२०८२ असोज १, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार

स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार


जीवनको सबभन्दा ठूलो सम्पत्ति के हो भनेर सोध्दा धेरैले जवाफ दिन्छन्– धन, सम्बन्ध, सपना, सफलता, पद, प्रतिष्ठा । तर, यो जवाफ साँचो भएजस्तो लागेपनि गहिरिएर हेर्दा त्यो सतही उत्तर मात्र हो । वास्तविकता त यो हो कि ती सबै मूल्यहरू, तिनको अस्तित्व नै, हाम्रो शरीर र मनको सन्तुलनमा टेकेका हुन्छन् ।

स्वास्थ्य भनेको केवल रोग नहुनु मात्र होइन, यो त जीवनको हरेक पाटोमा असर पार्ने मूल आधार हो । स्वास्थ्य कमजोर भएपछि धनको महत्व घट्छ, सम्बन्धहरू चिसिन्छन्, सपनाहरू धूमिल हुन्छन् र आत्मबल चकनाचुर भएर हृदयको कुनामा बसेको आत्मग्लानी मात्र बाँकी रहन्छ ।

धेरैपटक हामी आफूलाई अति व्यस्त जीवनको नाममा माफी दिन थाल्छौं । हामी बिहान ढिलो उठ्छौं, अनियमित खानपान गर्छौं, निद्रा नपु¥याएर ‘काम धेरै छ’ भन्ने बहाना बनाउँछौं । हामी समय अभावको नाममा हिँडडुल, व्यायाम, ध्यानजस्ता शरीरका लागि अत्यावश्यक अभ्यासहरू कटौती गर्छौं । सायद हामी भोलि अझ कडा मेहेनत गर्नेछौं भन्ने सोचले आज शरीरलाई थकित, उपेक्षित र कमजोर बनाउँछौं ।

तर, समयको निर्दयी नियमलाई हामीले बुझ्न सक्नुपर्छ–शरीरको सिमितता अटल सत्य हो । एक दिन त्यो थाक्छ, बन्द हुन्छ र जीवनको रंगीन पृष्ठहरू एकाएक कालो–सेतोमा परिणत हुन्छन् ।

स्वास्थ्यको महत्व प्रायः हामी बिरामी परेपछि मात्र बुझ्छौं । ज्वरोले थलिएको शरीरले हामीलाई सम्झाउँछ कि गर्मी दिनमा चिसो पानी पिउँदा के घाटा भएको थियो । पेटको पीडाले भनिदिन्छ –तातो खाना खाएको भए राम्रो हुन्थ्यो । निद्राको अभावले थकाइ, चिउँडो दुखाइ र चिडचिडाहटको रूपमा अनुहारमा देखिन्छ । त्यो क्षणमा मनले भन्छ – के हिजो एक घण्टा चाँडो सुत्न सकिन्थ्यो र ? यस्तो पश्चाताप, जब क्षणिक राहत दिने कुराहरू दीर्घकालीन चोटको रूप लिन्छन्, तब बुझेको ज्ञान पनि व्यर्थ भइहाल्छ ।

हामी दौडिरहेका छौं–पदका लागि, पैसा र पहिचानका लागि । तर, यो दौडमा शरीरलाई बेवास्ता गर्दा हामी के हारिरहेका छौं भनेर कहिल्यै सोच्दैनौं । शरीर एक यस्तो यन्त्र हो, जसको मर्मत नियमित रूपमा नगरेसम्म त्यो सधैं टिक्ने अपेक्षा राख्न सकिन्न । जो व्यक्तिले बिहानको सूर्यको किरणमा श्वास लिन्छ, हिँड्छ, साधना गर्छ – उसले संसारलाई अर्कै दृष्टिले हेर्छ । र, जो निद्रामा सम्झौता गर्छ, जंकफुडले आत्मा नै मलिन बनाउँछ अनि शरीरलाई श्रम होइन सस्तो सन्तुष्टिको माध्यम बनाउँछ – ऊ केवल जिउँदो रहन्छ । तर, वास्तवमा बाँच्दैन ।

स्वास्थ्यमा ध्यान नदिएर हामी आफूलाई मृत्युको ढोकातिर धकेलिरहेका हुन्छौं । जुन ढोका ढकढक्याएर होइन, चुपचाप खुल्छ – एकदिन अचानक तब अस्पतालका शय्यामा, आईसीयुका निःशब्द चिच्याहटबीच, हामी सम्झन्छौं – काश ! समयमै ख्याल राखेको भए, आज मेरो शरीर यसरी बन्धक हुने थिएन । जीवन जति नै लामा योजना बनाउँछ, ती योजना पूरा हुने माध्यम भनेको शरीर हो । र, शरीर कमजोर भयो भने मनले चाहेर पनि त्यो योजना साकार गर्न सक्दैन् ।

स्वस्थ जीवनको अर्थ केवल शारीरिक शक्ति मात्र होइन् । यो त मानसिक शान्ति हो, आत्मिक जागरण हो र आत्मसम्मानको उच्चतम रूप हो । स्वस्थ मानिस हाँस्न जान्दछ, माया गर्न जान्दछ, क्षमा गर्न जान्दछ र सहनशील हुन्छ । किनभने, उसको मन अस्थिर छैन । र जुन मानिसको मन स्थिर छ, त्यो संसारका हरेक चुनौतीलाई सामना गर्न सक्षम हुन्छ ।

हामी यो संसारमा केही गरी देखाउने, केही बनेर देखाउने सपना लिएर आएका छौं । तर, ती सपना पूरा गर्न शरीर हामीसँग होस् भनेर ख्याल नगरेसम्म ती सपना सपनै रहनेछन् । माटोको शरीरलाई हामीले धनी बनाएको छैनौं । यो त प्रकृतिको अमूल्य देन हो । हामीले त केवल त्यसको सेवा, संरक्षण र सम्मान गर्नु हो ।

आजै सोचौं – के म मेरो शरीरको साथी हुँ त ? के म मेरो स्वास्थ्यप्रति जिम्मेवार छु त ? यदि उत्तर ‘छैन’ छ भने ढिला भइसकेको छैन । हरेक बिहान नयाँ सुरुवातको निम्तो हो । हरेक घडी आफैँसँग सम्झौता नगर्ने प्रण गर्ने मौका हो । शरीरलाई दुखाइले होइन, शान्तिले भरौं । आत्मालाई पछुतोले होइन, प्रेमले सजाऔं । किनभने, एकदिन आयो भने जब शरीरले साथ दिन छाड्छ, तब संसारकै सबै कुरा फिक्का लाग्छ ।

स्वास्थ्यलाई उपेक्षा गर्नु आत्महत्या जस्तै हो— ढिलो मृत्यु तर निश्चित अन्त्यतिरको यात्रा । त्यसैले, आउनुहोस्, आजैदेखि नयाँ यात्रा सुरु गरौं – शरीरप्रति सच्चा बनौं, स्वास्थ्यप्रति सजग बनौं, अनि जीवनप्रति कृतज्ञ बनौं । हरेक श्वास, हरेक धड्कन र हरेक कोषिकाले धन्यवाद दिन सक्ने जस्तो जीवन जिउँ – जहाँ स्वास्थ्य एउटा विकल्प होइन, जीवनको मेरुदण्ड बनोस् ।

(लेखक जनरल नर्सिङ मिडवाइफ्रीकी विद्यार्थी हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ