२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारएनएमएका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ भन्छन्, ‘सर्वसम्मति हुने सम्भावना कम छ’

एनएमएका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ भन्छन्, ‘सर्वसम्मति हुने सम्भावना कम छ’


डा.मुक्तिराम श्रेष्ठ नेपाल मेडिकल एशोसिएसन (एनएमए) अध्यक्ष हुन् । अब बस्ने एनएमएको बैठकले निर्वाचन समिति घोषणा गर्दैछ । उक्त समितिले निर्वाचनको मिति तोक्ने सम्भावना छ । सम्भवतः माघसम्ममा नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ । तर, निर्वाचनको मिति घोषण भैनसक्दैं चिकित्सकहरुबीच निर्वाचनको चर्चा परिचर्चा सुरु भैसकेको छ । चिकित्सकहरुको पेशागत हकहितका लागि काम गर्ने र राम्रो आर्थिक स्रोत भएको संस्थाका भएकाले पनि एनएमएको नेतृत्व धेरैको रोजाइमा पर्ने गर्छ । डा. श्रेष्ठ सरकारी जागिरबाट राजीनामा दिएर पूर्ण रुपमा एनएमएको नेतृत्व गर्ने ब्यक्ति हुन् । उनले पनि नयाँ कार्यकालका लागि आफू पनि उम्मेदवार बन्ने सक्ने राय ब्यक्त गरेका छन् । एनएमएले उनको नेतृत्वमा रहेर सम्पादन गरेका काम, आगामी योजना, निर्वाचनलगायतका यावत विषयमा केन्द्रित रहेर हेल्थआवाजका लागि भिषा काफ्लेले श्रेष्ठसँग गरेको संवादः

अब यो कार्यकालको अन्तिमतिर हुनुहुन्छ । यो कार्यकाललाई आफैले मुल्यांकन गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
यो कार्यकालमा धेरै चुनौतीहरु आए । समग्रमा हेर्दा धेरै समस्याबीच परिस्थितीअनुसार काम गर्न सके । सही समयमा सही वातावरणमा अधिकांस चुनौतीहरुलाई सहज तरिकाले समाधान गरेको लाग्छ । सबैभन्दा बढी आन्दोलनका कुराहरु मेरै कार्यकालमा भए । हुन त यो परिस्थितिले ल्याएको थियो । त्यसका साथसाथै संगठन निर्माण गर्ने क्रममा पनि चुनौतिपूर्ण थियो । अहिले एनमएमएको सदस्यताको संख्या धेरै बढेको छ । संगठन निर्माण, आन्दोलनको नेतृत्व गर्ने मात्र नभएर हामीले चिकित्सकहरुलाई एकेडेमिक तालिमहरुको व्यवस्था पनि सुरु गरेका छौं । प्रत्येक शनिबार विभिन्न किसिमको तालिमहरु दिएर सयौंलाई मेडिकल एजुकेसन दिने कामहरु भएका छन् । अर्को, महत्वपुर्ण काम भनेको संस्थाको भवन निर्माण सम्पन्न भाएको छ । जसमा हाम्रै मेम्वर अर्गनाइजेसनका २५ वटा विशेष सोसाइटीलाई अफिस दिने काम भएको छ । विभिन्न समयमा जुन पेशागत हक हितको लागि आइपर्ने समस्या र चिकित्सकका हकहितको लागि जस्तोसुकै कदम चाल्नु परे पनि म अनि मेरो टिम कहिले पनि पछि परेन । हामीले विभिन्न किसिमका सरकारसँग धर्ना र दबाबको कार्यक्रम होस् अथवा सम्झौता या निगोसिस होस् ती सबै गरेर हामीले राम्रा कामहरु गर्न सक्यौं । समग्रमा हेर्दा ३ वर्षको कार्यकाल सफल भएको मलाई लाग्छ ।

पछिल्लो समयमा एनएमए बढी आन्दोलनकारी भयो । उसले चिकित्सकीय मुल्य मान्यतालाइ बिर्सदैं गयो भन्ने आरोप पनि छ नि ?
हामीले कहिल्यै पनि सुरुमै आन्दोलन गरेका थिएनौं । हामीले सबै बाटोहरु बन्द भएपछि अन्तिम अस्त्रको रुपमा मात्रै आन्दोलन गरेका हौं । प्रत्येक आन्दोलनमा सम्बन्धित स्थानमा पत्राचार गरेका छौं । सम्पूर्ण निकायहरुमा विभिन्न नेता, अध्यक्ष तथा आधिकारिक व्यक्तिहरु भेटेका छौं, हाम्रा समस्याहरु जानकारी गराएका छौ । लिडिङ गर्दै नेगोसिएसनबाट पनि समस्याहरु समाधान नभएपछि बाध्य भएर अल्टिमेटम दिएर हामी आन्दोलनमा गएका हौं ।

सरकारले यही बीचमा नयाँ मुलुकी ऐन ल्यायो । त्यसमा चिकित्सकलगायतका स्वास्थ्यकर्मीहरुलाई सिधै जेल हाल्ने प्रावधान छ भनेर पहिले आन्दोलन गर्नुभयो । आन्दोलन गर्दागर्दै बीचैमा एनएमए कता अलमलियो?
पहिले हामीले कुरा गर्दा सरकार टसमस भाको थिएन । जब हामीले कडा आन्दोलनको सुरुवात ग¥यौं, त्यसपछि सरकारका आधिकारिक व्यक्तिहरु, स्वास्थ्य सम्बन्धि संस्थाका प्रतिनिधी, प्रमुखले जुन प्रावधान छ त्यो कुनै हालतमा संशोधन हुदैंन यो संशोधन गर्नु भनेको ठूलो घटना घटछ भन्नुभएको थियो । एउटा रेफ पनि तलमाथि गर्ने सक्दैनौ भन्ने सरकारले पछि संशोधन नै ग¥यो । जुन माथिल्लो सद्न र तल्लो सदनबाट पास नै भयो ।
जुन संशोधन हामीले स्वास्थ्य मन्त्रालयलाई लिखित रुपमा बुझाएका थियौ । त्यहीअनुसार पास भयो । यो व्यक्तिगत रुपमा लविङ गरेको प्रतिफल हो । अहिले आएर जे संशोधन भा’को छ त्यसले चिकिस्कहरुको गिरेको मनोबललाई उठाउने काम गरेको छ । संशोधनपछि कुनै पनि चिकिसकहरुलाई कसैले उजुरी गर्दैमा सिधै प्रहरी प्रशाशनले पक्राउ गर्न सक्दैन । अहिले चिकित्सक सम्बन्धी उजुरी हेर्ने ५ जनाको समिति छ, त्यसमा मेडिकल काउन्सिलहरुको अध्यक्ष वा उसले तोकेको व्यक्ति हुन्छ, संयोजक हुन्छ । त्यसमा विज्ञ हुन्छ, अनि प्रहरीको प्रतिनिधि हुन्छ, न्यायालय प्रतिनिधि हुन्छ, उपभोक्ताको प्रतिनिधि हुन्छ । जसले उजुर गरेको छ, त्यसमा छानबिन गर्दा दोषी भने मात्रै कारवाही हुन्छ वा कार्यवाही अगाडि बढ्छ नत्र भने बढ्दैन् । यही नै हाम्रो ठूलो उपलब्धी हो ।

एनएमए पदाधिकारी व्यवसायिक हकहितभन्दा बढी सुविधाभोगी भए भन्ने आरोप तपाईंहरुकै सदस्यबाट लाग्ने गरेको छ नि ?
यहाँबाट कसैले पनि भत्ता खाएका छैनौं । अब जहाँसम्म गाडीको प्रयोग छ, मन्त्रालयमा धेरै कामहरु पर्छन । भवन निर्माणमा बजेटको कुराहरु हुन्छ, सहरी विकासमा जानुपर्ने हुन्छ । विभिन्न समयमा दौडधुप गर्नुपर्ने हुन्छ । मेडिकल एसोसिएसनलाई प्रत्येक कार्यक्रमबाट बोलाउने चल्न छ, बोलाएको ठाउँमा जानैप¥यो । पदाधिकारीमध्ये अध्यक्ष र महासचिवले गाडी प्रयोग गर्ने हो । हुन सक्छ त्यो गाडी धेरै ठाँउबाट बोलाएको हुनाले प्रयोग भएको कसैले देख्यो । काम पर्दा प्रयोग हुने हो । हिजो थिएन अहिले आवश्यकता अनुसार प्रयोग भयो । यसलाई सुविधाभोगी भन्ने कि साधनको समूचित प्रयोग भन्ने ? अर्को कुरा संस्थाको आम्दानी बढेको छ । अवश्य नै आम्दानी बढेअनुसार खर्च भइहाल्छ । अहिले हाम्रो संस्थाको व्यालेन्स पहिलेभन्दा दोब्बर भएको छ । संस्था मजबुत भएको छ । अरुले जे भने पनि मेरो विचारमा त्यस्तो भएजस्तो चाहिँ लाग्दैन ।

नयाँ भवन सरकारको सहयोगमा बन्यो ? सरकारी सहयोगमा बनेको भवनका अधिकांस फ्ल्याट भाडामा लगाउनुपर्ने बाध्यता किन प¥यो ?
हामीले धेरै मेहनेत गरेर सरकारलाई आफ्ना कुराहरु जानकारी गराएर अनुदान लिएका हौं । मेडिकल एसोसिएसनले सरकारले गर्ने निःशुल्क शिविरहरुमा हाम्रो प्राविधिक जनशक्ति निःशुल्क प्रदान गर्ने कमिटमेन्ट गरेका थियौ । त्यसबापत सरकारले हामीलाई सहयोग गरेको हो । फ्ल्याट भाडाको कुरा के हो भने संस्थाको आम्दानी स्रोत अन्य छैन् । संस्थाका स्टाफ, पानी, विजुली र मेन्टेनेन्सका लागि फ्ल्याट भाडामा दिनुपर्ने बाध्यता बन्यो ।

फरक प्रसंग, अहिलेसम्म अधिकांस एनएमएका अध्यक्षहरु सरकारी चिकित्सकहरु नै हुनुभएको छ । उहाँहरुले पुरै कार्यकाल सरकारी चिकित्सक हुँदै संस्था चलाउनुभयो । यहाँले चाहिँ बीचैमा राजीनामा दिनुको कारण के हो ?
गएको वर्षको कुरा हो, जब हामी आन्दोलनमा थियौं । सरकारी तलब खाएर सरकारको विरुद्धमा लागेर आन्दोलनमा गरेको भन्दै नैतिकताको कुरा उठाए । त्यसो भएपछि राजिनामा दिएको हुँ । यसभन्दा पहिले पनि हकहितका लागि यो संस्थामा बसेर आन्दोलन हुन्थ्यो नै । तर, मेरो पालामा अलिकति बढी आन्दोलन भयो, त्यसले गर्दा मलाई अलि बढी फोकस भएको हुनसक्छ । सरकारी जागिर छोडेर हिडेपछि त म शुद्ध तरिकाले लाग्न पाए नि । अब पेशागत हकहितको लागि जुनसुकै काम गर्न पाएँ । त्यही भएर मैले सरकरी जागिर भएपनि छोडेको हुँ ।

तपाईंको रानीनामाले त झनै तपाईप्रति लगाएको आरोपलाई थप मजबुत बनाएन र ? अझ एनएमएलाई चिकित्सककै एउटा तप्काले त राजनीतिक पूर्वाग्राही भएको आरोप पनि लगाउँदैं आएको छ ?
विभिन्न चरणमा विभिन्न इस्युहरुलाई लिएर कडा आन्दोलन भए । उठेका इस्युका विषयमा त्यही बसेर काम गर्दा सरकार नजिकका मानिसले बेला—बेला त्यो कुराहरु उठाइरहने भएँ । मैले राजीनामा दिएपछि कुरै सकियो । राजिनामा पछि स्वतन्त्र रुपमा संगठन चलाउन, आन्दोलनको नेतृत्व गर्न, अन्य विषयमा सहभागी हुन पाएको छु । जहाँसम्म राजनीतिक हावीको कुरा छ, हामी चुनाव लडदाखेरि नै दुई वटा प्यानल बनाएर लडेका थियौं । त्यसमा दुई मत नै छैन । तर, मैले कहिल्यैं पनि चुनाव जितेर यो कुुर्सीमा बसिसकेपछि कसैको झण्डा बोकेको छैन् । म चुनौती पनि दिन चाहन्छु । किनभने, जबसम्म म यो पदमा बसेको छु तबसम्म म कुनै पार्टीको झण्डा बोकेर हिडने छैन् । यो पदमा हुन्जेल मैले स्वतन्त्र अध्यक्षको भूमिका निर्वाह गरेको छु भन्ने मेरो मान्यता हो ।

चुनावी प्रसंग जोड्न चाहन्छु, फेरि नेतृत्व लिनुपर्छ भने सोच छ कि छैन ?
मैले सुरु गरेका केही कामहरु बाँकी छन् । जस्तो हिजो हामीले गर्नुपर्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा अपनाइनुपर्ने थप विषयहरु बाँकी छन् । सेवा सुविधा थप्नुपर्ने विषय हिजो हामीले उठाएका थियौ ती पूरा भएका छैनन् । हिजो हामीले आन्दोलन गर्दा भएका कतिपय सम्झौता सरकारले पूरा गरेको छैन् । मलाई लाग्छ साथीहरुले हिजो संस्था र पेशागत हकहितका लागि मैले गरेका कामलाई मनन् गर्दै पुनः एकपटक अगाडि बढ्नुहोस न त भनेमा म तयार छु । नयाँ नेतृत्वमा आउने साथीहरुले पनि अहिले सुरु गरेका कामलाई बढाउनु हुन्छ भने मेरो सहयोग हुनेछ ।

एनएमएको आउँदो निर्वाचनमा सर्वसम्मत्तिको सम्भावना कति छ ?
सर्वसम्मत्ति हुँदैन्, हामी प्रयास त गर्छौ । तर, सर्वसम्मति हुने सम्भावना कम छ ।

अध्यक्षको नाताले भन्नुपर्दा अब एनएमएले कस्तो नेतृत्व चाहेको हो ?
अब हिजोको जस्तो हुँदैन, अब एकदमै डाइनामिक नेतृत्व हुनुपर्छ । अहिले नियमितजसो चिकित्सकमाथि कुनै न कुनै घटनाहरु घटिरहेका हुन्छन् । तीनचार दिनमा स्थानियस्तरमा चिकित्सकमाथि फिजिकल्ली हमल्ला भइरहेको छ । जस्तो सिन्धुलीमा भयो, त्यसपछि लाहानमा, कपिलबस्तुमा भो र आज ओममा हुने सम्भावना छ । त्यसकारणले गर्दा अबको लिडरसीप भनेको त्यस्तो चानेचुने तरिकाको भएर काम गर्न सक्दैन् । जुनसुकै बेला पनि जस्तोसुकै कदमहरु चाल्न सक्ने, बोल्ड किसिमको लिडरसीप भएन भने अब संस्था चल्दैन् । हिजोको जस्तो अवस्था छैन्, अब स्थानीय तहमा स्थानीय सरकारअनुसार व्यवहार भैरहेको छ । चिकित्सकमाथि हुने आक्रमणहरु निस्तेज गर्न तुरुन्तको तुरुन्तै डाइनामिक डिसिजन नदिएर अबको समयमा समाधान हुन्न । अब युवा चिकित्सक धेरै भइसके, उनीहरुको मनोबल हेरेर उनीहरुको आचरण हेरेर यो संगठनले जुझारु नेतृत्व पाउनैपर्छ ।

एनएमएको अबको योजना के हो ?
अहिले चिकित्सकमाथि दिनप्रतिदिन घटनाहरु घट्दै गएका छन् । त्यसकारण चिकित्सक तथा स्वास्थ्य संस्थाहरुलाई सुरक्षा प्रदान गर्ने, राज्यलाई त्यो बाटोमा ध्यानाकर्षण गराउने, स्वास्थ्य क्षेत्रमा देखा परेका समस्याहरु समाधान गर्नेतिर ध्यान केन्द्रित गर्नुपर्छ । जनताहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि मेडिकल एसोसिएसन क्रियाशील हुनुपर्छ । अहिले स्वास्थ्य सेवा तहस—नहस भएको छ, यसलाई ट्रयाकमा ल्याउनका काम गर्नुपर्नेछ । स्वास्थ्यकर्मीबीचको दूरीलाई घटाउनका लागि पहल गर्नुपर्छ । अर्को कुरा स्वास्थ्य संस्थामा भएको कुराहरु मिडियामा ल्याएर अनावश्यक कुरामा स्पष्टीकरण दिनुपर्दछ । नभएको कुरा पनि बढाएर चढाएर मिडियामा आउँछ । त्यसतर्फ पनि हाम्रो ध्यान जान जरुरी देखेको छु ।

नेपालमा चिकित्सक र नेपालका स्वास्थ्य संस्थाहरु खतम नै हुन है भने खालको भ्रमहरु पनि यदाकदा देखिने गरेका छन् । यस्ता भ्रमहरु हटाउनका लागि एनएमएले के गर्छ ?
सबभन्दा पहिला जनचेतना बढाउन जरुरी छ । किनभने, जनचेतना नगराई हुँदैन् । यस्ता भ्रमहरु निवारणका लागि प्राइभेट संस्थाहरुलाई पनि सुधार गर्नेका लागि मन्त्रालयमा मनिटरिङ, सुपरभिजन प्रणली हुनुप¥यो । जुन मनिटरिङ, सुपरभिजन राम्रोसँग गर्ने र चिकित्सकहरुलाई पनि एउटा संस्थामा बस्ने किसिमको वातावरण राज्यले मिलाउनुपर्छ । एउटा चिकित्सक १० ठाउँमा हिडदैं जादाँखेरि गाह्रो पर्छ । सरकारले चिकित्सकलाई ३०÷३५ हजार तलब खुवाएर उनीहरुको गुजारा हुँदैंन । त्यसैले एउटा चिकित्सक ३÷४ ठाँउमा काम गर्न बाध्य हुन्छ । यसलाई घटाउनका लागि राज्यले कमसेकम गुजारा चलाउने हिसाबले तलब बढाउनुपर्छ । एउटा अध्ययन गरेर उनीहरुलाई कसरी एउटै संस्थामा सहज रुपमा काम गर्ने वातावरण निर्माण गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्नेमा राज्यको ध्यान जानुपर्छ । चिकित्सकको काम, कारवाहीदेखि तलबसम्म र अस्पतालहरुको मनिटरिङसम्मको एउटा मेकानिजम बनाउनुपर्छ । त्यसका लागि मेडिकल एसोसिएसनले मन्त्रालयलाई घच्घचाउने काम गर्नुपर्छ । अब हामी त्यो दिशामा लाग्छौं ।

संघीयतामा एनएमए पूर्ण रुपमा नयाँ संरचनामा गैसकेको छैन् । कहिलेसम्म नयाँ संरचनामा अगाडि बढ्छ होला ?
हाम्रोमा त्यति समस्या छैन्, १६ वटा शाखाहरु छन् । त्यो भएको हुनाले अहिले प्रत्येक प्रदेशका हाम्रो शाखा छ । प्रत्येक प्रदेशमा तीन वटा शाखा छन्, अब हामीले आउने अधिवेशनमा जुन हाम्रो ड्राफ्ट तयार भैसकेको छ त्यसैबाट नयाँ संरचना पास गर्नु पर्दछ । अहिले हामीले एजुकेटीभले पास गरेर हुँदैन यो एनएमएले पास गर्नुपर्ने हुन्छ । हामीले के गर्नेछौं भने सातवटा प्रदेशको केन्द्र जुन ठाउँमा छन्, जस्तै विराटनगरमा छ, विराटनगरको शाखालाई त्यो प्रदेशको मुख्य शाखा बनाउने । जहाँ—जहाँ हुन्छ प्रदेशको हिसाबमा सदरमुकामको मुख्य शाखा बनाउने । अब अहिले भैरहेको शाखालाई हटाउने कुरा त आउँदैंन त्यसकारण बाँकी रहेका शाखालाई सहायक शाखाका रुपमा एडजष्ट गर्ने हिसाबले हामीले ड्राफ्ट तयार पारिसकेका छौं । त्यो हाम्रो अधिवेसनमा पास गरेपछि लागु हुन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ