२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथन्किएका पोर्टेबल पिसिआरमा मिल्ने ६ करोडको रिएजेन्ट ल्याइयो, आरटी—पिसीआरमा प्रयोग गर्न समस्या

थन्किएका पोर्टेबल पिसिआरमा मिल्ने ६ करोडको रिएजेन्ट ल्याइयो, आरटी—पिसीआरमा प्रयोग गर्न समस्या


काठमाडौं—नेपाली सेनाले जिटुजीमार्फत किनेको ६ करोडभन्दा बढी मुल्यको कोभिड-१९ जाँच गर्ने पिसिआर किट प्रयोगमा समस्या देखिएको छ । सेनाले किनेको पिसिआर किट नेपालमा प्रयोग भैरहेको भन्दा फरक किसिमको आएपछि प्रयोगशालामा प्रयोग गर्न समस्या देखिएको हो ।

सेना ल्याएको सो पिसीआर किट पोर्टेबल पिसिआर मेसिनका लागि प्रयोग हुने हो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नीसँग खरिद गरेका ५ वटा पोर्टेबल पिसिआर थन्किएका छन् । नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र पिसिआर प्रविधीबाट कोभिड—१९ परीक्षण भैरहेको बेला उपत्यका बाहिर पनि सेवा विस्तार गर्ने भन्दैं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सिफारिसमा उक्त पोर्टेबल पिसिआर खरिद गरिएको थियो ।

तर, उपत्यकामा थपसँगै सातै प्रदेशमा २२ वटा आरटी—पिसिआर मेसिन थपिएपछि ती पोर्टेबल पिसिआर थन्किएर बसेका छन् । सेनाले ल्याएको रिएजेन्ट पोर्टेबल पिसिआर उत्पादक कम्पनीकै हो र त्यसैमा प्रयोग हुन्छ ।

हालसम्म नेपालमा प्रयोग गरिदैं आएको आरएनए एक्स्ट्राक्सन किट, भिटीएम र पिसिआर रिएजेन्ट सबै आरटी पिसिआर प्रयोगशालामा प्रयोग गर्न मिल्ने खालका थिए । तर, एक महिनाअघि चीनबाट सेनाले ल्याएका ६ करोड बढी मुल्य बराबरको २८ हजार पिसिआर किट अन्य कम्पनीका किटसँग प्रयोग गर्न नमिल्ने भएपछि समस्या आएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले पहिलेकाभन्दा फरक कम्बिनेसनको सेट आएको हुँदा कलेक्सन गरेर ल्याइएका स्वाब परीक्षणका लागि उपयोगी नहुने बताइन् । ‘जुन स्थानमा स्वाब लिएर त्यही परीक्षण गरिन्छ, त्यसका लागि अहिलेको सेट उपयोगी छ,’ डा. झाले भनिन्, ‘तर, एक ठाउँमा कलेक्सन गरिएको स्वाब अर्को प्रयोगशालामा लगेर परीक्षण गर्न मिल्दैन् ।’

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले एक ठाउँमा कलेक्सन गरेर अर्को प्रयोग हुन नसक्ने खालको किट किन आयो भन्ने विषयमा मन्त्रालयले बुझिरहेको बताए । ‘एक ठाउँमा स्वाब कलेक्सन गरेर ल्याबमा पठाउँदा त्यसले काम गर्दैन भन्ने कुरा आएको छ,’ डा. पोखरेलले भने, ‘किन हुँदैन भन्ने प्रश्नको जवाफ हामी खोजिरहेका छौं ।’

स्वास्थ्य मन्त्रालयका अनुसार चीनको सानस्योर कम्पनीबाट सेनाले उक्त किट ल्याएको हो । मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘१एमएल र ३ एमएलका फरक—फरक भिटिएम हुन्छन् । तर, सेनाले ल्याएको भिटिएम १एमएलको हो । सो भिटिएम कम गुणस्तरको रहनुका साथै त्यसमा राखिएको स्वाब अर्को प्रयोगशालामा पठाउन मिल्दैन् ।’  १ एमएलको भिटिएम प्राय गरी पोर्टेबल पिसिआरका लागि उपयुक्त हुन्छ ।

सेनाले खरिद गरेर ल्याउने सामाग्रीको सूची तयारी गर्दा स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्डअनुसार सिफारिस गरिएको थियो । पिसिआर किटको मापदण्ड राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सिफारिस गरेका आधारमा सेनालाई लिष्ट दिइएको तत्कालीन स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

सेनाले खरिद गरेको पिसिआर किटको स्पेसिफिकेसन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तयार गरी सिफारिस गरेको विषयमा आफूलाई जानकारी नभएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए । ‘निर्णय भएर सिफारिस भएको भए मलाई जानकारी हुने थियो होला,’ उनले भने, ‘तर, मसँग निर्णय भएको कुरा आएको छैन ।’

विज्ञहरुकाअनुसार सेनाले खरिद गरेका आरएनए एक्स्ट्राक्सन किट, भिटीएम र पिसिआर रिएजेन्ट एकै सेटमा परीक्षण गर्न सकेमात्र त्यसले सही दिन्छ । अर्को सेटसँग मिसाएमा त्यसले सबै नेगेटिभ रिपोर्टमात्रै दिन्छ । नेपालमा हाल विभिन्न कम्पनीले दिएका पिसिआर किट सेट छन् ।

अभावका बेला खरिद गरेको २८,००० किट प्रयोगमा नआउँदा स्वास्थ्य मन्त्रालय ठूलो समस्यामा परेको छ । १५ असारदेखि दैनिक १० हजार नमुना परीक्षण गर्ने लक्ष्य राखेको छ । सेनाले ल्याएको धेरै किट काठमाडौं बाहिरका प्रयोगशालामा पठाइसकिएको छ । तर, ती किटहरुको गुणस्तरीयता मापन नगरी सिधैं पठाइएको मन्त्रालयका एक अधिकारी बताउँछन् । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गुणस्तर मापन गरेर ती किट ठीक छन छैनन् भनेर बाहिर पठाउनुपर्नेमा सिधैं पठाइयो, अहिले समस्या देखियो,’ उनले भने, ‘गुणस्तर ठीक छ छैन भनेर एकीन गर्ने अधिकारप्राप्त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पन्छिएको देखियो ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार जहाँ स्वाब संकलन गरिएको छ, त्यहाँ मात्रै यसको प्रयोग गर्न सकिन्छ । नमुना संकलन गरेर अन्य प्रयोगशालामा लैजान सेनाले ल्याएको किटमार्फत मिल्दैन् । नेपालमा देशका बिभिन्न स्थानबाट स्वाब संकलन गरेर २१ मध्ये कुनै पनि प्रयोगशालामा लैजाने गरिन्छ ।

दुई महिना अघि चीनको तिब्बत सरकारले सहयोग गरेको ३०,००० पिसिआर परिक्षण किट पनि नेपालका प्रयोगशालामा नमिलेर थन्किएको अवस्था छ । ‘यो विषयमा सेना जानकार हुँदाहुँदै यस्तो किट ल्याउनु हुदैन थियो,’ एक अधिकारीले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सरकारलाई बढी आवश्यक पर्ने भनेको भिटिएम र आरएनए एक्स्ट्राक्सन किट हो । भिटिएम स्वाब संकलन गरेर प्रयोगशाला सम्म पु¥याउने भाडो हो भने, आरएनए एक्स्ट्राक्सनले जेलिएर रहेको भाइरसलाई फुटाएर बाहिर निकाल्ने काम गर्छ । ५० हजार पिसिआर किट रहेको बताएको स्वास्थ्य मन्त्रालयसँग २८ हजार किट सबै ठाउँमा प्रयोग गर्न नमिल्ने भएपछि सबै ठाउँमा प्रयोग गर्न मिल्ने २२ हजार मात्रै मौज्दात रहेको छ । दैनिक ५ देखि ७ हजारका दरले परीक्षण हुन थालेकाले बढीमा एक हप्ताभन्दा धान्न नसक्ने देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ