२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसमयमै हवाई उद्धार गर्न नसक्दा सुत्केरीको मृत्यु

समयमै हवाई उद्धार गर्न नसक्दा सुत्केरीको मृत्यु


जुम्ला—समयमा उपचार नपाउँदा एक सुत्केरीको मृत्यु भएको छ । सोरु गाउँपालिका–५ मुगुकी २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार तथा उपचार नहुँदा बिहीबार मृत्यु भएको हो ।

स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिएपनि साल निक्सन नसक्दा शाही बेहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयलाई जानकारी गराएको थियो । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले भने, ‘जानकारी आउने बित्तिकै हामीले हवाई उद्धारका लागि सुरुमा मौखिक र पछि लिखित जानकारी गराएका हौं । तत्काल हेलिकोप्टर नपुग्दा उहाँको मृत्यु भएको जानकारी आयो ।’

सोरुमा फोन नेटवर्कको समस्या रहेकाले पनि अपडेट हुन नसक्नु र सेनाको हेलिकोप्टर सैनिक दिवसका लागि काठमाडौं गएकाले आउन ढिलाइ हुनुले पनि समयमै उद्धार नहुँदा उनलाई गुमाउनु परेको प्रजिअ शिवाकोटीको भनाइ छ ।

यता, हवाई उद्धारका लागि सिरफारिस गर्ने निकाय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जानकारी आउने वित्तिकै खबर गरेपनि समयमै उद्धार हुन नसकेको दुःख व्यक्त गरेको छ । ‘विहान खबर आउने बित्तिकै सेनाको हेलिकोप्टरलाई उद्धारका लागि पत्राचार गरेका थियौं,’ मन्त्रालयका प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाले भनिन्, ‘सेनाको सुर्खेतमै पश्चिम एयर वेस भएकाले हेलिकोप्टर तयारी अवस्थामा होला भन्ने लाग्यो । तर, सेना दिवसमा काठमाडौं आएको भन्ने जानकारी पाएपछि समयमै उद्धार हुन सकेन ।’

मन्त्रालयले बिहीबार दिउँसो १२ बजे सेनालाई उद्धार गरिदिन पत्र पठाएको ढुंगानाको भनाइ छ । सेनाको हेलिकोप्टर सुर्खेतमा नभएको जानकारी पाएपछि निजी कम्पनीको हेलिकप्टरबाट उद्धार गर्न पहल गरिएपनि सफल नभएको ढुंगानाले बताइन् । नेपाली सेनाको पश्चिम एयर वेस सुर्खेतले सेनाको हेलिकप्टर सैनिक दिवसका लागि बिहीबार विहान काठमाडौं गएको र खबर प्राप्त हुने वित्तिकै उद्धारका लागि सुर्खेत पुग्दा बिरामीको मृत्यु भइसकेको जनाएको छ ।

‘विहानै जानकारी पाएको भए हेलिकोप्टरले उद्धार गथ्र्यो । काठमाडौं गएको बेला भएकाले उद्धार गर्न सकिएन,’ एयर बेस स्रोतले भन्यो, ‘खबर पाउने बित्तिकै हेलिकप्टर काठमाडौंबाट उडेको थियो, सुर्खेत नपुग्दै उहाँको मृत्यु भएको खबर आयो ।’ सुत्केरीको मृत्यु बिहिबार दिउँसो २ बजे भएको प्रमुख जिल्ला अधिकारी शिवाकोटीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ