काठमाडौं—नेपालमा कोभिड—१९ भ्याक्सिन ल्याउने विषयमा चार विकल्पमा छलफल सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न समिति बनाएर कोरोनाको भ्याक्सिन ल्याउनका लागि छलफल चलाइरहेको छ ।
ती समितिहरुमा चार विकल्पमा छलफल चलिरहेको कोभिड—१९ खोप नेपाल ल्याउने बारे प्राविधिक सल्लाह दिन बनेको विज्ञ सल्लाहकार समितिका सदस्य समेत रहेका स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख रहेका डा. झलक शर्मा गौतमले जानकारी दिए ।
अहिले भइरहेको छलफलमा पहिलो प्राथमिकतामा कोभ्याक्सअन्तर्गत आउने खोपलाई नै राखिएको छ । जसअन्तर्गत नेपालले झण्डै २० प्रतिशत हाराहारीमा खोप प्राप्त गर्नेछ । त्यो सँगसँगै सरकार टु सरकारमार्फत कसरी नेपालमा कसरी कोभिड—१९ खोप ल्याउन सकिन्छ भन्ने विषयमा पनि विज्ञ समूहमा छलफल चलिरहेको छ ।
तेस्रो विकल्पमा रुपमा सिधैं सरकारले किन्ने विकल्पलाई राखिएको छ भने निजी क्षेत्रमार्फत ल्याउने विकल्पमा पनि छलफल खुला राखिएको छ । ‘नेपालमा छिटो कोरोना भ्याक्सिन ल्याउनका लागि चार विकल्पमा छलफल भइरहेका छन्,’ डा. शर्मा गौतमले भने, ‘जुन विकल्पबाट चाडो भ्याक्सिन ल्याउन सकिन्छ, त्यही विकल्पमा जानुपर्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिनअघि नेपालमा ७२ प्रतिशत नेपालीलाई खोप दिने गरी काम गरिरहेको दाबी गरेको थियो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विज्ञप्ति नै निकालेर मन्त्रालयले भ्याक्सिन नेपाल ल्याउन भइरहेका प्रयत्नका बारेमा जानकारी दिएका थिए ।