धामी–झाँक्री झारफुकलाई पूर्ण रूपमा अस्वीकार गर्नु भन्दा पनि गम्भीर रोगको उपचारका लागि अस्पताल नै पहिलो विकल्प हुनुपर्छ भन्ने सन्देश समाजमा स्पष्ट रूपमा पुग्न आवश्यक छ ।
जुम्ला—तिला गाउँपालिका–३ कुडारी गाउँकी १८ वर्षीया सुत्केरी महिला अस्मिता नेपालीको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएकी नेपालीलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रेफर गरिएको थियो ।
रेफरपछि बिहिबार नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा लगिएको हो । प्रदेश अस्पताल सुर्खेत उपचारको क्रममा उनको मृत्यु भएको हो ।
कलिलै उमेरमा विवाह गरेर बच्चा जन्माउने क्रममा समयमा उनलाई अस्पताल ल्याइएन् । गाउँघरमा धामीझाँक्री र झारफुकै भर पर्ने गरियो । जब अस्मितालाई जटिल भयो । त्यसपछि मात्रै अस्पताल ल्याएरपछि समयमै उपचार नपाउदा मृत्यु भएको चिकित्सकहरुको भनाइ छ ।
यस्तै, तातोपानी गाउँपालिका–१ बाँइराकाकी ३० वर्षीया सुत्केरी मुगा शाहीको गत वर्षको माघ १० गते मृत्यु भयो । उनीबाट जन्मेको नवजात शिशुको पनि मृत्यु भयो । पहिला धामीझाँक्रीको झारफुकतिर लागेर समयमा अस्पताल नलिएका कारण सुत्केरी आमा र नवजात शिशुको मृत्यु भएको भन्ने बुझिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा नवजात शिशु र सुत्केरी महिला शाहीको मृत्यु भएको हो । प्रतिष्ठानको आईसीयुमा राखिएकी सुत्केरी महिला शाहीको १० माघमा मृच्यु भयो भने बच्चाको भने ३ माघमा अस्पताल पु¥याउँदा नै मृत्यु भएको थियो । सुत्केरी आमाको अवस्थाको विषयमा सोही गाउँकी महिला स्वास्थ्य स्वयंसेविका छुमकली सार्कीले सुत्केरीको अवस्था गम्भीर भएपछि थाहा पाएर आफूसहितले अटोमा अस्पताल पु¥याएको जानकारी दिइन् ।
परिवारकाअनुसार मृतक सुत्केरी मुगा शाहीलाई गत वर्षको २ माघ राति नै सुत्केरी व्यथा लागेको थियो । समयमा अस्पतालमा नल्याई धामी झाक्रीको भर परेपछि उनलाई अस्पताल ढिला पु¥याइएको थियो । मृतक शाहीका भाइ तातोपानी गाउँपालिका–२ डाँगीवाडाका धिरेन्द्र डाँगीले अस्पताल पु¥याउन ढिला भएका कारण दिदीले ज्यान गुमाउनु परेको बताए । प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. कविता शाहका अनुसार ३ माघमा बेहोस अवस्था भएकी सुत्केरी शाहीलाई भेन्टिलेरमा राखिएको थियो ।
‘सुत्केरी आमाको स्वास्थ्य गम्भीर अवस्थामा देखेपछि दुई, तीन मिनेटमै आईसीयूबाट भेन्टिलेटरमा उपचार सुरु गरेका थियौं । परिवारले अस्पताल ढिला पु¥याउँदा दुःखद् घटना भयो,’ उनले भनिन् । उनले सुत्केरी व्यथा लाग्ने बित्तिकै स्वास्थ्यकर्मीलाई खबर गरेर अस्पताल ल्याउनुपर्ने बताइन् । तर, अस्पताल ल्याउन निकै ढिला भएको उनको भनाइ छ । आईसीयूमा होस नखुलेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ४ माघमा नै रेफर समेत गरेको थियो । परिवारले काठमाडौं लैजान पहल गरेको थियो । तर, जिल्ला बाहिर पनि लैजान सकिने अवस्था बनेन । त्यसपछि सुत्केरी आमा र बच्चा दुवैको मृत्यु भयो ।
जनस्वास्थ्य कार्यालय जुम्लाका नर्स टिका पुन मगरका अनुसार चालु आर्थिक वर्ष २०८२÷२०८३ मा समयमा अस्पताल नपु¥याउँदा दुई जना सुत्केरी आमाको मृत्यु भएको छ । तातोपानी गाउँपालिकाकी एक जना र तिला गाउँपालिकाकी एक जना गरी दुई जना सुत्केरी आमा मृत्यु भएको हो । यस्तै, गत आर्थिक वर्षमा तीन जना सुत्केरी आमाको मृत्यु भएको थियो । पातारासीकी एक जना, सिंजाकी एक जना र तातोपानीकी एक जना गरी तीन जना सुत्केरी आमाको मृत्यु भएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डा. नवीनकुमार मण्डलका अनुसार अहिले पनि एक जना यस्तै घटनासँग सम्बन्धित सुत्केरी महिला अस्पतालमा उपचारत छन् । उनलाई पनि निकै जटिल अवस्था भएपछि मात्रै अस्पताल ल्याएको अवस्था थियो । यहाँको चिकित्सकहरुको अथक प्रयासले उनी बाँच्न सफल भएकी छन् । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । अब केही दिनमा डिस्चार्ज हुने अवस्थामा पुगेकी छन् ।
उनले भने, ‘समाजमा अझै पनि आधुनिक चिकित्सा सेवाभन्दा पहिले धामी–झाँक्री वा झारफुकमा विश्वास गर्ने चलन कायम रहँदा गम्भीर स्वास्थ्य समस्यामा बिरामीको ज्यान नै जोखिममा पर्ने अवस्था देखिएको छ । हालै सार्वजनिक भएको एक घटनाले यस्तो परम्परागत विश्वासले उपचार ढिलो गराउँदा कति ठूलो क्षति हुन सक्छ भन्ने कुरा फेरि उजागर गरेको छ ।’
चिकित्सक डा. नवीनकुमार मण्डलका अनुसार हाम्रो समाजमा धेरै परिवारले बिरामी परेपछि तुरुन्त अस्पताल लैजानुभन्दा पहिले धामी–झाँक्री वा झारफुकको सहारा लिने प्रवृत्ति देखिन्छ । यस्तो विश्वासका कारण धेरै बिरामी अस्पताल पुग्दा रोग निकै जटिल भइसकेको हुन्छ । विशेषगरी गर्भावस्थामा देखिने गम्भीर समस्या समयमै उपचार नपाउँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्छ ।
गर्भावस्थामा कहिलेकाहीँ देखिने एचईएलएलपी सिन्ड्रोम जस्तो जटिल अवस्था अत्यन्त खतरनाक मानिन्छ । यो अवस्था देखिएमा तत्काल विशेषज्ञ चिकित्सकीय उपचार आवश्यक हुन्छ । तर, समयमै अस्पताल नपुग्दा यसले गर्भवती महिलाको ज्यान मात्र होइन, गर्भमा रहेको शिशुको जीवन पनि जोखिममा पार्ने सम्भावना हुन्छ । चिकित्सकहरूकाअनुसार समयमै सही उपचार पाए धेरै अवस्थामा यस्तो प्राणघातक परिणाम टार्न सकिन्छ ।
डा. मण्डलकाअनुसार संस्कृति र परम्परालाई सम्मान गर्नुपर्छ तर गम्भीर स्वास्थ्य समस्यामा पहिलो रोजाइ वैज्ञानिक चिकित्सा सेवा हुनुपर्ने चेतना समाजमा फैलाउन अत्यन्त आवश्यक छ । विशेषगरी गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराउनु र चिकित्सकको निगरानीमा रहनु सुरक्षित मातृत्वका लागि महत्वपूर्ण मानिन्छ ।
स्वास्थ्यकर्मीहरूकाअनुसार गर्भवती महिलाले नियमित गर्भवती हुनुपूर्व स्वास्थ्य जाँच गराउनुपर्छ । गर्भावस्थामा टाउको अत्याधिक दुख्ने, रक्तचाप बढ्ने, पेट दुख्ने, अत्याधिक थकान वा अन्य असामान्य लक्षण देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुग्नुपर्छ । यस्तो बानी विकास गर्न सकेमा धेरै जटिल समस्या समयमै पहिचान गरी उपचार गर्न सकिन्छ ।
समुदायस्तरमा स्वास्थ्य शिक्षा अभिवृद्धि गर्न पनि उत्तिकै जरुरी देखिएको डाक्टर मण्डलले बताए । उनले भने, ‘स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायका अगुवाहरूले मिलेर जनचेतना फैलाउन सके परम्परागत विश्वासका कारण हुने उपचार ढिलाइ कम गर्न सकिन्छ ।’
स्वास्थ्य विज्ञहरूका अनुसार धामी–झाँक्री वा झारफुकलाई पूर्ण रूपमा अस्वीकार गर्नुभन्दा पनि गम्भीर रोगको उपचारका लागि अस्पताल नै पहिलो विकल्प हुनुपर्छ भन्ने सन्देश समाजमा स्पष्ट रूपमा पुग्न आवश्यक छ ।
समयमै सही उपचार पाएको भए एक महिलाको ज्यान बच्न सक्ने सम्भावना रहेको भन्दै यस्तो घटनाबाट पाठ सिक्दै स्वास्थ्यप्रति सचेत बन्न डा. मण्डलले समाजका आम नागरिकलाई अपिल गरेका छन् । उनले भने, ‘यस्तो दुःखद घटनाले समाजमा वैज्ञानिक उपचारको महत्व बुझ्न थप चेतना फैलाउने अपेक्षा गरिएको छ ।’