वीरेन्द्रनगर—इनिशा वि.क. मृत्यु प्रकरणको घटनाको वास्तविक कारण फरेन्सिक रिपोर्ट आएपछि मात्र पत्ता लाग्ने भएको छ । मृतक इनिशा र आरोपित बालकहरुका मोबाइललगायत विद्युतीय सामग्री, इनिशाको भजाइनल स्वाबलगायतका प्राप्त प्रमाणहरु केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।
तिनीहरुको टक्सिकोजिकल, बायोसेरोलोजिकल परीक्षणको रिपोर्टपछि मात्र घटनाको वास्तविक कारण पत्ता लाग्ने अनुसन्धानमाा खटिएका प्रहरी अधिकारीले बताएका छन् । त्यो रिपोर्ट आएपछि मात्रै इनिशाको मृत्युको रहस्य खुल्ने उनीहरुको भनाइ छ ।
अबको दुईदेखि तीन दिनभित्र अनुसन्धान सक्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका डिएसपी मोहनजंग बुढथापाले बताए । उनले अन्य समयमा फरेन्सिक रिपोर्ट आउन कम्तीमा १५ लाग्ने बताउँदै यो प्रकरणमा एक साताभित्र परीक्षणका सबै प्रक्रिया पूरा गर्ने गरी प्रहरीले काम गरिरहेको बताए ।
२३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशा विक मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वीरेन्द्रनगर– १ स्थायी ठेगाना भएकी १६ वर्षीया इनिशाको बलात्कारपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको खुलेको थियो ।
प्रहरीले यस घटनामा संग्लन रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । घटनाको सुर्खेत प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुक्ष्म अध्ययन जारी राखेको छ । प्रहरीको उच्च स्रोतका अनुसार पक्राउ परेका बालकहरूउपर विभिन्न कोणबाट बयान लिने काम जारी छ ।
पीडित बालिकाका आफन्तहरुले चारै जनाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै इनिशाको शव बुझ्न मानिरहेका छैनन् । उनको शव ८ दिनयता कर्णाली प्रदेश अस्पतालको शव गृहमा छ ।