जुम्ला—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले कर्णालीको स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्ने बताएकी छन् । मंगलबार जुम्ला पुगेकी स्वास्थ्य मन्त्री शर्माले उक्त कुरा बताएकी हुन् ।
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यहाँको स्वास्थ्य र मेडिकल शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ उनले भनिन् । पूर्वाधार विकास र सेवा सुधारका लागि बजेट अभाव हुन नदिने उनले बताइन् । ‘कठिन भूगोल र सिमित स्रोत साधनका बीच स्वास्थ्य सेवा, अध्ययन तथा अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानले गरेको काम अनुकरणीय छ,’ उनले थपिन् ।
‘बजेट अभावले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधार रोकिनु हुँदैन्, यसमा हामी गम्भीर छौँ,’ स्वास्थ्यमन्त्रीको भनाइ थियो, ‘कर्णालीको सम्भावना बुझ्नकै लागि जुम्ला आएको हो । तर कर्णालीको सम्भावनाअनुसार राज्यको लगानी रहेछ । अब बजेट अभावका कारण प्रतिष्ठान पछि पर्नु पदैन् । यसै बजेटमा हामी विशेष प्राथमिकता दिन्छौँ ।’
बजेट अभावकै कारण चेरेचौरमा निर्माण भइरहेको बहुउेश्यीय परियोजनाका भवनले पूर्णता नपाएको समस्या रहेकाले एकै चोटी अर्बका हिसाबले बजेट दिन सम्भव नभएको हुँदा वार्षिक बजेटमा प्रथामिकता दिइने उनले बताइन् ।
अभावले प्रतिष्ठानका पूर्वाधार निर्माणमा केही विलम्ब भएको गुनासो बढेकाले त्यसतर्फ मन्त्रालयको ध्यान केन्द्रित रहेको उनले बताइन् । उनले थपिन्, ‘यहाँको सम्भावनालाई हेर्दा राज्यको लगानी न्यून छ । अब लगानी बढाउनुको विकल्प छैन् । हामी लगानी बढाउँछौं,’ उनले भने, ‘बजेट अभावमा भवन निर्माण रोकिदैनन् । सेवा सुधारको प्रयास रोकिनु हुँदैन् । लगानी बढाउँछौं । नागरिक सन्तुष्ट हुने गरी सेवा दिन प्रतिष्ठानले ध्यान दिनुपर्छ ।’
साथै, स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मन्त्रालय लागि परेको बताइन् । मन्त्री शर्माले प्रतिष्ठानलाई रेफर सेन्टरका रुपमा नभई गुणस्तरीय सेवा पाउने स्थानका रुपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिइन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रतिष्ठान कर्णालीको गौरव भएको बताए । चुनौतीलाई अबसरका रुपमा लिदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदानमा ध्यान दिनुपर्नेमा जोड दिए । साथै प्रतिष्ठानका अधुरा भवन निर्माण, सेवा सुधारलाई ध्यानमा राखी बजेटमा विशेष प्रथामिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, ‘हरेक वर्ष कति बजेट चाहिन्छ, कार्ययोजनासहित मन्त्रालयमा ल्याउनुहोस् । भवन निर्माण हुने तर प्रयोग नहुने हुनु भएन् । कार्ययोजनासहित आएमा वार्षिक रुपमा पर्याप्त बजेट विनियोजन हुन्छ ।’
सिमित स्रोत साधनकाबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रधान तथा अध्ययन तथा अनुसन्धानमा उल्लेखीय काम गरिहेको उनले बताए ।
प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले प्रतिष्ठान स्थापनाको १३ वर्ष बढी बितिसक्दा राज्यले अपेक्षाकृत रुपमा लगानी नगरोकाले आवश्यक सहयोगका लागि अनुरोध गरेका छन् । उनले भने, ‘अहिले डायलासिस सेवा समेत सुरु भएको छ भने ब्लड बैंक पनि स्थापना भएको छ । कर्णालीका स्वास्थ्य सुचक वृद्विमा प्रतिष्ठानले उल्लेखनीय भूमिका निर्वाह गरेको छ । यद्यपी बजेट अभाव झेल्दै आएको छ । अब समस्या समधान हुनेमा आशामा छौं ।’
राकम स्याटेलाइट अस्पताल, हर्बल प्लान्ट तथा हेल्थ टुरिजमको प्रर्बद्धन गर्ने लक्ष्य रहेकाले सरकारको सहयोगको खाँचो रहेको औल्याए । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले प्रतिष्ठानको वृद्वि विकासमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने बताए । कर्णालीको गौरवको विषय भएकाले प्रतिष्ठानमा साधन स्रोतको अभावले रेफर गर्नुपर्ने बाध्यताको अन्त्य गर्न राज्यले ध्यान दिनुपर्ने उनले बताए ।
प्रतिष्ठानका डिन डा. पे्रनित पोखरेलले कर्णाली प्रतिष्ठानलाई अन्य प्रतिष्ठान सरह नहेरी यहाँको आवश्यकतालाई मध्यनजर गरी लगानी बढाउन आग्रह गरेका छन् । जुम्ला पुगेको स्वास्थ्य मन्त्रालयको टोली जुम्ला मुगु हुँदै काठमाडौं फर्किने छ ।