत उपचार हुन थालेको करिब ८५ वर्ष भयो । यो अवधिमा कहिले डट्स रणनीति, कहिले स्टप टिबी रणनीतिलगायतका नीति, रणनीतिहरु निर्माण र कार्यान्वयनमा आए तर पनि क्षयरोगको निवारण र रोकथाम पनि हुन नसकेको प्रिभालेन्स सर्वेक्षणले उजागर गरेको छ । यसले स्पष्टरुपमा के संकेत गर्छ भने नेपालमा क्षयरोगको नियन्त्रण र अन्त्य गर्ने हो भने अहिलेका समस्या र चुनौतीलाई सम्बोधन गर्न सक्ने नवीनतम नीति, रणनीति र योजनाको आवश्यक छ ।

नेपालको सन्दर्भलाई हेर्ने हो भने जहाँ अशिक्षा छ, जहाँ अन्धविश्वास छ, जहाँ गरिबी छ जहाँ भोकमरी छ त्यही क्षयरोगको बाहुल्यता छ भन्ने कुरा सर्वेक्षणले देखाएको छ । नेपालमा ६५ वर्षभन्दा बढी उमेरका मानिसहरुमा, १५ वर्षभन्दा कम उमेरका मानिसहरुमा, लागू औषधि सेवन गर्ने व्यक्तिमा, प्रतिरोध क्षमतामा कमी हुने व्यक्तिहरुमा, एचआईभी संक्रमित व्यक्तिहरुहमा, समूहमा बस्ने व्यक्तिहरुमा, दीर्घरोगका बिरामीहरुमा, अंग परिवर्तन गरेका व्यक्तिमा, स्टेरोयड औषधि सेवन गर्नेको शरीरमा प्रतिरक्षा प्रणाली कमजोर हुने भएकोले यस्ता मानिसहरुमा क्षयरोगका बिरामीको सम्पर्कमा पुग्नासाथ क्षयरोग लाग्ने सम्भावना अन्य मानिसहरुको तुलनामा उच्च हुन्छ ।

नेपालमा क्षयरोगको व्यवस्थापन नियन्त्रण र उन्मूलनलगायतका क्षेत्रमा धेरै नै काम गर्नुपर्ने अवस्था छ । यसका लागि लगानीको सवाल छन्,  जनशक्तिका सवाल छन्,  संस्थागत संरचनाको निर्माणको सवाल छन्,  काम गर्ने उचित वातावरणको सवाल छन्,  सही मानिसलाई सही समयमा सही स्थानमा कार्य जिम्मेवारी दिने सवाल छन्,  स्वार्थ समूहको बाहुल्यताको नियन्त्रणका सवाल छन्, वैदेशिक सहयोग र दातृ निकायको सहयोग र लगानी बढाउने सवाल छन्, आन्तरिक व्यवस्थापनमा सुधारका सवाल छन् भने आन्तरिक र बाह्रय समन्वय सहकार्य र सह-अस्तित्वका सवालहरु प्रमुख समस्या र चुनौतीका रुपमा रहेका छन् ।

विगत एक वर्षमा नेपालबाट क्षयरोगको निवारणका विषयमा धेरै नीतिगत व्यवस्थाको निर्माण भएका छन् । यसका लागि क्षयरोग सम्बन्धी पाँच वर्षे रणनीतिक योजना र क्षयरोगमुक्त नेपाल अभियान निर्देशिका निर्माण, स्वीकृती र कार्यान्वयनलाई लिन सकिन्छ । यी नीतिगत व्यवस्थाले नेपालको क्षयरोग निवारणका क्षेत्रमा आमूल परिवर्तन ल्याउने र नेपाली नागरिकको जीवन र मुहारमा देखिने गरी परिवर्तन गराउन सकिने व्यवस्था रहेका छन् । यी नीतिगत व्यवस्थामा भएका सबै प्रावधानहरुलाई सही नेतृत्वबाट प्राथमिकताका साथ समयमै कार्यान्वयन गर्ने हो भने आगामी पाँच वर्षपछि नेपाल सरकारले क्षयरोग निवारणका लागि भनेर कुनै दातृ निकायसँग सहयोग माग्नुपर्ने अवस्था रहने छैन् ।

नेपाल सरकारले संस्थागत रूपमा क्षयरोगको नियन्त्रण र व्यवस्थापनमा ८५ वर्ष बिताइसकेको छ । यस अवधिमा धेरै नेपाली नागरिकहरुको जीवनरक्षा गर्ने काम भएका छन् । यसअवधिमा धेरै नीति रणनीति र योजनाका माध्यमबाट नेपाली जनतामा धेरै परिवर्तन ल्याउन सफल भएको छ । अहिलेको आवश्यकता भनेको क्षयरोगको रोकथाम वा नियन्त्रणमात्र नभएर यसको निवारण नै हो । क्षयरोग स्वास्थ्य समस्यामात्र नभएर यो विषय सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिकलगायतका सबै क्षेत्रसँग अन्तरसम्बन्धित भएकोले एउटा विषयमा मात्र एक पटकमा सुधार गरेर यसको निवारण सम्भव छैन । यसअघिका नीति, रणनीति, योजना र कार्यक्रमहरुले एकै पटक समग्र विषयलाई समेटेको नपाइएकोले यस क्षेत्रमा आशातित प्रतिफल नआएको हुन सक्ने देखिएको छ ।

क्षयरोग निवारणका लागि स्पष्ट मोडलको अहिलेको आवश्यकता हो । यसका लागि विधमान नीति, रणनीतिको परिधिभित्र रहेर सक्रिय क्षयरोग खोजपडतालको मोडल बनाउनुपर्छ । यसका लागि सबैभन्दा पहिले हरेक समुदाय र पालिकाहरुको स्पष्ट रुपमा देखिने गरी ऐनाको निर्माण गर्नु जरुरी छ । यो समाजको ऐना सूक्ष्म योजनाको माध्यमबाट गर्न सकिन्छ । यो योजनाको निर्माणपछि कहाँ-कहाँ के-के र कस्ता-कस्ता कार्यक्रमहरु कहिले कहिले र कसले गर्नुपर्छ भन्ने स्पष्ट देखिन्छ । यसपछि समाजमा रहेका क्षयरोगका बिरामीलाई कुन-कुन क्षेत्रमा कसरी खोज्ने भन्ने स्पष्ट मार्ग बनाउनु पर्छ । यसका लागि सक्रिय खोजपड्ताल कार्यक्रम निर्माण र संचालन गर्नुपर्छ । यसले समाजमा रहेका प्राय सबै क्षयरोगका बिरामीहरु पत्ता लगाउन सकिन्छ ।

क्षयरोगका बिरामीहरु पत्ता लगाइ सकेपछि क्षयरोगका बिरामीलाई कसरी र कहाँ व्यवस्थापन गरी उपचार गर्ने भन्ने मार्ग निर्माण गर्नुपर्छ । यसका लागि बिरामीहरुलाई पायक पर्ने र सबै सुविधा उपलब्ध हुने अस्पताल र उपचार केन्द्रमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ । यस्तो व्यवस्था गर्दा बिरामी केन्द्रित र बिरामीमैत्री संरचनाको आवश्यकता पर्दछ । यसमा कुनै कन्जुस्याइ र सम्झौता गर्नु हुँदैन । बिरामीको खोजी गर्न प्रचार-प्रसार गर्न र बिरामीमैत्री उपचारका लागि समुदायलाई पूरै परिचालन जरुरी पर्दछ । यसका साथै क्षयरोगका उच्च जोखिम भएका मुलुकहरु भित्रिने मानिसहरुलाई सम्बन्धित पालिकाको नाकामै स्क्रिनिङ्ग गर्ने र यो रोग लागेको पाइएमा उपचारको दायरामा ल्याउने व्यवस्था गर्नुपर्छ ।

यसबाट समाजमा भएका क्षयरोगका बिरामीहरु पत्ता लागेर औषधि उपचारबाट निको हुने र बाहिरबाट त्यस पालिकामा क्षयरोग भएका मानिसहरुले प्रवेश नपाउने भएपछि क्षयरोगमुक्त पालिका सजिलै हुनेछ । यसका लागि २ देखि ३ वर्षको समय नै पर्याप्त हुनेछ । यसका लागि समुदायको सुदृढीकरण र परिचालनको संरचना र नीति बनाउनुपर्छ । जुन नीति निर्माण भइ कार्यान्वयनमा पनि आइसकेको छ ।

यसरी समुदायमा क्षयरोगको बारेमा प्रचार-प्रसार, बिरामीको पहिचान, रोगको निदान र उपचारमा सबैको सक्रिय सहभागिता र सहयोगमा काम गर्न स्पष्ट अभियान संचालनका लागि मार्गदर्शनको निर्माण र सोही बमोजिम कार्यान्वयन गर्ने उचित वातावरण आवश्यक छ । यो एकीकृत कार्यक्रम संचालन गरिसकेपछि यी कामहरु कसरी भए, समाजमा सबैको पहुँच पुग्यो कि पुगेन के कस्ता कमी कमजोरी भए र आगामी दिनमा कसरी अघि बढ्दा थप प्रभावकारी हुन सक्छ भनेर हरेक ६/६ महिनामा सामाजिक परीक्षण सम्बन्धित स्वास्थ्य संस्थाको प्रांगणमा आमनागरिक र सबै सरोकारवालाहरुको सहभागितामा संचालन गर्नुपर्छ । यसरी एकीकृत रुपमा कार्यक्रमको निर्माण र कार्यान्वयन गर्न सकिएमा नेपालबाट क्षयरोगलाई छिट्टै र सधैंका लागि विदा गर्न सकिन्छ ।

एकीकृत रुपमा क्षयरोग निवारणको लागि कार्यक्रम संचालन गर्न सर्वप्रथम क्षयरोग निवारणका लागि क्षयरोगलाई राजनीतिक मुद्दाको रुपमा राज्यले स्वीकार गर्नुपर्छ । नेपाल सरकारले अहिलेसम्म सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई स्वीकार गरी क्षयरोग निवारणलाई राजनीतिक मुद्दाको रुपमा स्वीकार गरिसकेको अवस्था छ । यही बमोजिम नेपाल सरकारले सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा र प्रदेश मुख्यमन्त्रीज्यूको अध्यक्षतामा कमिटीको गठनका लागि अन्तिम तयारीमा छ भने संघदेखि वडा तहसम्म राजनीतिक नेतृत्वमा समितिहरु गठन भै कार्यान्वयनमा आइसकेका छन् । अब आवश्यक छ केवल प्राथमिकताका साथ समयमै सही कार्यान्वयनको ।

हालसम्म क्षयरोगका बिरामीहरुले कि त स्वास्थ्य संस्थामा गएर औषधी खाइरहेका छन् कि समुदायमा संचालित डट्स केन्द्रहरुबाट खाइरहेका छन् । यसले बिरामीहरुलाई सुविधाभन्दा पनि बढी असुविधा थपिएको देखिएको छ । यसलाई बिरामीमैत्री बनाउनु जरुरी छ । बिरामीमैत्री बनाउनका लागि परिवारका सदस्य वा नजिकको नातेदारको प्रत्यक्ष निगरानीमा क्षयरोगका बिरामीले घरमै बसेर औषधी खाने प्रणालीको व्यवस्था र कार्यान्वयन भएमा बिरामी र औषधी खुवाउने बीचको सम्बन्धमा हार्दिकता हुने र औषधी पनि नियमित रुपमा खाने र बिरामी समयमै निको हुने देखिन्छ । अहिलेको नयाँ व्यवस्थामा परिवारिक डट्सको नीतिगत व्यवस्था र यसको कार्यान्वयन पनि सुरु भइसकेको छ ।

अर्को महत्वपूर्ण पक्ष भनेको निजी क्षेत्रको क्षयरोगका बिरामीको पहिचान निदान र उपचारमा सहभागितामा वृद्दि गर्नु हो । अहिले निजी क्षेत्रको योगदान यसमा करिव २० प्रतिशतको हाराहारीमा छ । पञ्चवर्षीय रणनीतिक योजनामा आगामी पाँच वर्षभित्रमा ३५ प्रतिशत बनाउने लक्ष्य राखिएको छ । निजी क्षेत्रमैत्री नीति, रणनीति, योजना र कार्यक्रम बनाएर कार्यान्वयन गर्न सकेमा थप प्रगति हुने निश्चित छ । निजी क्षेत्र पनि क्षयरोगको पहिचान, निदान र उपचारमा योगदान दिन सक्रिय छ । यसले उचित वातावरण र उपयुक्त नीति-नियमको पर्खाइमा रहेकोमा यो पञ्चवर्षीय रणनीतिक योजनाले क्षयरोग मुक्त नेपाल अभियान सूक्ष्म योजनाको कार्यान्वयन, सक्रिय खोजपड्ताल नीति, समुदाय परिचालन नीति, लगायतको नीतिगत, संरचनागत सुधार र निर्माण एवं कार्यान्वयनको सुरूवातले थप उर्जा मिलेको महसुस गरेको पाइएको छ ।

स्वास्थ्य क्षेत्र र स्वास्थ्य क्षेत्रभन्दा बाहिर पनि स्वास्थ्य सम्बन्धि धेरै कार्यक्रमहरु संचालनमा छन् । अहिले यी कार्यक्रमहरु एक्लाएक्लै रुपमा संचालित छन् । यसले गर्दा क्षयरोग र अन्य यस्तै प्रकारका रोगहरुको निवारण र नियन्त्रणमा खासै योगदान बढाउन सकेको अवस्था छैन । स्वास्थ्य क्षेत्रका कार्यक्रमले गरिबी घटाउने, अन्धविश्वास हटाउने, अशिक्षा उन्मूलन गर्ने, कुपोषण हटाउने र मानिसहरुलाई रोग लाग्न नदिने र रोग लागि हालेमा समयमै उपचारबाट निको बनाउने खालका अनगिन्ती कार्यक्रमहरु कार्यान्वयनमा छन् । हाल अधिकांश यस्ता कार्यक्रमहरु छरिएर र एक्लाएक्लै कार्यान्वयमा रहेका छन् । यी सबै कार्यक्रमहरुलाई स्थानीयस्तरमा एकीकृत रुपमा संचालन गर्न सकिएमा आम नागरिकलाई रोग र भोकबाट बचाउन सकिने हुँदा अबका सबै नीति, रणनीति, योजना र कार्यक्रमहरु यसैमा केन्द्रीत हुनु जरुरी भएको छ ।

नेपालमा क्षयरोग स्वास्थ समस्याका साथसाथै सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिकलगायतको समस्याको रुपमा रहेको छ । यस रोगलाई समयमै पहिचान गर्न सकेमा र समयमै उपचारको दायरामा ल्याउन सकेमा रोग लागि सकेकालाई सजिलै निको बनाउन सकिने र अरुमा सर्नबाट पनि बचाउन सकिने छ । यसका लागि नागरिक आफै चेतनशील हुनु त छँदैछ साथसाथै राज्यबाट प्रदान गरिने सेवाहरु पनि बिरामीमैत्री पहुँचयोग्य र निःशुल्क हुनु जरुरी छ । क्षयरोगको पहिचान निदान र उपचारमा नेपाल सरकारले सबै सेवा निःशुल्क बनाएको भएतापनि सबै पहुँचयोग्य र उपचार व्यवस्था बिरामीमैत्री हुन नसकेको कारण यसको निवारण हुन नसकेको हो ।

यसका लागि राजनीतिक प्रतिवद्धतासहित नेतृत्व, निजी क्षेत्रको सक्रिय सहभागिता र सहयोग, समुदायको नेतृत्व, स्वामित्व र सक्रिय सहभागिता, स्वास्थ्य र योसँग सम्बन्धित सबै कार्यक्रमहरुलाई एकीकृत रुफमा संचालन गर्नुपर्ने अहिलेको अनिवार्य आवश्यकता हो । यसलाई पूरा गर्ने एउटैमात्र उपाय भनेको यसै आ.व.बाट कार्यान्वयनमा ल्याइएको क्षयरोगमुक्त नेपाल घोषणा अभियान । यही अभियानमा सबै कार्यक्रमहरुलाई एकद्वार प्रणालीमार्फत पालिकाको नेतृत्वमा एकीकृत रुपमा अभियानकै रुपमा संचालन गर्न सकेमा नेपालमा क्षयरोग त सजिलै निवारण हुन्छ नै यसका साथै नेपालबाट गरिबी, भोकमरी, अशिक्षा, अन्धविश्वास, कुपोषणलगायतका स्वास्थ्य सममस्याको पनि अन्त्य भएर नेपाल छिट्टै नै समृद्ध भै हामी नेपालीहरु पनि सुखी र खुशी भएर बाँच्न पाउनेछौं ।

विश्व क्षयरोग दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना ।

(लेखक राष्ट्रिय क्षयरोग केन्द्रका उप—सचिव हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ