२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारनेपाली डाक्टरहरुको सीप र ज्ञान कसैको भन्दा कम छैन्

नेपाली डाक्टरहरुको सीप र ज्ञान कसैको भन्दा कम छैन्


अमेरिका—नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) अध्यक्ष हुन्— डा. सन्तोष सापकोटा । अमेरिका नेपाल—मेडिकल फाउन्डेसन उत्तर अमेरिकामा रहेर नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार र सहयोग गर्न इच्छुक समुदायको साझा संस्था हो । यो संस्थामा प्रायः सदस्यहरु चिकित्सक भएपनि अरु थुप्रै पेशामा संलग्न साथीहरु पनि लामो समयदेखि संलग्न हुँदै आउनु भएको छ। करिब २३ वर्ष पुरानो यो संस्थाले नेपालमा ३०० को हाराहारीमा प्रोजेक्टहरु सम्पन्न गरिसकेको छ । भूकम्पपछि लगत्तै एक दर्जनभन्दा बढी हेल्थ पोस्टहरु र पछिल्लो समयमा आएर अक्सिजन प्लान्टजस्ता नेपालको स्वास्थ्य क्षेत्रलाई केही दूरगामी महत्व राख्ने कार्यहरुमा संलग्न यस फाउन्डेसनका अध्यक्ष डा. सापकोटासँग अमेरिकामा नेपाली चिकित्सकहरु, उनीहरुको अवस्था, त्यहाँको स्वास्थ्य संरचना, नेपालको स्वास्थ्य क्षेत्र र यसलाई राम्रो बनाउनका लागि गर्न सकिने कामहरुका विषयमा केन्द्रीत रहेर हेल्थ अवाजले गरेको कुराकानीः


अहिले अमेरिकामा कति नेपाली चिकित्सक छन्?

हामीसँग अधिकारिक तथ्यांक त छैन तर हजारभन्दा बढी नै छौँ होला जस्तो लाग्छ । हाम्रो संस्थामा मात्र २०० भन्दा बढी नै चिकित्सक साथीहरु हुनुहुन्छ ।

अमेरिका—नेपाल मेडिकल फाउन्डेसनका बारेमा केही बताइदिनुहोस् न?
हाम्रो यात्रा सन् १९९७ मा अमेरिकाको न्युयोर्क राज्यबाट सुरु भएको हो । स्थापना कालदेखि नै ‘Advancing Healthcare in Nepal’ भन्ने मार्ग दर्शनका साथ हामी अघि बढिराखेका छौं । सुरु—सुरुमा संस्था सानो हुँदा शैक्षिक सामाग्री, कम्प्युटर, ज्ञान आदान—प्रदान र बेला बखतमा नेपालमा रहेका साथीहरुलाई बाहिर लगेर तालिम लिन सहयोग गरियो । त्यसपछि पाठेघर तल खस्ने (Uterine Prolapse) का हेल्थ क्याम्पहरुमा सर्जरी गर्न ठूलो सहयोग ग¥यो संस्थाले । त्यो सुरुवातपछि गएर नेपाल सरकारको एक निकै नै सफल प्रोग्रामको रुपमा अझै पनि चलिराखेको छ । अछाममा स्थापित न्याय हेल्थ (हालको Possible) को लागि सुरुमा ५००० डलर दिने संस्था पनि एएनएमएफ नै हो ।

भूकम्पपछि भने संस्था संख्यामा पनि धेरै नै ठूलो र आर्थिक रुपमा पनि निकै नै सबल बन्दै गयो । तसर्थ हाम्रो संस्थालाई हामीले तीन चरणको यात्राका रुपमा लिँदा फरक नपर्ला । भुकम्पको १—२ वर्ष, अगाडिका १७ वर्ष र सन् २०१७ पछिका चरणहरु । पहिलो चरणले सुनौलो सुरुवात दियो, एक मार्ग दर्शन दियो र स्थायित्व दियो । भूकम्पले एउटा चुनौती दियो, धेरै साथीहरुलाई जोडी दिएर एक नयाँ जोस र जाँगर दियो र अझ ठूला—ठूला काम गर्ने अवसर दियो । अहिले आएर हामीले पाएको निरन्तर वृद्धि र दिगो आर्थिक अवस्थाले एक जिम्मेवारी दियो र अझ महत्वाकांक्षी कामहरु गर्न सकिने विश्वास पनि हामीलाई दिएको छ ।

भूकम्पको बेलामा फाउन्डेसनका स्मरणीय गतिविधिहरुका बारेमा केही बताइदिनुहोस् न ?
नहुनु त भई नै हाल्यो तर भूकम्पले हामीलाई भने धेरै कुरा सिकाएर गयो । भूकम्प जाँदाको दिन हामीले २० हजार डलर छ महिनामा संकलन गर्न गाह्रो हुन्छ कि भन्दा भन्दै अनलाइन संकलन गर्न कोष स्थापना गरेको याद छ मलाई । हुन पनि संस्थाको वार्षिक बजेटनै त्यतिकै हाराहारीमा हुन्थ्यो, आँट गर्न गाह्रै भाको हो । त्यो पैसा त विहान नहुँदै उठ्यो । अब कतिले बढाउने होला भनेर अर्को छलफल भयो । त्यो भन्दा पनि नेपाललाई अगाध माया गर्ने मनहरुको आँकलन गर्न भने हामी नसकेकै हो । सबै गरेर हामीले १५ करोडभन्दा बढी रकम संकलन गरियो । स—साना प्रोजेक्ट गर्दै आएको संस्थालाई छोटो समयमा यति ठूलो रकम र जिम्मेवारी चुनौती नै भयो र थप अवसरका ढोका पनि खोल्यो । नेपाल सरकारले सिन्धुपाल्चोकका स्वास्थ्य चौकीहरु पुनर्निर्माणको जिम्मा हाम्रै फाउन्डेसनलाई दियो । हामीले ३—४ हप्तामै चौतारामा एक स्वास्थ चौकी बनाएर नेपाल सरकारलाई हस्तान्तरण गर्‍यौ । त्यो नै भूकम्प पश्चातको सबैभन्दा पहिले निर्माण गरेको सरकारी संरचना रह्यो ।

प्रसंग थोरै बदलौं, अमेरिकामा रहेका नेपाली चिकित्सकहरुको अवस्था कस्तो छ?
संसारभर नै यो पेशा एक सम्मानजनक पेशा हो । अमेरिकामा पनि उच्च श्रेणी मै पर्छ । सुरु—सुरुमा उच्च शिक्षा पढनको लागि अलि बढी नै संघर्ष गरेपनि उत्तीर्ण हुनासाथ एक आर्थिक रुपमा सबल नागरिकको जीवन यापन गर्ने अवसर मिल्छ । ज्ञान र सीपको कुरा गर्दा, नेपाली चिकित्सकहरु कोही भन्दा कम छैनन् ।

नेपाली चिकित्सकको त्यहाँ औसत कमाइ कति हुन्छ ?
अमेरिकामा प्रायः तीन कुराहरु अरुलाई भन्न मन पराउँदैनन् । आफ्नो कमाइ, आफ्नो धर्म र राजनीतिक झुकाव । त्यहाँको कमाइ धेरै नै राम्रो हुन्छ, वृतान्तमा नजाउँ । तर, इन्टरनेटमा खोजे त भेटिएला ।

नेपाली चिकित्सकहरु कुन—कुन विधामा हुनुहुन्छ?
प्राय साथीहरु Hospitalist भएको पाएको छु मैले । नेफ्रोलोजिस्ट, क्रिटिकल क्यर, प्राइमरी क्यर, कार्डियोलोजी, हिमटोलोजी र अंकोलोजीमा पनि धेरै नै हुनुहुन्छ । सर्जरीमा भने कम साथीहरु हुनुहुन्छ ।

अमेरिकामा हेल्थ सिस्टम कस्तो छ ?
अमेरिकामा स्वास्थ्य बिमाले गर्दा कुन उपचारमा कति खर्च भयो भनेर झट्ट थाहा हुँदैन । बिरामीले कोपे (Copay) र बीमा लिन लाग्ने खर्च मात्र तिरे हुन्छ । तिर्न नसक्नेहरुलाई चाहिँ मिनाहा पनि हुने गर्छ ठाउँ—ठाउँमा । जोसँग बिमा छैन र पैसा तिर्न सक्छन्, उनीहरुको लागि एकदमै महंगो पर्न जान्छ । विश्वव्यापी गुणस्तरको हिसाबले अमेरिकाको स्वास्थ्य प्रणाली सबैभन्दा राम्रो भन्न मिल्दैन् । यो महंगो पनि छ र प्रतिव्यक्ति वार्षिक खर्च १० हजार डलरको हाराहारीमा छ । जबकी अर्को विकसित देशको भन्दा दोब्बर नै छ । कति स्वस्थ जनसंख्या छ भन्ने सूचक पनि निकै कम छ । मातृ शिशु मृत्यु दर, औसत आयु पनि अरु देशको तुलनामा त्यति राम्रो छैन । धेरै पैसा खर्च गरेपछि त राम्रो हुनुपर्नेजस्तो लाग्छ तर त्यो छैन । सबै सुविधा छ, सोचेजस्तो परिवर्तन ल्याउन सकेको भने पक्कै छैन । आशा गरौं राम्रो हुँदै जानेछ ।

स्वास्थ्य बिमाको बहस नेपालमा पनि महत्वका साथ उठिरहेको छ । अमेरिकाले कसरी ब्यवस्थापन गरेको छ ?
मेरो आफ्नो नितान्त व्यक्तिगत धारणा भन्दैछु, अमेरिकामा स्वास्थ प्रशासन पढेको भएर त्यहाँको बारेमा अलिकति बढी जानकार छु किजस्तो लागेर यो भनिरहेको छु मैले यहाँ । धेरैजसो मान्छेले त्यहाँ स्वास्थ्य बिमा कामबाट लिन्छन् । उनीहरुले प्रतिमहिना दिनुपर्ने तलबबाट नै पैसा काटिएको हुन्छ । तिनीहरु सबैजसो प्राइभेट बिमा कम्पनीबाट भयो । अर्को, सरकारी बीमा छ— मेडिकेयर (Medicare) भन्ने । त्यो औसतमा ६५ नाघेर अवकाश लिएकाहरुको लागि सरकारले दिएको हुन्छ । त्यसपछि मेडिकएड (Medicaid) भन्ने छ जुन राज्यले कम आय भएकाहरुलाई दिने गर्छ । अर्को टेरीकेयर (Tricare) भन्ने पनि छ जुन आर्मी, भूपू आर्मी र उनीहरुका परिवारले पाउँछन् । नीति नियम परिवर्तन भई राख्छन्, यो अन्तरवार्ता प्रकाशित हुँदासम्म मेल नखान पनि सक्छ ।


युवाहरुका लागि त कुनै समस्या हुने भएन उनीहरुले तलबबाट दिने भए । तर वृद्धवृद्धा र गरिबको लागि जुन इन्स्योरेन्सको फण्ड हुन्छ, त्यो कसरी निर्माण गरिन्छ ?
६५ वर्ष उमेरपछि Medicare स्वास्थ्य बिमा र पेन्सन लिउँला भनेर काम सुरु गर्दा देखिनै कर तिर्नुपर्छ । केन्द्रीय सरकारले स्वास्थ्यमा पैसा छुट्याएको हुन्छ, त्यसबाट कम आय भएकाहरुलाई राज्यसँग मिलेर Medicaid को व्यवस्थापन गरिएको हुन्छ । विभिन्न कारणले बिमा नलिने, लिन नसक्ने र नमिल्ने पनि छन् । अमेरिकाको यो अभ्यासबाट नेपालले सिक्ने कुरा धेरै नै छ । निजी बिमा कम्पनीहरुले नाफा नखाई काम नगर्ने हुँदा स्वास्थ्यजस्तो जटिल र संबेदनशील कुरा सरकारले नै निःस्वार्थ रुपमा गर्दिए हुन्थ्यो जस्तो लाग्छ मलाई । नेपालको स्वास्थ्य बिमालाई व्यवस्थापन गर्न दियो भने तपाईं के गर्नुहुन्छ भनेर कसैले सोध्यो भने म एकल स्वास्थ बिमा प्रणाली जुन सरकारको मातहतमा राखेर गर्ने थिएँ । यो फ्रान्स, स्वीजरल्याण्ड, स्वीडेन, नर्वे, डेनमार्क, क्यानाडा, बेलायतजस्ता देशहरुमा छ । त्यसो भएपछि स्वास्थ्य बिमा विमुख कोही पनि हुँदैनन् । मैले अघि नै भनिसके बिमाका बारेमा सबै जानकार हुनुपर्छ । यहाँका बिमाहरु राम्रै नियतले खोलिएका होलान् भन्ने आशा गरौं । तर, पनि नाफामूलक भएकाले कहिलेकाही के समस्या पर्न सक्छ भने कुनै—कुनै बिमाले सबै खर्च नतिर्न सक्छन् । आज एमआरआई अथवा सिटीस्क्यान गर्नु भनेर डाक्टरले भने पनि गरिदिदैन् । नयाँ नियम बनाएर पहिला चार हप्ता फिजियोथेरापी गर्नुस् अनि ठीक भएन भने बल्ल गर्ने अनुमति दिने वा यति औषधि खानुस यति हप्ता अनि बल्ल स्वीकृती दिन्छु भन्ने पनि हुनसक्छ । यो समस्या अमेरिकामा छ, मेरो आफ्नै ढाडको समस्या पर्दा मैले नै भोगेको छु ।


त्यसो भए तपाईंको विचारमा यो स्वास्थ्य बिमा सरकारले नै चलाउनु पर्छ ?

सरकारले सिंग्नल पेयर सिष्टम (Single Payer System) चलाउनुपर्छ । अहिले नेपालमा प्रयोगमा आइरहेको हेरौं कस्तो हुन्छ भन्ने मात्र हो तर पनि मेरो विचारमा एकल प्रणालीमा सरकारी बिमा नै राम्रो हो । त्यसो भयो भने काम गरेर खाने मानिसलाई जो कोहीलाई आफ्नो स्वास्थ्यको चिन्ता लिनु पर्दैन ।

मेडिकल लापरवाहीका घटना तेस्रो विश्वमा मात्र हो कि अमेरिकामा पनि हुन्छन् ?
यो त जताततैको समस्या हो, अमेरिकामा यसका कारणले अर्को छुट्टै समस्या पनि खडा गरेको छ । भोलि लापरवाही (Negligence) को दाग नलागोस भनेर डाक्टरहरु धेरै नै सतर्क भएर काम गर्छन् । अरु देशमा भन्दा धेरै नै बढी जाँच गर्छन् । त्यसलाई डिफेन्सीभ मेडिसिन (Defensive Medicine) पनि भन्ने गर्छन् । त्यसले गर्दा पनि अमेरिकामा उपचार अलि महंगो छ ।

त्यहाँ डाक्टरहरुले चुनौती लिँदैनन् भन्न खोज्नुभएको हो ?
होइन्, कसैलाई हानी नगरौं र आफूलाई नै भोलि समस्या नहोस् भनेर बढी सतर्क हुन्छन् भनेको हो ।

नेपालको हेल्थ सिस्टमको बारेमा पनि धेरै जानकार हुनुहुन्छ । अमेरिकासँग कसरी तुलना गर्नुहुन्छ ?
हामी गुणस्तरमा धेरै पछि छैनौं । अहिले त कम्प्युटर इन्टरनेटको सुविधा छ । यहाँ बसेर पनि डाक्टरहरु नयाँ—नयाँ सोधपत्र, किताबहरु हेर्नुहुन्छ । अन्तर्राष्ट्रिय गोष्ठीहरुमा भाग लिनुहुन्छ, आफूले सिकेका गरेका राम्रा कामहरु अरु साथीहरुलाई विभिन्न माध्यमबाट उपलब्ध गराउनु हुन्छ । हामीमध्ये नै कति साथीहरु अमेरिकामा गएर काम गरिरहनुभएको छ । उहाँहरुलाई राम्रो डाक्टरको रुपमा पनि लिन्छन् । त्यही डाक्टरका समकक्षी नेपालमा दिनहुँ सेवा दिइरहनु भएको छ भने कमजोर मान्नु गलत सोचाइ हो । नेपालका डाक्टरहरुको ज्ञान अमेरिकाका डाक्टरको जति नै छ, कम कत्ति पनि छैन् । त्यहाँ धेरैजसो अस्पतालमा एउटा कोठामा एउटा मात्र बिरामी राखिएको हुन्छ । यहाँ धेरैजसो सरकारी अस्पतालमा एउटैमा ८—१० जना पनि हुन्छन् । हुनत यता पनि कुनै—कुनै अस्पताल त्यस्तै छन् तर उता प्रायः अस्पताल होटेलजस्तै लाग्छ ।

अमेरिकामा एक दिनमा एक चिकित्सकले कति जना बिरामी हेर्नुपर्छ ?
अमेरिकामा अधिकांश डाक्टरहरु एक ठाउँमा मात्र काम गर्छन् । हस्पिटल जाने, एउटा क्लिनिक जाने, फेरि अर्को क्लिनिक जाने काम त्यहाँ धेरैले छोडिसके । धेरैले ८ देखि ९ बजे सुरु गर्छन्, ४ बजेसम्म बिरामी हेर्छन् । एउटा डाक्टरले दिनमा औसत २४ देखि ३० जना बहिरंग विभागमा बिरामी हेर्छन् । अन्तरंग विभागमा पनि यहाँको जस्तो चाप हुँदैन । त्यहाँ चाहिं इलेक्ट्रोनिक हेल्थ रेकर्ड (इएचआर) Electronic Health Record (EHR) प्रणाली भएकोले सबै कुरा कम्प्युटरमा राख्दा अलिकति समय लाग्छ ।

त्यो सिस्टम हाम्रो देशमा ल्याउने कत्तिको सम्भावना छ ?
एकदम सम्भव छ । त्यो त गर्नैपर्छ । ढिलो चाँडोको कुरा हो, त्यो हुन्छ नै । यहाँका कतिपय अस्पतालमा र क्लिनिकहरुमा डाक्टरहरुले सुरु गर्नुभएको छ । हामीहरुले यसका फाइदाहरु के—के हुन भनेर बुझ्न जरुरी छ । उदाहरणका रुपमा जस्तो आज वीर हस्पिटलमा भर्ना भएको बिरामी एक महिनापछि टिचिङ आयो भने वीर हस्पिटलका रेकर्डहरु उसँग हुँदैन् । त्यहाँ डाक्टरहरुले के औषधि दिए भन्ने पनि थाहा नहुन सक्छ । पहिले के खोप लगाएको थियो भन्ने याद नहुन सक्छ । बिरामीलाई कुनै औषधिले काम गरेको वा नगरेको थाहा हुँदैन् । कुनै औषधिले एलर्जी हुनेजस्ता समस्या छन् त्यो बारम्बार सोध्नुपर्छ । इएचआर भयो भने चाहिं यो सबै कुरा पहिले नै उपलब्ध हुन्छ । डाक्टरले आजको के समस्या हो त्यो मात्र सोधे हुन्छ । त्यो एउटा फाइदा भयो ।

अर्को नेपालमा डाक्टरहरुले लेखेको बुझिँदैन भन्ने कुराहरु आइरहेको हुन्छ । यो इएचआरमा त्यस्ता समस्या सोझै हराएर जान्छन् । सोधकार्य गर्न झनै सजिलो हुन्छ । अर्को भनेको गुणस्तर मापन गर्न सजिलो हुन्छ । कुन अस्पतालले कति मुल्यमा कति राम्रो र समयमा कुन उपचार गर्न सक्छ भन्ने कुरा पारदर्शी बनाउन सकिन्छ । अमेरिकामा एउटा सामान्य निमोनियाको बिरामी ३ दिनभन्दा बढी अस्पताल बस्यो भने त्यो अस्पतालको गुणस्तर घट्छ । बिरामीले फाइल बोकेर हिंडिरहनु पर्दैन् । इएचआरका धेरै—धेरै फाइदा छन् ।

अमेरिका—नेपाल मेडिकल फाउण्डेसनले भावि दिनमा कस्ता परियोजनाहरुमा काम गर्दैछ ?
हाम्रो अहिलेको ठूलो प्रोजेक्ट भनेको अक्सिजन प्लान्ट प्रोजेक्ट हो । भूकम्प जाने बित्तिकै नेपालमा काम गरिरहनुभएका साथीहरुले अक्सिजन प्रबन्ध गर्ने निकाय बन्द भयो भने ३ दिनमा अक्सिजन सकिन्छ भन्नुभयो । अस्पतालमा अक्सिजनजस्तो संवेदनशील कुरा नहुने हो भने त कति समस्या आउँला भन्ने कुरा त सबैलाई थाहा नै छ । यो समस्या समाधान गर्न केही गर्न सकिन्छ कि भन्ने हिसाबले हामीले महाराजगञ्जको शिक्षण अस्पतालमा एक लाख डलरको अक्सिजन प्लान्ट बनायौं । अहिले त त्यो सञ्चालनमा पनि आइसकेको छ । त्यसपछि हामीले किन अरु प्रदेशमा पनि बनाउन कोशिश नगर्ने भनेर सरकार र अरु संघ संस्थाहरुसँग सहकार्य गरिरहेका छौं । प्रदेश नम्बर १ को कोशी अस्पताल र गण्डकीबाट गोरखाको आमपिपल अस्पतालमा ती प्लान्टहरु बनाउन पहल भैरहेको छ । हामीले अहिलेसम्म गरेको सबै कार्यहरु पारदर्शी रुपमा हाम्रो वेबसाइट anmf.org मा राख्ने गरेको छौं । यो अन्तर्वार्ता पढ्नु हुने सबैलाई एकपटक त्यो वेवसाइट हेर्न अनुरोध गर्दछु ।

व्यक्तिगत रुपमा मलाई नेपालमा सडक दुर्घटना र त्यसले निम्त्याएका चुनौतीहरुलाई निवारण गर्न केहि ठूलो काम गर्ने चाहना छ । सयौं हजारौं मानिस बर्सेनी मर्ने अथवा अपांग हुने समस्या छ । एउटा घुम्ती अस्पताल (Hospital on Wheels) जो दुर्घटना भएकै ठाउँमा जाने, प्राथमिक उपचार गर्ने अनि जीवन बचाउने अपरेशन गर्न बसलाई परिमार्जन गरेर नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सेवा दिने गरी सरकारसँग सहकार्य गर्न मन छ । यस बारेमा विभिन्न व्यक्ति, संस्था र तहमा छलफल भैरहेछ । हेरौ कता पुगिन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ