२०८२ फागुन ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि

जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि


खलंगा—जुम्लाबाट नेपालगञ्जसम्म जानका लागि एम्बुलेन्सको भाडा २५ हजार रुपैयाँ तोकिएपछि स्थानीयले आलोचना गर्न थालेका छन् । जिल्ला एम्बुलेन्स समितिले आफू खुसी भाडादर निर्धारण गरेको आरोप लगाउँदै स्थानीयले असन्तुष्टि जनाएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०८२ बमोजिम जिल्ला एम्बुलेन्स समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा २४ पुसमा बसेको बैठकले जुम्ला जिल्लाभित्र सञ्चालन हुने एम्बुलेन्सहरूको भाडादर निर्धारण गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख किरणकुमार शर्माले बताए ।

निर्धारित भाडादरबारे जनगुनासो आएको स्वीकार गर्दै कार्यालय प्रमुख शर्माले भने, ‘आवश्यक परेमा आगामी बैठकबाट पुनरावलोकन गर्न सकिन्छ । चन्दननाथ नगरपालिकाभित्र एम्बुलेन्सको भाडा ६ सय रुपैयाँ, जिल्लाभित्र कच्ची सडकमा प्रतिकिलोमिटर एक सय र पक्की सडकमा ९० रुपैयाँ (दुवैतर्फ) तोकिएको छ ।’

त्यस्तै, जुम्लाका सम्पूर्ण स्थानदेखि सुर्खेतसम्म एम्बुलेन्स भाडा २० हजार रुपैयाँ र जुम्लाबाट नेपालगञ्जसम्म २५ हजार रुपैयाँ निर्धारण गरिएको प्रमुख शर्माले बताए । जिल्ला एम्बुलेन्स समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पौडेलले दूरी र स्थानका आधारमा भाडादर निर्धारण गरिएको बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक श्रेणीका एम्बुलेन्स सञ्चालनमा रहेकाले भाडामा एकरूपता ल्याउन समिति सक्रिय भएको प्रजिअ पौडेलको भनाइ छ । सिंजा, तिला, हिमा गाउँपालिका तथा चन्दननाथ नगरपालिकाले जिल्ला एम्बुलेन्स समितिले तोकेको भाडादर कार्यान्वयन गर्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेका छन् ।

तर, सुर्खेत र नेपालगञ्जसम्मको भाडा अत्यधिक महंगो भएको भन्दै स्थानीय असन्तुष्ट छन् । बिरामीलाई लक्षित सेवा नै यति महँगो हुँदा गरिब तथा विपन्न नागरिकको जीवनसँग खेलबाड भएको स्थानीयको गुनासो छ । जिल्ला एम्बुलेन्स समितिले भने भाडादर दूरी, इन्धन खर्च, मर्मतसम्भार तथा चालक खर्चलाई आधार मानेर निर्धारण गरिएको जनाएको छ ।

जुम्लामा १७ वटा एम्बुलेन्स र एक वटा शवबहान सञ्चालनमा रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र यहाँका ८ स्थानीय तहका १७ वटा एम्बुलेन्स र एक वटा शवबहान सञ्चालनमा रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीन वटा, गुठीचौर एक वटा, पातारासी दुई वटा र तातातोपानी एक वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

यस्तै, तिला एक वटा, सिंजा दुई वटा, कनकासुन्दरीमा दुई वटा र हिमा गाउँपालिकामा चार वटा एम्बुलेन्स रहेका छन् । चन्दननाथमा एक वटा एम्बुलेन्स र एक वटा शववहान सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ